कोरोना संक्रमण दर तीब्र भएपछि सिल गरिएको बनेपा क्षेत्रमा सिलको अवधि थप गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले एक सुचना जारी गर्दै ५ दिनको लागि बनेपा नगरपालिका क्षेत्रको सिल थप गरिएको हो ।

कोरोना भाइरस सक्रमणको शृंखला तोडि संक्रमणलाई न्युनिकरण गर्न सिल गरिएको जनाउँदै नगरपालिकाले मिति २०७८ साल जेष्ठ १७ गते रातको १२ ः ०० बजेसम्म थप गरिएको सिल गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाले सिल गर्ने घोषणा गरेता पनि बनेपाको मुख्य सडकमा मात्र यसको केही प्रभावकारीता देखिन्छ । बनेपाको भित्र बजार होस या गाउँमा यसको कुनै प्रभाव देखिदैन । ‘घोषणा गर्यो, नगरपालिकाको काम सकियो । जनता कुन अवस्थामा छन्, उसलाई मतलब नै छैन ।’ स्थानीय रामप्रसाद दाहालले भने, ‘७ सय जना सक्रिय संक्रमित पुग्दा सम्म कानमा तेल हालेर बसे । त्यसपछि निषेधाज्ञा रे, त्यसपछि सिल रे । पूरै जनता प्रति अनुदार देखिएको छ ।’

बनेपा बजारलाई मात्र बजार संझिने मानसिकता नगर प्रमुखमा रहेको नगवासी जनताको गुनासो रहेको छ । ‘हामी त नगरबासी नै होइनौं, मेयरसावको लागि । त्यहीं बनेपाको मुख्य बजारलाई मात्र बनेपा संझन्छन् ।’ वडा नं. २ का हरि घिमिरेले भने, ‘नगरभरि त्यत्रो मान्छे संक्रमित भएका छन्, मृत्यु पनि भएका छन् । त्यसको हिसाब किताब मेयरसँग छैन ।’

बनेपाको मुख्य सडकमा गाडी नगुडेपछि, मान्छे आवतजावत नगरेपछि सिल सफल भयो भन्ने बुझाई यहाँको जनप्रतिनिधिको पाइएको छ । तर भित्री बजार देखि गाउँसम्म पसल खुल्ला देखि भिडभाड उस्तै देखिन्छ । त्यसैले सिल नाम मात्र सिल देखिन्छ ।

अझै पनि नगरपालिका यस प्रति गम्भिर देखिदैन । सूचना निकाल्यो बस्यो । बरु यस्तो महामारीकै बीचमा अस्पताल उद्घाटन गर्न पुग्छन् मेयर । औपचारिकतामा मात्र रमाईरहेका छन् मेयर । अब त अत्ति भयो, गम्भिर हुने होइन त मेयर ?

सधैं उस्तै नियम, सिल अवधि थपछिको यस्तो छ नियम

क. औषधी पसल र अस्पताल बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल र फलफूल पसल तथा व्यवसायहरु र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदानहुने सेवा समेत पूर्ण रुपमा बन्द गर्ने ।

ख. फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालयरसंस्थाले न्युनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पुरा गरेर मात्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने ।

ग. सूचना विभागबाट जारी भएको प्रेस पास लिनुभएका पत्रकार बाहेक अन्य व्यक्तिहरुका हकमा अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर बाहेक कोही पनि घर बाहिर ननिस्कने । बिहान बिहान गरिने भ्रमण समेत नगर्ने ।

घ. अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग नगर्ने ।

ङ. राहत वितरण जस्ता कार्य एकद्वार प्रणाली मार्फत गर्नुपर्ने व्यवस्था भएकाले नगरपालिका मार्फत मात्र गर्ने । अन्यथा कानून बमोजिम कार्वाही हुने ।

च. नगर क्षेत्र शिलको अवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि आम नगरबासी दाजुभाइ दिदी बहिनी तथा पेशा व्यवसायी महानुभावहरुमा सहयोग र सहकार्य हुन बनेपा नगरपालिका अनुरोध गर्दछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।