नेकपा (माओवादी केन्द्र) निकट एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । मोर्चाको केन्द्रीय संयोजक तथा सभासद् सूर्यमान दोङ लालध्वजले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन् ।

‘यसअघि पनि संसद्को असंवैधानिक विघटन गरी प्रतिगमनको बाटो समातिसकेका प्रधानमन्त्री ओलीसँगको साँठगाँठमा नियोजित ढङ्गले संसद् विघटन गर्नुले राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भएको छ ।’ लाल ध्वजद्वारा प्रेषित वक्तव्यमा भनिएको छ ।

शुक्रवार मध्यरात पछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीले चालेको कदमलाई स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक भएको वक्तव्यमा उल्लेख छ ।

के छ प्रेस विज्ञप्तिमा ?

प्रेस वक्तव्य

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक ढङ्गबाट गरेको प्रतिनिधिसभाको विघटनप्रति एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । विश्वासको मत नपाउने निश्चित भएको भन्दै धारा ७६ को उपधारा ५ बमोजिम मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकार गठनका लागि आव्हान गर्न राष्ट्रपतिसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका थिए । सोही सिफारिसलाई आधार मान्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जालसाजीपूर्ण ढङ्गमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको नाटकीय आव्हान गरेकोमा पनि हाम्रो विमति थियो । यद्यपि राष्ट्रपतिको आव्हानलाई सम्मान गर्दै नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवाले १ सय ४९ जना प्रतिनिधिसभाका सदस्यहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

प्रधानमन्त्रीमा ओलीले पनि दाबी गरेका थिए, जुन आफैमा लज्जास्पद विषय थियो । धारा ७६ को उपधारा ५ अनुसार बहुमत सिद्ध गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने राष्ट्रपतिको संवैधानिक दायित्व हो । तर, यसअघि पनि संसद्को असंवैधानिक विघटन गरी प्रतिगमनको बाटो समातिसकेका प्रधानमन्त्री ओलीसँगको साँठगाँठमा नियोजित ढङ्गले संसद् विघटन गर्नुले राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भएको छ ।

कोरोना भाइरसको कहालीलाग्दो महामारीमा जनताको स्वास्थ्य स्थितिलाई बेवास्ता गर्दै दक्षिणपन्थी शक्तिको आड र इशारामा राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमको विरुद्धमा भइरहेको सबै खाले आन्दोलनमा हाम्रो सङ्गठन ऐक्यबद्धता जाहेर गर्दछ । साथै यो प्रतिगामी कदमकाविरुद्ध हाम्रो सङ्गठन जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनीसहित आम देशभक्त अग्रगमनका पक्षधरताहरुलाई पनि डटेर आन्दोलन र प्रतिवादनमा उत्रिन अपिल गर्दछौँ ।

सूर्यमान दोङ (लालध्वज)
संयोजक

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।