सुनकोसी नदीले बगार बेपत्ता भएका काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ र ३ का दुइ युवा माध्य एकको शव फेला परेको छ । आज मंगलबार जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट खटिएको जनपद प्रहरी र शसस्त्र प्रहरीको टोलीले खोजी कार्य गर्दा वडा नं. २ का २१ वर्षिय सुजित तामाङको शव फेला पारेको हो । उनको शव चौंरीदेउराली गाउँपालिका वडा नं. ८ मा फेला पारेका थिए ।

वडा नं. २ वडा अध्यक्ष तिमालसिं तामाङका अनुसार वडा नं. ३ का २२ वर्षिय दिलध्वज तामाङको शव भने भेट्टाउन सकेन । सोमबार माछा मार्न भनि सुनकोसी नदीमा गएका दुई युवा दिउँसो १ बजेदेखि बेपत्ता भएका थिए ।

फेला पारेको शवको पोष्टमार्टमको लागि धुलिखेल ल्याउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता युवाहरुको खोजिको लागि इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख अनिस बुढाथोकीको नेतृत्वमा प्रहरी टोली, प्रहरी चौकी पचुवारघाटका प्रहरी टोली, सशस्त्र प्रहरी वलको तालिम प्राप्त प्रहरीको टोली र स्थानीयले खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएस्पी हरि खतिवडाले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।