मिति २०७४।०२।१२ गते राती १२ : ०० बजेबाट मिति २०७४।०२।२२ गते राती १२ : ०० बजेसम्मका लागि देहायअनुसार काभ्रेपलान्चोक जिल्लाभरि लागु हुने गरी जारी गरिएको छ ।
धुलिखेल । काभ्रे जिल्लामा कोरोना भाइरस संक्रमणदर नघटेपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले आगामी जेठ २२ गतेसम्मको लागि निषेधाज्ञाको समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आदेश जारी गर्दै निषेधाज्ञाको समय थप गरिएको हो ।
जिल्लामा कोभिड–१९ सङ्क्रमण दर उच्च रूपमा बढिरहेको अवस्थालाई दृष्टिगत गरी कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरेको आदेशमा उल्लेख छ ।
आदेशमा भनिएको छः ‘…सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८।०२।०२ गते राती १२ : ०० बजेबाट मिति २०७४।०२।१२ गते राती १२ : ०० बजेसम्मका लागि जारी गरिएको निषेध आदेश मिति २०७४।०२।१२ गते राती १२ : ०० बजेबाट मिति २०७४।०२।२२ गते राती १२:०० बजेसम्मका लागि देहायअनुसार काभ्रेपलान्चोक जिल्लाभरि लागु हुने गरी जारी गरिएको छ ।’
यस्तो छ आदेशः
विश्वव्यापी रूपमा फैलिइरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र गतिमा बढिरहेको अवस्था छ । यस जिल्लामा पनि यस रोगको सङ्क्रमण दर उच्च रूपमा बढिरहेको अवस्थालाई दृष्टिगत गरी कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८।०२।०२ गते राती १२ : ०० बजेबाट मिति २०७४।०२।१२ गते राती १२ : ०० बजेसम्मका लागि जारी गरिएको निषेध आदेश मिति २०७४।०२।१२ गते राती १२ : ०० बजेबाट मिति २०७४।०२।२२ गते राती १२ : ०० बजेसम्मका लागि देहायअनुसार काभ्रेपलान्चोक जिल्लाभरि लागु हुने गरी जारी गरिएको छ । यस आदेशको अवहेलना तथा बर्खिलाप हुने गरी कहीँ कसैबाट कार्य भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
निम्नः
१ सर्वसाधारणले पालना गर्नुपर्ने :
१.१ औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, हिँडडुल, आवतजावत नगर्ने ।
१.२ नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी अनिवार्य पालना गर्ने ।
१.३ सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, सङ्ग्रहालय आदि सञ्चालन नगर्ने ।
१.४ हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज जस्ता भिडभाड हुने कार्यहरू नगर्ने ।
१.५ कोभिड–१९ सँग मिल्दोजुल्दो वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्ने ।
२. कार्यालय सञ्चालन सम्बन्धमाः
२.१. अत्यावश्यक सेवा प्रदायक सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने ।
२.२ बैङ्क तथा वित्तीय संस्थाहरूका हकमा राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्कहरूले माथिल्लो निकायको स्विकती लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने र बिमा कम्पनी तथा सहकारी संस्थाहरूले निषेध आदेश अवधिभर कार्यालय सञ्चालन नगर्ने ।
३. सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन सम्बन्धमाः
३.१ सार्वजनिक तथा निजी सवारी साधन निषेध आदेश जारी भएको अवधिभर सञ्चालन नगर्ने ।
३.२ अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी सेवा, दूरसञ्चार, बैङ्क, वित्तीय संस्था, इन्टरनेट, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन, क्वारेनटिन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवामा प्रयोग भएका सवारी साधनहरूमा विषय उल्लेख गरी सञ्चालन गर्ने ।
३.३ राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरू र जिल्लाका महत्त्वपूर्ण आयोजनाहरूमा प्रयोग हुने विकास निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्रीहरू ढुवानी गर्ने सवारी साधनहरू राती ५ : ०० बजेदेखि बिहान ५ : ०० बजेसम्म सञ्चालन गर्ने ।
४. अत्यावश्यक सामग्रीका सम्बन्धमाः
४.१ खाद्यान्न, डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र सञ्चालन गर्ने समय बिहान ६: बजेदेखि बिहान १० :०० बजेसम्म निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।
४.२ औषधी तथा स्वास्थ्य सामग्री उत्पादन र बेचबिखन गर्ने उद्योग तथा पसलहरू लगायत अत्यावश्यक सेवा सम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।
५. नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, विद्युत्, सञ्चार, खानेपानी, फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचय–पत्र र कार्यालयमा आउनु पर्ने पालो सूचीको आधारमा मात्र आवतजावत गर्ने ।
६. सञ्चारकर्मी एवम् पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्ने ।
७. निषेध अवधिभर होटेल तथा रेष्टुरेन्टहरुले Takeaway र Home Delivery दिन सक्ने ।
८. विवाह आयोजनाका लागि (दुलाहा, दुलही समेत) १० जना भन्दा बढी नहुने गरी सहभागी हुन पाउने । विवाहका लागि कुनै अर्को स्थान जानुपर्ने भएमा वा फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा १० जना सम्मको लागि स्थानीय तहको सिफारिस लिई जान सकिने ।
९. माथि उल्लेखित आदेशहरू पालना नगर्ने वा यो काम गर्न बाधा पुर्याउने जो कोहीलाई सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने ब्यहोरा सबैमा जानकारी गराइन्छ ।
मितिः २०७८।०२।११
शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















