नेकपा (माओवादी केन्द्र) निकट मदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले काभ्रे जिल्लाको बनेपा र पनौती आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । पनौती बाँसघारी, बनेपा, जनागाल, भैंसेपाटी र नयाँबस्तीमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई महासंघले सहयोग गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भोला अर्याल र अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर समितिले दाल, चामल, तेल, नुन, साबुन लगायतका सामान उपलब्ध गराएको थियो ।
कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका करिब २५ परिवारलाई खाद्यान्न उपलब्ध गराएका हुन् । वितरण गर्न माओवादी केन्द्रका जिल्ला सदस्य अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघका नगर ईञ्चार्ज अधिकारी र संयोजक मिनराज केसी घरदैलोमै पुगेका थिए ।

एकातिर रोगको चिन्ता, अर्कोतिर दैनिक रुपमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न परिवारमा निषेधाज्ञा र नगर क्षेत्र शिल गरिएको कारण धेरै समस्यामा परेर चुलो बाल्न समेन कठिन भएकाहरुको पहिचान गरी संंगठनको नेतृत्वमा सामग्री वितरण गरेको ट्रेड युनियन महासंघ बनेपा नगर ईञ्चार्ज अधिकारीले बताए ।

शहरी क्षेत्रमा दैनिक रुपमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकाहरु मध्ये पनि विशेष गरी नगर क्षेत्र शिल गरेपछि कोठामा खाद्यान्न सकिएर समस्यामा परेका श्रमिकहरुलाई राहत वितरण गरिएको महासंघका नगर संयोजक केसीले बताए ।

सो अभियानमा सामान ढुवानीका लागि यातायातको ब्यवस्थापन आर.पि. फर्निचरका सञ्चालक पुरुषोत्तम नेपालले गरेका थिए । कोरोना कहरका कारण संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारले निषेधाज्ञाका गर्नुका साथै नगर क्षेत्र नै शिल गरेपछि नगर क्षेत्रमा विभिन्न ठाउँबाट आएर श्रम गरी परिवार पाल्दै आएका मजदुरहरुको पेशा नै रोकिएपछि उनीहरुको परिवार पाल्न समेत समस्या झेल्दै आएका छन् ।

महामारीमा रोगले भन्दा पनि भोकले नागरिक समस्यामा नपरुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।