काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. २ का भक्त लामाले रोशी गाउँपालिकाको वडा नं. १ खहरेपाँगुमा रहेको रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आफ्नो बुबाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएपछि बुबाको सम्झना लामाले उक्त सामग्री सहयोग गरेको हो ।

आफूले जस्तो कोभिड–१९ सङ्क्रमणको पीडा अरूले भोग्न नपरोस् भन्ने उद्देश्यले अस्पताललाई उक्त सामग्री सहयोग गरेको लामाले बताए । उनको बुबा लालबहादुर तामाङको गत जेठ ४ गते कोरोना सङ्क्रमणबाट निधन भएको थियो ।

‘कोरोनाले हाम्रो समाज आक्रान्त पारिसकेको छ । कसैलाई कोरोनाले जीवनमा ठुलो पीडा दिएको छ भने कसैलाई अझैसम्म पनि ख्याल ख्याल लागिरहेको टड्कारो देख्न सकिन्छ ।’ भावुक हुँदै लामाले भने, ‘ मैले जस्तो कोभिडको पीडा अरू कसैले भोग्न नपरोस् भनेर बुवाको सम्झनामा सहयोग गरेको हुँ ।’

आफूले बुबालाई बचाउन हर सम्भव प्रयास गरे पनि बुबाको निधन भएपछि बुबाको सम्झनामा सहयोग गरेको उनले बताए । ‘अहिले म निकै दुःखी छु । मैले जस्तो पिडा अरू कसैले भोग्न नपरोस् भनी मेरो बुवाको सम्झनामा रोशी अस्थायी अस्पताललाई सहयोग गरेको हुँ । हाम्रो समुदायमा अहिले पनि कोरोना सङ्क्रमित बिरामीहरू हुनुहुन्छ ।’ लामाले भने, ‘रोशी अस्थायी अस्पतालमा इमरजेन्सी उपचार र आवश्यक औषधीहरूको अभाव नहोस् भनी सहयोग गरेको हुँ ।’ आफ्नो यस कार्यमा विष्णुमान लामा र जसमान बलले सहयोग गरेको उनले बताए ।

स्वास्थ्य सामग्री रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा र प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालको रोहबरमा अस्पताललाई हस्तान्तरण गरेको थियो । लामाले करिब ५ लाख ७१ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेका थिए ।

उनले हस्तान्तरण गरेका सामग्रीहरुमा अक्सिजन सहितको १० वटा सिलिन्डर, मल्टी भिटामिन ३०० पत्ता, भिटामिन सी ३०० पत्ता, भिटामिन डी ३०० पत्ता, मास्क २ हजार पिस, ग्लोब्स ५ बक्स, स्यानिटाइजर ४० ग्यालीन, प्यारा सिटामोल १ हजार पत्ता हस्तान्तरण रहेको रोशी–१ का वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले यस्तो परिस्थितिमा गाउँपालिकालाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए । ‘महामारीको यस विषम परिस्थितिको सिकार हुन पुगेको भक्त भाइले आफूले पाएको पीडा कम गर्न र समाजलाई सचेत गराउँदै उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ । उहाँको सहयोगी भावनाको उच्च सम्मान गर्दै बुबा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्न चाहन्छु ।’ लामाले भने, ‘साथै आम नागरिकलाई निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्दै सबै रोशीबासीहरु सुरक्षित रहन अनुरोध गर्दछु ।’

सो अवसरमा अध्यक्ष लामाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि पालिकाले आवश्यक पहल गर्दै आएको पनि बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।