काभ्रे जिल्लाको तेमाल गाउँपालिकमा रहेका १७ जना कोरोना भाइरस संक्रमित कोरोना मुक्त भएका छन् । शनिबार एन्टीजेन परिक्षण गर्दा सबै जनाको कोरोना नेगेटीभ आएको हो ।

यस अघि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको २० जनाको परिक्षण गर्दा १७ जनामा कोभिड–१९ पुष्टि भएको थियो ।

विरामीहरुको पुनः परिक्षण गर्न र अवस्था बुझ्ना वडा अध्यक्ष चन्द्रबहादुर लामा र तेमाल शिक्षा शाखा प्रमुख शिवहरि पाठक स्वास्थ्यकर्मी र औषधिका साथ टोलटोमा पुगेका थिए ।

वडामा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको विरामीहरुको एन्टीजेन परिक्षण समेत गरेको थियो । सोही क्रममा सो वडामा ५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य शाखा प्रमुख पाठकले जानकारी दिए ।

वडा अध्यक्षले बुझे अवस्था

स्वास्थ्यकर्मी र औषधि बोकेर गएका वडा अध्यक्ष लामाले वडामा भएका सबै विरामीहरुको वस्था बुझेका छन् । विरामी भएको सबै वडामा वडा अध्यक्ष लामा पुगेर अवस्था बुझेका हुन् । आफ्नो वडाको पुरानो संक्रमितहरु सबै कोरोना मुक्त भएपछि लामाले खुशी हुँदै बधाई दिएका थिए । साथै उनले स्वास्थ्यकर्मीहरुलाई समेत विशेष धन्यवाद दिएका थिए ।

महामारीको विरुद्ध सबै एक भएर लड्नुपर्ने भएकोले सबैले आ–आफ्नो तर्फबाट सक्रिय भूमिका खेल्ने समेत लामाले अनुरोध गरे । ‘रोगलाई हामीले ख्याल–ख्याल ठान्नु पनि हुँदैन र रोग लाग्ने वित्तिकै आत्तिनु पनि हुँदैन ।’ वडा अध्यक्ष लामाले स्थानीयसँग भने, ‘यो लडाई कुनै व्यक्तिसँग मात्र सम्बन्धित होइन, समाजमा रहेका हामीसबैसँग सम्बन्धित हो । त्यसैले यो लडाईमा हामीसबैको भूमिका महत्वपूर्ण हुन्छ । आ–आफ्नो तर्फबाट लागौं ।’

वडा नं. ९ मा रहेको प्राथमिक स्वास्थ्य इकाईमा ४ जना स्वास्थ्यकर्मी रहेको र सबैलाई साविकको वडा अनुसार कार्यविभाजन गरेर विरामीको अवस्था बुझ्ना र चेकजाँच गर्न परिचालन गरिएको वडा अध्यक्ष लामाले बताए । समस्या परेमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न स्थानीयलाई अनुरोध गर्दै आफूहरु जनताको स्वास्थ्यप्रति सधैं जिम्मेवार र गम्भिर रहेको विश्वास दिलाए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।