काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले गाउँबासीलाई सम्बोधन गर्दै स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न एक अपिल जारी गरेका छन् । धुसिने सिवालय प्राथमिक अस्पतालमा वडा नं. ७ का ७१ वर्षिय एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएपछि अध्यक्ष गौतमले यस्तो अपिल जारी गरेका हुन् ।
अध्यक्ष गौतमले कोभिड–१९ संक्रमणको चेन तोड्नुपर्ने भएकोले लकडाउनलाई अझै गम्भिरतापूर्वक लागु गर्नुपर्नेमा जोड दिएका छन् ।
‘कोरोना संक्रमणको सबैभन्दा ठूलो रोकथाम, नियन्त्रण तथा उपचार भनेको संक्रमणको चेन तोड्नु नै हो । यसका लागि ध्ज्इ (विश्व स्वास्थ्य संगठन), नेपाल सरकार स्वास्थ्य मन्त्रालयले निर्देश गरेको स्वास्थ्यका मापदण्डहरूलाई दृढतापूर्वक पालना गर्ने र लकडाउनलाई अझै गम्भीरतापूर्वक लागू गर्नु नै हो ।’ अपिलमा गौतमले भनेका छन्, ‘ यो विषम परिस्थितिमा हाम्रो अस्पतालमा हिजो उपचारका क्रममा अथक प्रयत्न गर्दागर्दै पनि वडा नं. ७ मादन कुँडारीको एक जना ७१ वर्षीय पुरुषको निधन हुन पुग्यो । मृतक प्रति सिंगो गाउँपालिका भावपूर्ण श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’
यस्तो छ अध्यक्ष गौतमले गाउँवासीको नाममा गरेको अपिल
चौंरीदेउराली गाउँपालिकाबासी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
यतिबेला नयाँ भेरियन्ट सहितको कोरोनाको महामारीको तीव्र संक्रमणले सम्पूर्ण विश्व मानव समुदाय आक्रान्त भइरहेको छ । यो अवस्थामा हाम्रो मुलुक तथा हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । हाम्रो गाउँपालिकाका विभिन्न वडाहरूका टोलवस्तीहरुमा संक्रमण फैलिरहेको र यसको रोकथाम, नियन्त्रण र उपचारको लागि गाउँपालिकाले आफ्नो बलबुताले भ्याएसम्म गरिरहेको छ । यतिबेला हाम्रो गाउँपालिकामा ५ जना डाक्टरसहित आइसोलेसन वार्डहरू र विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरु अहोरात्र ज्यानको पर्वाह नगरी रातदिन खटिरहनु भएको छ ।
अहिलेसम्म उपचारका लागि अति आवश्यक अक्सिजन लगायतका औषधीहरू आफ्नो बलबुताले भ्याएसम्म हामीले जोहो गरिरहेका छौँ र बिरामीहरूको उपचार गराइरहेका छौँ । विभिन्न दाताहरूबाट पनि केही अक्सिजनलगायत सामान्य स्वास्थ्य सामाग्रीहरू हामीलाई उपलब्ध हुँदै आइरहेका छन् र आउँदै पनि छन् । यो विषम परिस्थितिमा हाम्रो अस्पतालमा हिजो उपचारका क्रममा अथक प्रयत्न गर्दागर्दै पनि वडा नं. ७ मादन कुँडारीको एक जना ७१ वर्षीय पुरुषको निधन हुन पुग्यो । मृतक प्रति सिंगो गाउँपालिका भावपूर्ण श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।
आदरणीय गाउँपालिकाबासी जनसमुदायहरू,
कोरोना संक्रमणको सबैभन्दा ठूलो रोकथाम, नियन्त्रण तथा उपचार भनेको संक्रमणको चेन तोड्नु नै हो । यसका लागि ध्ज्इ (विश्व स्वास्थ्य संगठन), नेपाल सरकार स्वास्थ्य मन्त्रालयले निर्देश गरेको स्वास्थ्यका मापदण्डहरूलाई दृढतापूर्वक पालना गर्ने र लकडाउनलाई अझै गम्भीरतापूर्वक लागू गर्नु नै हो । यसका लागि भिंडमा जम्मा हुने कार्यहरू (बिहे, पुजा, घेवा, व्रतबन्ध) आदी जस्ता कार्यहरु सकेसम्म स्थगित गर्ने र गर्नै पर्ने भएमा समाजिक दुरी कायम गर्दै बढीमा २५ जनाभन्दा बढीको उपस्थिति नगराई गर्ने । लक्षणसहित वा बिना लक्षण कतै कोही बिरामी परिरहेको छ भने तुरुन्तै स्वास्थ्य संस्था तथा अस्पतालमा सम्पर्क गर्ने । जीवन रहे गर्नुपर्ने कामहरू पछि पनि गर्न पाइन्छ, जीवन नै रहेन भने जे जस्तो कार्य गरे पनि के अर्थ रहन्छ र ? त्यसैले सबैले निरन्तर साबुन पानीले हात धुने, मास्क सेनिटाइजरको प्रयोग गर्ने, नियमित तातो पानी खाने बानी बसालौँ । तपाईंले देख्ने, भेट्ने सबैजनालाई कोरोना संक्रमण छ भन्ने मानौँ र आफूबाट अरुलाई पनि सुरक्षित बनाऔं, पूर्ण होसियारकासाथ सुरक्षित हुनु र अरुलाई पनि सुरक्षित राख्नुमा नै हामी सबैको जीवन छ, अन्यथा यो महामारीको बेला लापरवाही गर्नु भनेको अकाल मृत्युवरण गर्नु नै हो ।
दाजुभाइ तथा दिदीबहिनीहरू,
यो महामारीको सामना गर्न हामी सबै एकताबद्ध भएर मात्र सम्भव छ । हामी तपाईंहरूको स्वास्थ्य सुरक्षाका लागि हाम्रो स्रोतसाधन र बलबुताले भ्याएसम्म प्रतिबद्ध छौं । धन्यवाद ।
मितिः २०७८।०२।१७
दिननाथ गौतम
अध्यक्ष चौंरीदेउराली गाउँपालिका

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















