काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ९, गहतेमा जिल्लाकै सबैभन्दा ठुलो गुरु रेम्बोर्जेको मूर्ति तीव्र गतिमा बन्दै छ । तामाङ जातिको मात्र बसोबास रहेको सो गाउँमा ३७ फिट अग्लो गुरु रेम्बोर्जेको मूर्ति बन्न लागेको हो ।
धार्मिक पर्यटन विकासका लागि वडाको योजनामा यो मूर्ति निर्माण गरेको वडा अध्यक्ष मेलबहादुर तामाङले बताए । चिहान डाँडाको रूपमा मात्रै रहेको सो स्थानमा सो मूर्ति निर्माण भएपछि बाह्य तथा आन्तरिक पर्यटनलाई आकर्षण गर्न सक्ने वडा अध्यक्ष तामाङले बताए । ३ वर्ष अघि यो संरचना निर्माणका लागि डिपीआर गर्दा १ करोड १० रुपैयाँ रकम लाग्ने अनुमान गरिएकोमा आर्थिक वर्ष २०७८।७९ मा निर्माण सम्पन्न हुने तामाङले जानकारी दिए ।

‘यो चिहान डाँडाको रूपमा मात्र सीमित थियो । वडाको पर्यटन विकासको लागि मैले यो मूर्ति निर्माणकाले योजना बनाएँ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षण गराउनेछ ।’ अध्यक्ष तामाङले भने, ‘यसको डिपीआर गर्दा १ करोड १० लाख बजेट अनुमान गरिएको थियो । अब आगामी मङ्सिर पूर्णिमाका दिन उद्घाटन गर्ने लक्ष राखेको छु ।’
आर्थिक वर्ष ०७६।७७ मा वडाले सो मूर्ति निर्माणका लागि २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसै गरी आर्थिक वर्ष ०७७।७८ वडाबाट १५ लाख र बागमती प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । नपुग रकम भने विभिन्न व्यक्तिसँग सहयोग मागेको र हालसम्ममा १३ लाख रुपैयाँ रकम उठी सकेको वडा अध्यक्ष तामाङले जानकारी दिए । ‘डिपीआर गर्दा १ करोड १० लाख रकम लाग्ने अनुमान गरिएको थियो । हामीलाई हालसम्ममा ६४ लाख मात्र रकम प्राप्त भएको छ । बाँकी सहयोग मागेका छौँ ।’ उनले भने, ‘हालसम्ममा १३ लाख रकम उठी सकेको छ । यो लकडाउनले गर्दा सहयोग रकम लिन जान सकेको छैन । कम्तीमा २० लाख सहयोग उठाउने लक्ष राखेका छौँ ।’

यो मूर्ति निर्माण सम्पन्न भएपछि गहतेमै रहेको साम्लिङ गावा गुम्बा पनि यससँगै निर्माण गर्न लागेको उनले बताए ।
धार्मिक पर्यटनका रूपमा विकास भएपछि यहाँको स्थानीयको आय आर्जनमा समेत टेवा पुग्ने अध्यक्ष तामाङले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ आएपछि यहाँकै जनताको आय अर्जनमा समेत यसले टेवा पुग्ने छ । यसले मानवको धार्मिक भावनाको विकास भई समाज विकासमा समेत सकारात्मक भूमिका खेल्ने छ ।’ उनले भने, ‘त्यति मात्र होइन रोशी गाउँपालिकामा रहेको तीन धारे झर्ना जाने बाटो समेत यहीँ भएकोले गुरु रेम्बोर्जेको दर्शन गर्न यहाँ अडिने छ ।’

यहाँ गुरु रेम्बोर्जेको मूर्ति निर्माणका लागि राजनीतिक रङ्ग नदिई सबै राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरू मिलेर अगाडि बढेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















