काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा स्थानीय जनताको दैलो–दैलोमा पुगिरहेका छन् । कोभिड–१९ संक्रमण दर गाउँपालिकामा उच्च हुँदै गएपछि यसको रोकथाम, नियन्त्रण र उपचारलाई चुस्त बनाउन अध्यक्ष जिम्मा आफै लागेका छन् ।
स्वास्थ्यकर्मीको एउटा टोलीको नेतृत्व गर्दै जहाँ विरामी त्यहाँ जिम्बा पुग्ने गरेका छन् । त्यस्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको विरामी जहाँ छ त्यहाँ पनि उनी पुग्ने गरेका छन् । उनको यो कृयाशिलता देखेर स्थानीय जनता खुशी भएका छन् । शुरुमा वडा नं. ८ घर्तिछापमा अस्थायी कोभिड अस्पताल निर्माण सम्पन्न गरेपछि जिम्बा जनताको घरदैलोमा जान शुरु गरेका हुन् ।

विरामीलाई चाहिने औषधि लिएर एन्टीजेन परिक्षणमा लागेको आज उनी ३ हप्ता भन्दा बढी भएको छ । ‘कोभिडको दोस्रो लहर जब देशैभरि फैलियो, मेरो पालिकापनि अछुतो रहेन । शहरबजारमा आउने जाने क्रम भइहल्छ । त्यसैले पनि यहाँ संक्रमण दर अलि बढी नै भयो ।’ गाउँपालिका अध्यक्ष जिम्बाले भने, ‘यहाँ संक्रमण हुन थालेपछि मैले जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर पहिला गाउँपालिकामै अस्थायी कोभिड अस्पतालको निर्माण गरें । आइसियू र भेन्टिलेटर बाहेका सबै सुविधा पाउने गरि म आफै लागेर बनाएँ ।’
जिम्बा गाउँपालिकाको संक्रमित भएको वडा र कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको विरामी भएको टोल र बस्तीमा पगीरहेका छन् । यस अघि उनी वडा नं. ६ बनखुको मगर गाउँ, घर्तिछाप, गोकुले पुगीसकेको उनले बताए । ज्यानलाई पनि जोखिममा राखेर औषधि बाँड्दै हिंडेको उनले बताए ।
‘आज हामी जनप्रतिनिधि र स्वस्थ्यकर्मीहरु ज्यानको जोखिम मोलेर, औषधि बाँड्दै, स्वाब संकलन गरेर एन्टीजेन परिक्षण गर्दै हिंडेका छौं ।’ ‘जुन जुन ठाउँमा विरामी छन् हामी त्यहाँ पुग्ने गरेका छौं ।’
निःशुल्क उपचार
होम आइसोलेसन र अस्पताल आइसोलेसनमा रहेका विरामीको पूर्णरुपमा निःशुल्क उपचार गरिएको अध्यक्ष जिम्बाले जानकारी दिए । त्यति मात्र होइन सदरमुकामका अस्पतालहरुमा रिफर भएका विरामीको लागि समेत एम्बुलेन्स निःशुल्क प्रदान गरेको छ । ‘होम आइसोलेसनमा रहेका विरामीको लागि जति पनि औषधिको आवश्यकता हुन्छ त्यो सबै निःशुल्क दिने गरेका छौं । त्यस्तै कोभिड अस्पतालमा उपचार गर्नुपर्ने विरामीको लागि पनि पूर्ण रुपमा निःशुल्क उपचार गरिरहेका छौं ।’

धुलिखेल अस्पतालमा ३ जना विरामी रिफर गरिएकोमा उनीहरुलाई एम्बुलेन्स निःशुल्क पठाएको उनले बताए ।
लक्षण देखिएमा सम्पर्क गर्न अनुरोध
गाउँपालिका अध्यक्ष जिम्बाले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको विरामी भएमा तुरुन्त सम्पर्क गर्न समेत अनुसरोध गरेका छन् । ‘हामी जनताको स्वास्थ्य प्रति गम्भिर र जिम्मेवार छौं । त्यसैले यो रोगलाई कसैले ख्याल–ख्याल नठान्न म हार्दिक अनुरोध गर्दछु ।’ उनले भने, ‘लक्षण देखिएको छ भने तुरुन्त हामीलाई सम्पर्क गर्नुहुन म अनुरोध गर्दछु । हामी तपाईंको घरमै आइपुग्छौं । जिम्मेवार नागरिकको भूमिका खेल्नुहोस् ।’
मंगलबार ४५ मा संक्रमण पुष्टि
मंगलबार पनि अध्यक्ष जिम्बा गाउँपालिकाको विभिन्न वडाहरुमा पुगेर स्वास संकलन गर्ने र औषधि वितरण गर्ने काममा नै व्यस्त थिए । उनका अनुसार मंगलबार वडा नं. ७, वडा नं. ८ र वडा नं. ६ मा पुगेका छन् ।
३ वटा वडामा ७९ जनाको परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । ‘आज महाभारत गाउँपालिकाको विभिन्न स्थानमा गरिएको कोरना एन्टिजेन परिक्षण बाट वडा नम्बर ७ मा ३३ जनामा २१ जना, वडा नम्बर ८ मा १९ मा १२, वडा नम्बर ६ मा २७ मा १२ जम्मा ७९ जना परिक्षण गर्दा आज सबै भन्दा धेरै जना ४५ जना मा कोरोना पुष्टि भएको छ ।’ उनले भने ।
स्थानीय खुशी
अध्यक्ष जिम्बा आफै जनताको घरदैलोमा पुगेपछि उनीहरु खुशी भएका छन् । आफ्नै घरदैलोमा अध्यक्ष देखेपछि संक्रमितहरुको मनोवल उच्च भएको बताएका छन् । ‘यस्तो विकट छ हाम्रो गाउँपालिका । अस्पताल नजिक पनि छैन । तर कोरोनाको विरामीको उपचारको लागि अध्यक्षज्यूले कोभिड अस्पताल पनि बनाउनु भएको छ ।’ स्थानीय एक संक्रमित विरामीले भने, ‘उहाँ स्वास्थ्यकर्मी सहित हाम्रो घरमै आएपछि हामीलाई खुशी लागेको छ । हाम्रो मनोवल पनि बढेको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















