काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई वरिष्ठ निर्माण व्यवसायी तथा समाजसेवी रामबहादुर गौतमले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि रोकथाम, नियन्त्रण र उपचारको लागि भन्दै गौतमले उक्त सामाग्री सहयोग गरेका हुन् ।
समाजसेवी गौतमले उक्त स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष दिननाथ गौतमलाई आज हस्तान्तरण गरेका छन् । धुसेनी शिवालय प्राथमिक अस्पतालको लागि सो सामाग्री हस्तान्तरण गरिएको थियो । सहयोग प्राप्त सामाग्रीहरूमा ९ थान बेड, (म्याट, बेड सिट, पिलो सहित), मास्क ४००० पिस, अक्सिजन सिलिन्डर ६ थान, ३० लिटर स्यानिटाइजर लगायतका रहेको छ ।
सिङ्गो मुलुक नै महामारीको चपेटामा परेको बेला गाउँपालिकाको लागि यसरी सहयोग गरेकोमा समाजसेवी गौतमलाई अध्यक्ष गौतमले धन्यवाद ज्ञापन गरेका थिए । ‘कोभिड–१९ को विरुद्ध गाउँ सरकार एक्लैले लड्न सम्भव छैन । सबै तहका जनता र सरकार गाउँ सरकार मिलेर कोरोनालाई परास्त गर्नुपर्छ ।’ अध्यक्ष गौतमले भने, ‘यो लडाइँमा समाजसेवी रामबहादुर गौतमजीले स्वास्थ्य सामाग्रीहरू गाउँपालिकालाई प्रदान गर्नु भएकोमा गाउँपालिकाको तर्फबाट सम्पूर्ण जनसमुदाय र सहयोग गर्नुभयो त्यसको लागि गाउँपालिका, बिमारीहरू र अस्पताल परिवारको तर्फबाट बाहाँलाई धन्यवाद प्रकट गर्न चाहन्छु ।’
समाजसेवी गौतमले आगामी दिनहरूमा पनि आफूले सक्दो सहयोग गर्ने बचन दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















