काठमाडौं । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा पुनः जेठ ३१ गतेसम्मका लागि थपिएको छ।

काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।

जेठ ३१ गतेसम्म जारी रहने निषेधाज्ञा अब भने केही खुकुलो हुने जनाइएको छ। यसअघि जेठ १४ गतेदेखि खाद्यान्न पसल समेत खोल्न नपाइने निर्णय गरिएको थियो। अब भने खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोरहरु (ग्रोसरी मात्र) बिहान ९ बजेसम्म खोल्न पाइने छ।

यस्तै, निर्माण सामग्री ढुवानीका लागि ढुवानी गर्ने सवारी साधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ। सवारी साधन मर्मतका लागि राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशपहरु समेत सञ्चालन गर्न पाइने छ।

यस्ता छन्, काठमाडौं जिल्लामा जेठ ३१ गतेसम्म जारी रहने निषेधका आदेशहरु–

  • सर्वसाधारणको आवतजावतको हकमा 

    – औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर वाहिर ननिस्किने ।

    – दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने ।

    – अनिवार्य रुपले मास्कको प्रयोग गर्ने। पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने।

  • सभा सम्मेलन तथा नित्य पूजाको हकमा

    – सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, नाचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने ।

    – खुला स्थानमा मानिसहरुको भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाइने ।

    – विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।

    – विवाह वा व्रतबन्धको हकमा १ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाउने ।

    – पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक तथा साँस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने ।

  • शैक्षिक संस्था, कृषि, उच्योग तथा निर्माण कार्यको हकमा

    – शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) संचालन गर्न गराउन साथै शैक्षिक परीक्षाहरु संचालन गर्न गराउन नपाइने ।

    – वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनीतिक नियोग्‌ तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने ।

    – नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कुटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न सक्ने र सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने ।

    – अत्यावश्यक उद्योग संचालन तथा निर्माण कार्यका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गरी कार्यस्थलमा नै श्रमिक कामदारको आवासीय व्यवस्था गरी संचालन गर्ने ।

    – ट्रान्सपोर्ट कम्पनीको हकमा औषधी तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिण्डर, अस्पतालको बेड, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री मात्र ढुवानी गर्दा स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने ।

    – नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कृषि कार्य गर्न सकिने ।

  • अत्यावश्यक कार्यमा सवारी आवागमनका लागि जिल्ला प्रशासन कार्यालयबाट हुने सहजीकरण

    – मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेस गर्नुपर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने ।

    – बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा २ जनाले आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भइ काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेस गर्ने ।

    – सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटी आवत जावत गर्न पाउने ।

  • सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा

    – सार्वजनिक एवं निजी सवारी साधन मिति २०७८/०२/२१ गते बिहान १:०० बजे देखि २०७८/०२/३१ गते राति १२:०० बजे सम्म काठमाडौं जिल्लाभर संचालनमा रोक लगाउने ।

    – अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरूवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सबारी साधन बाहेक अन्य सबारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।

    – अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत ‘मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसंचार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापनसम्बन्धी ढुवानी तथा यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी संचालन गर्न पाउने ।

    – तरकारी, फलफूल, खाच्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरीसम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क/साबुन/स्यानिटाइजर र प्रिन्ट तथा सरकारी छापाखाना लगायतका ढुवानी तथा सो को यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९:०० बजे देखि ०९:०० बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाउने ।

    – निर्माण सामग्री ढुवानीका लागि सो को सवारी साधन राति ०९:०० बजे देखि बिहान ०४:०० बजे सम्म संचालन गर्न पाउने ।

    – भन्सार बिन्दुबाट Exit Note जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी आउन जारी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थान सम्म आवतजावत गर्न दिने ।

    – अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह हाललाई स्थगन गर्ने ।

    – जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, माननीय न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवको हकर्मा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने ।

    – सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसंचार प्रदाय संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने ।

    – काठमाडौं जिल्लामा बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय, विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय, बित्त कम्पनीको हकमा केन्द्रीय कार्यालय र १ वटा शाखा कार्यालय, बीमा समिति तथा बीमा कम्पनीको हकमा कर्पोरेट कार्यालय र धितो पत्र बोर्ड मात्र खुल्ने गरी आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाइ सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने ।

    – अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्ने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जानका लागि सवारी साधनको सहजीकरण गर्ने ।

  • अत्यावश्यक खाद्य सामग्री तथा अन्यको हकमा 

    – तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ०९:०० बजेसम्म मात्र खुला गर्ने। तरकारी तथा फलफूलको थोक बजारमा फुटकर

    बिक्री वितरण नगर्ने । स्थानीय ढुवानीका हकमा राति ०९:०० बजे देखि विहान ०९:०० बजे सम्म मात्र गर्ने ।

    – तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि वर्कशपहरुले सामग्री किनबेच गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यनिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड गर्नु पर्ने । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा बन्द गर्न समेत सकिने ।

    – सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ०९:०० बजे देखि बिहान ०९:०० बजे सम्म संचालन गर्ने।

    – तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल/बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न रोक लगाउने।

    – औषधी तथा स्वास्थ्य सामाग्री सम्वन्धी पसल जुनसुकै समय निर्वाध रुपमा संचालन गर्न पाइने।

    – पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने। सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मी/कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने ।

    – निलो प्लेटका सवारी साधनको हकमा परिचयपत्र बाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने।

    –प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधी आपूर्ति गर्ने परिचय बाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमति पत्र भए सवारी पास नचाहिने ।

  • फुटपाथ तथा खुल्ला ठाउँमा संचालन हुने बिभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडी संकलन गर्न रोक लगाउने।

  • उल्लेखित आदेशको अबज्ञा गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गर्ने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।