काभ्रेबाट निर्वाचित वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले सिद्धान्त र प्राथमिकतामा भएको कुरा नीति तथा कार्यक्रममा नआउने र नीति तथा कार्यक्रममा भएको कुरा बजेटमा नआउने जस्तो कार्य भएको टिप्पणी गरेका छन् । वागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गर्ने क्रममा आफ्नो धारणा राख्दै सांसद ढकालले उक्त टिप्पणी गरेका हुन् ।
ढुंगेलले पेस गरेका सिद्धान्त र प्राथमिकतामा धेरै कुरा गत वर्षकै दोहोरिएको तर नीति तथा कार्यक्रममा नअटेको भन्दै काम कुरा फरक नगर्न प्रदेश सरकारलाई उनले अनुरोध गरेका छन् ।
ढकालले सरकारले प्रदेशको आर्थिक समृद्धिका लागि उत्पादन र उत्पादकत्वलाई जोडेर लैजाने, स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गर्ने, गुणस्तरीय स्वास्थ्य र शिक्षा र पूर्वाधार विकास, आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणको कुरालाई ३ वर्षदेखि प्राथमिकतामा राखिएको भए पनि हालसम्म कार्यान्वयन नगरेको आरोप लगाए ।
‘स्वास्थ्यलाई प्राथमिकता दिइन्छ भनिएको छ । कसरी दिइन्छ? केके गरिन्छ ? केही पनि उल्लेख गरिएको छैन । यत्रो महामारीमा आउन लागेको बजेटमा खोपको कुरा समावेश नै गरिएको छैन । यसरी यस वर्ष पनि प्राथमिकतामा परे पनि कार्यान्वयन हुँदैनन् ।’ उनले भने ।
जिल्ला सदरमुकामबाट गाउँपालिकामा सडक जोड्ने, एक घर एक धारा कार्यक्रम, योजना बैंक बनाएर योजनाका आधारमा बजेट विनियोजन गरिनेलगायत कार्यक्रम गत वर्षको प्राथमिकतामा राखे पनि त्यसको सुरुवातसमेत नगरिएको दाबी गरे ।
ढकालले यी कार्यक्रमहरू गत वर्षको प्राथमिकतामा परे पनि कार्यान्वयन नगरी यस वर्षबाट हटाइएको पनि बताए । सरकारले प्राथमिकतामा एउटा कार्यक्रम राख्ने र काम अर्को गर्ने गरेको भन्दै उनले असन्तुष्टि जनाए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















