काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमको दैनिकी हिजो भन्दा आज फेरिएको छ । कोभिड–१९ सङ्क्रमण दर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि कोरोना भाइरस सङ्क्रमित बिरामीको अवस्था बुझ्ने र आवश्यक कदम चाल्ने दैनिकी बनेको छ अध्यक्ष गौतमको ।

अस्पताल आइसोलेसन र होम आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा पुरै दिन गौतम लागिरहेका छन् । गाउँपालिकाले सक्ने आवश्यक सामग्री आफै जुटाइरहेका छन् भने सहयोग गर्ने दाताहरूसम्म पनि गुहार्ने गर्छन् गौतम ।

होम आइसोलेसनमा विरामीसँग परामर्श गर्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष ताराकुमारी चौंलागाईं, वडा अध्यक्ष बीरबल तामाङ लगायतका टोली ।

हाल गाउँपालिकाको वडा नं. ७, ६, ३, २, १, ४ मा कोरोना सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी वडा नं. ७ मा सङ्क्रमित थपिएको छ । कोरोना सङ्क्रमण बढेपछि आफू सबै वडामा पुग्ने प्रयत्न गरिरहेको अध्यक्ष गौतमले बताए । ‘आजभोलि स्वास्थ्यकर्मी र म आफै बिरामीको अवस्था बुझ्न सबै वडामा पुग्ने प्रयत्न गरिरहेको छु । नपुगेको अवस्थामा स्वास्थ्यकर्मी वा बिरामीलाई फोन गरेर भए पनि अवस्था बुझ्ने गरेको छु ।’ उनले भने, ‘आजभोलि अरू काम गर्न मलाई फुर्सद नै छैन । जनताको स्वास्थ्य प्रति जति गम्भीर हुनुपर्ने हो, हुने प्रयत्नमा छु । कुनै जनताले समस्याको महसुस नगरोस् भन्नेमा छु म ।’

होम आइसोलेसनमा विरामीसँग परामर्श गर्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष ताराकुमारी चौंलागाईं, वडा अध्यक्ष बीरबल तामाङ लगायतका टोली ।

यसैबिच चौंरीदेउराली गाउँपालिकामा रामेछाप जिल्लाको दुई वटा गाउँपालिकाले समेत आफ्नो पालिकाको बिरामीको उपचार गर्न ल्याउने गरेको छ । दोरोम्बा र सुनापति गाउँपालिकाका सङ्क्रमित उपचारको लागि यहाँ ल्याउने गरेको अध्यक्ष गौतमले जानकारी दिए । गौतमका अनुसार चौंरीदेउराली गाउँपालिकाको अस्पतालमा आजसम्म ४ जना विरामी ल्याएकोमा २ जनाले कोरोनालाई जितेका छन् भने २ जना उपचारको क्रममा छन् ।

होम आइसोलेसनमा अध्यक्ष गौतम

यसैबिच गाउँपालिका अध्यक्ष गौतम स्वास्थ्यकर्मी र औषधि बोकेर वडा नं. ७ मादनकुँडारी र वडा नं. ६ कात्तिकेदेउरालीका होम आइसोलेसनमा रहेका विरामी भेट्न पुगेका छन् । गौतमका अनुसार दुवै वडामा गरेर २८ जना सङ्क्रमित विरामीहरु होम आइसोलेसनमा बसेका छन् ।

बिरामीहरूले सबै प्रकारको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेको पाइएकोले विरामीहरु सामान्य अवस्थामा रहेको अध्यक्ष गौतमले जानकारी दिए । ‘उहाँहरूले स्वास्थ्य मापदण्डको अनुशासन पूर्ण रूपमा पालना गरेकोले कोरोनालाई चाँडै जित्दै हुनुहुन्छ । उहाँहरू अहिलेसम्म सामान्य अवस्थामा भेटेँ ।’ बिरामीहरूलाई भेटेपछि गौतमले भने, ‘सबैको स्वास्थ्य सुधारोन्मुख रहेको स्वास्थ्यकर्मीहरुले गरेको परीक्षणबाट पुष्टि भएको छ ।’

भेटमा गौतमले नियमलाई कडाइ पूर्वक पालना गर्न, नआत्तिन, रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने खालको खानेकुरामा बढी जोड दिन विरामीहलई अनुरोध समेत गरे । सो अवसरमा उनले बिरामीहरूको लागि गाउँपालिकाले गर्नुपर्ने सबै प्रकारको सहयोगको लागि तयार रहेको बिरामीहरूलाई आश्वस्त पारेका थिए ।

बिरामीको सेवामा दैनिक रूपमा स्वास्थ्यकर्मी

गाउँपालिकाले दैनिक रूपमा प्रत्येक बिरामीलाई भेट्न र बिरामीको चेकजाँच गर्न स्वास्थ्यकर्मी परिचालन गरेको छ । अध्यक्ष गौतमका अनुसार औषधि ख्वाउन स्वास्थ्यकर्मी आफै होम आइसोलेसनमा पुग्ने गर्छन् । ‘दैनिक रूपमा घर–घरमै पुगेर स्वास्थ्यकर्मीले बिरामीको चेकजाँच गर्ने गरेको छ । सोही अनुसार हामीले गाउँपालिकामा भएको स्वास्थ्यकर्मीहरूलाई परिचालन गरेका छौँ ।’ उनले भने, ‘कतिपय ठाउँमा म आफै पनि स्वास्थ्यकर्मीका साथमा जाने गरेका छु । आज मादकुँडारी र कात्तिके देउरालीमा पुगेँ ।’

दैनिक रूपमा स्वास्थ्यकर्मी आफ्नो आइसोलेसन कक्षमा चेकजाँच गर्न र औषधि ख्वाउन आएपछि बिरामीहरूको मनोबल बढ्नुको साथै खुसी भएको पाइएको छ ।

अक्सिजन दिनै परे मात्र अस्पतालमा

कोरोना संक्रमित विरामीहरु सकेसम्म होम आइसोलेसनमै व्यवस्थापन गर्ने गरेको अध्यक्ष गौतमले जानकारी दिए । ‘होम आइसोलेसनमा पारिवारिक वातावरणमा विरामी रहन पाउने भएकोले आत्मबल बढ्नुको साथै राम्रो हेरचाह हुने गरेको पाइएको छ ।’ उनले भने, ‘आवश्यक स्वास्थ्य परामर्श, औषधि वितरण आदिलाई गाउँपालिकाले चुस्त बनाएका छौँ ।’

बिरामीलाई अक्सिजन दिनै परे मात्र अस्पतालमा ल्याउने गरेको अध्यक्ष गौतमले जानकारी दिए । ‘हामीले ३ वटा अस्पतालमा आइसोलेसन बनाएका छौँ । वडा नं. २, वडा नं. ३ र वडा नं. ५ मा रहेको अस्पतालमा हामीले १८ बेडको आइसोलेसन कक्ष बनाएका छाौं ।’ उनले भने, ‘अस्पतालमा चाहिँ अक्सिजन दिनै पर्ने बिरामीलाई मात्र भर्ना गर्ने गरिएको छ । होम आइसोलेसनमा रहेकालाई पनि गाह्रो परेमा अस्पताल ल्याउने गरेको छ ।’

आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेलाई मात्र अरू अस्पतालमा रिफर गर्ने गरेको बताउँदै उनले आजसम्म ३ जना सङ्क्रमितलाई रिफर गरिएको जानकारी दिए ।

अस्पताल आइसोलेसन सोचेको भन्दा राम्रो

अस्पताल आइसोलेसनमा रहेर कोरोना जितेकाहरू आफूले सोचेको भन्दा राम्रो वातावरण पाएकोमा खुसी भएका छन् । वडा नं. ९, गोठपानीका डुप्चन लामा १४ दिन अस्पताल आइसोलेसनमा उपचार पछि कोरोना जितेका छन् । लामाले अस्पताल आइसोलेसनमा आफूले सोचेको भन्दा धेरै सहयोग पाएको अनुभव सुनाए । लामाले कोरोनालाई जित्दा आफूले संसारै जितेको बताए ।

कोरोना जितेर धुसनेी सिवालय प्राथमिक अस्पतालबाट डिस्चार्ज हुने क्रममा गाउँपालिका अध्यक्ष दिननाथ गौतम सहितको सामूहक तस्बीर खिच्दै ।

‘अस्पतालमा बस्दा मैले सोचेको भन्दा धेरै सहयोग पाएँ । यहाँको डाक्टरहरू, गाउँपालिकाका जनप्रतिनिधिहरुले धेरै चासो र चिन्ता गरेको पाएको छ ।’ उनले भने, ‘अरू भन्दा पनि मैले पारिवारिक वातावरण पाएँ । खानेकुराहरूमा धेरै राम्रो व्यवस्थापन गरेको पाएँ । मनोवैज्ञानिक रूपमा पनि उच्च मनोबल बनाउन मलाई उहाँहरूले सहयोग गर्नुभयो । आज मैले कोरोना जित्दा संसारै जितेको महसुस भएको छ ।’

यस्तो छ गाउँपालिका भरि संक्रमितको अवस्था

गाउँपालिका भरि हाल सक्रिय संक्रमित संख्या ६० जना रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । जस मध्यक्ष् २६ महिला ३४ पुरुष रहेका छन् । अस्पताल आइसोलेसनमा १० जना रहेका छन् भने ५० जना होम आइसोलेसनमा रहेका छन् । आजै मत्र ५ जनाले कोरोना जितेको धुसेनी सिवालय प्राथमिक अस्पतालले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।