काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ को सबै क्षेत्रमा गरिएको सिल अवधि थप गरिएको छ । कोभिड–१९ संक्रमण दर बढ्दै गएपछि वडा क्षेत्र गत जेठ ६ गतेदेखि सिल गरिएकोमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको विरामी अझै पनि भएकोले सिल अवधि थप गरेको हो ।
वडा अध्यक्ष रामबहादुर लामाले एक सूचना जारी गर्दै सिल अवधिमा बनाएको स्वास्थ्य सुरक्षा मापदण्ड भित्र रही सिलको पालना गर्न वडाबासीमा अनुरोध समेत गरेका छन् ।
‘कोरोना संक्रमणको चेनलाई तोड्न र कन्ट्रयाक ट्रेसिङ्गलाई समेत प्रभावकारी बनाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक भएकोले मिति २०७८ जेठ २२ गते राती १२ बजेसम्मको लागि वडा क्षेत्र शिलको म्याद थप गरिएको ब्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ वडा अध्यक्ष लामालद्वारा जारी सूचनामा भनिएको छ ।
सूचनाको पूर्णपाठ
हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) को लक्षणसँग मिल्दोजल्दो लक्षण भएका यस वडाका वडावासीहरुमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण उच्च देखिएकोले यस बिषम परिस्थितीमा जिम्मेवारीपूर्ण ढङ्गले उच्च सर्तकता अपनाई समुदायमा कोरोना संक्रमण फैलन नदिनका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई रोग लाग्नबाट बच्नुहुन तथा आफुलाई मिल्दोजुल्दो लक्षण भएको थाहा भएमा अलग्गै बसी तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा गाउँपालिकाको स्वास्थ्य शाखा वा वडा कार्यालयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
कोभिड १९ कै कारण जारी निषेधाज्ञाको थप कडाइका साथ पालना गर्दै कोभिडबाट बाच्न र बचाउनु पर्ने समय कायमै छ । यसै सन्दर्भमा यस वडाका क्षेत्रहरु समेत संक्रमणको उच्च जोखिममा रहेको हुनाले कोभिड १९ को संक्रमणलाई रोकथाम एवं नियन्त्रण गर्न स्वास्थ्य सेवा, औषधी पसल, तरकारी–फलफुल–खाद्यान्न पसल (बिहान ६ बजेदेखि १० बजेसम्म मात्र), प्रेस काउन्सिल तथा प्रमुख जिल्ला अधिकारीबाट जारी पास बाहेकको हिँडडुल कार्य, इन्टरनेट तथा विद्युत मर्मत बाहेकको अन्य व्यवसाय तथा क्रियाकलापहरु स्थगन गरि वडावासीहरुको स्वास्थ्यको सुरक्षा गर्न अत्यावश्यक देखिएकोले यस वडाको सम्पूर्ण क्षेत्र पूर्ण रुपमा सिल गर्ने सूचना मिति २०७८ जेठ ६ मा प्रकाशित गरिएकोमा कोरोना संक्रमणको चेनलाई तोड्न र कन्ट्रयाक ट्रेसिङ्गलाई समेत प्रभावकारी बनाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक भएकोले मिति २०७८ जेठ २२ गते राती १२ बजेसम्मको लागि वडा क्षेत्र शिलको म्याद थप गरिएको ब्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचनाको उल्लंघन तथा बर्खिलाप हुने गरि कुनै पनि कार्य कहिँ कतैबाट भएमा प्रचलित कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत सम्बन्धीत सबैमा जानकारी गराइन्छ।
कोभिड–१९ सँग मिल्दोजुल्दो वा त्यस्तै प्रकारको कुनै स्वास्थ्य समस्या देखिएमा वा वडा कार्यालयले आवश्यक सहजीकरण गर्नुपर्ने भएमा तुरुन्तै वडा अध्यक्ष ९८५११५४५७० वा वडाका अन्य जनप्रतिनिधीहरु वा वडाका कर्मचारीसँग सम्पर्क गर्नहुन अनुरोध गर्दछ । कोरोना बिरुद्धको लडाई हामी सबैको साझा लडाई भएको हुनाले सबै वडाबासी महानुभावहरुमा समुदायमा थप कोरोना संक्रमण फैलन नदिनका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछु ।
राम बहादुर मोक्तान
वडा अध्यक्ष

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















