काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका १० दिनको लागि सिल गर्ने घोषणा गरेको छ । कोभिड–१९ को दोस्रो लहरको संक्रमण यस नगरपालिका क्षेत्रमा पनि तिव्र रुपमा फैलिई रहेको हुँदा सिल गर्ने निर्णय गरेको नगरप्रमुख टोकबहादुर वाइबाले जानकारी दिए ।

‘यस जोखिमपूर्ण अवस्थालाई मध्यनजर राख्दै संक्रमण नियन्त्रण, न्यूनिकरण तथा संक्रमणको श्रृंखला तोड्नका लागि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।’ प्रमुख वाईबाले एक सूचना जारी गर्दै जानकारी दिएका छन् ।

सूचनामा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको संक्रमण यस नगरपालिका क्षेत्रमा पनि तिव्र रुपमा फैलिई रहेको हुँदा यस जोखिमपूर्ण अवस्थालाई मध्यनजर राख्दै संक्रमण नियन्त्रण, न्यूनिकरण तथा संक्रमणको श्रृंखला तोड्नका लागि मितिः २०७८।०२।१२ गते देखि मितिः २०७८।०२।२१ गतेसम्म यस नगरपालिकाको सम्पूर्ण क्षेत्र पूर्ण रुपमा सिल गरिएको सबैमा सूचित गरिन्छ ।’

सिल अवधिभर औषधि र इन्धन बाहेकका सम्पूर्ण किसिमका पसल, व्यवसाय, पेशा तथा उद्योगहरु बन्द बन्द हुने सूचनामा उल्लेख छ । सथौ स्वास्थ्यसँग सम्बन्धित आपत्कालिन बाहेकका अन्य जुनसुकै किसिमका आवागमन र मानविय आवतजावतहरु बन्द हुन वाइबाले जारी गरेको सूचनामा भनिएको छ ।

‘यस अवधिमा दूध संकलन तथा विक्री गर्ने डेरीहरु समेत पूर्ण रुपमा बन्द गर्न हुन सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ, ‘यस सूचनालाई वेवास्था गरी सिलको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० को कानुनी व्यवस्था बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

मण्डनदेउपुरमा आज मात्र ६ महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नगरभित्र सक्रिय संक्रमित संख्या १७८ पुगेको छ । जसमा ५६ महिला १२२ पुरुष रहेका छन् । सक्रिय संक्रमितहरु मध्य अस्पताल आइसोलेसनमा ९ जना र होम आइसोलेसनमा १६९ जना रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।