काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९का वडा अध्यक्ष चन्द्रबहादुर लामाले विपत्तिमा नआत्तिकन सामना गर्न अपिल गरेका छन् । वडा भित्र १७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि वडा अध्यक्ष लामाले यस्तो अपिल गरेका हुन् ।
यस अघि यस वडामा कोरोना भइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखेपछि २० जनाको पीसीआर परिक्षण गर्दा १७ जनामा पुष्टि भएको थियो । संसारभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरले वडा भित्र पनि तिब्रगतिमा फैलिएपछि लामाले स्वास्थ्य मापदण्ड अप्नाउन अनुरोध गरेका छन् ।
‘कोभिड–१९ को सामना डरार, आत्तिएर होइन, उच्च मनोवलका साथ सरकारले तोकिएको स्वास्थ्य मापदण्डलाई पालना गरेर मात्र गर्न सकिन्छ ।’ उनले भने, ‘सम्पुर्ण वडाबासी आमाबुबा, दिदीबहिनीहरुलाई म के अनुरोध गर्न चाहन्छु भने हामी सबै मिलेर सामना गरौं । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौं ।’
संक्रमित वडाबासीको समस्या, पिडासँग आफूहरु सधैं साथमा रहेको बताउँदै कुनैपनि प्रकारको समस्या आएमा जनप्रतिनिध, स्वास्थ्यकर्मी, वडाकार्यालयको कर्मचारीलाई सम्पर्क गर्न वडा अध्यक्ष लामाले अनुरोध गरे ।
वडामा रहेका स्वास्थ्यकर्मीहरुलाई संक्रमितको दैनिक अवस्था बुझ्न परिचालन गरेको र आवश्यक औषधि समेत वितरण गरेको लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















