यतिखेर नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले अनुदानमा प्राप्त अक्सिजन सिलिण्डर र औषधिका प्याकेटमा आफ्नै तस्वीर छापेर वितरण गरेको तस्बीर जताततै भेट्न सकिन्छ । विशेषगरी सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको छ ।
वर्तमान अल्पमत सरकारका प्रधानमन्त्री केपी शर्मा आली देखि मन्त्रीसम्मको चर्चा यस्तैमा हुने गर्दै आएको छ । तर मुलुकले कोभिड–१९ को महामारीको सामना गरिरहेको बेला वनमन्त्री आलेको यो हर्कतले ‘…गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै भएको छ ।
हेलिकोप्टर चढेर गृहजिल्ला डोटी पुगेका मन्त्री आलेले स्वास्थ्य सामग्रीमै आफ्नो प्रचार गरेका हुन् । मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन् ।
चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आलेले आफ्नै तस्बिर टाँसेका हुन् । जहाँ लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री ।’
उनले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
वनमन्त्री आलेले चीनबाट अनुदानमा ल्याइएको अक्सिजन सिलिण्डरमा पनि ‘व्यक्तिगत लगानीमा वितरण गरिएको’ भन्दै फोटोसहितको पोस्टर टाँसेका हुन् ।
अक्सिजन र औषधिजस्तो संवेदनशील सामग्रीमा समेत आफ्नो फोटो टाँसेर प्रचार गरेपछि मन्त्री आले विवादमा तानिएका छन् । आलेले अनुदानमा आएको सिलिन्डरमा व्यक्तिगत लगानी भन्दै वितरण गरेको र यो निकै ‘तल्लो स्तरको प्रचारबाजी’ मात्रै भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















