काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ मा ३७ जनाले कोरोना जितेका छन् । शनिबार उनीहरुको दोस्रोपटक परिक्षण गर्दा कोरोना मुक्त भएको पाइएको हो ।
परिक्षण तथा विरामीको अवस्था बुझ्ना वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ स्वास्थ्यकर्मीहरुका साथ टोलटोल पुगेका थिए । यस अघि सो वडामा ३९ जनामा कोरोना पुष्टि भएको थियो । १ जनाको मृत्यु भइसेको छ भने एकजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष घिसिङले जानकारी दिए ।

गत जेठ ११ गते हाम्रो वडामा ५० जनाको पिसिआर परिक्षण गरेकोमा ३९ जनाको पोजिटिभ पुष्टि भएको थियो । ती मध्य १ जनाको मृत्यु, एकजना हस्पिटलमा र ३७ जनाको शनिबार पुन एन्टीजेन परिक्षण गर्दा नेगेटिभ आएको छ ।’ अध्यक्ष घिसिङले भने, ‘नयाँ २१ जनाको एन्टीजेन परिक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।’
सुरक्षित हुन जनतालाई अनुरोध
वडा अध्यक्ष घिसिङले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर कोरोना विरुद्ध लड्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई सहयोग गर्न स्थानीय जनतालाई अनुरोध गरेका छन् । ‘यो रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि हामी सबैको एकता आवश्यक छ । स्वास्थ्य मन्त्रालयले तोकिएको स्वास्थ्य मापदण्डलाई हामी सबैले पालना गरौं । यो लडाईंको सबैभन्दा ठूलो हतियार भनेकै यहीं हो ।’ घिसिङले भने, ‘यो रोगको विरुद्ध वडाका धेरै साथीहरुले आर्थिक सहयोग, स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सहयोगी हातहरु र घरमै नियम पालना गरि बसेको सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु प्रति मुरिमुरि धन्यवाद दिन चाहन्छु । कोरोना मुक्त भएका सबैलाई बधाई दिन चाहन्छु ।’

कोरोना नियन्त्रणको लागि आर्थिक सहयोग
वडा नं. ८ मा कोरोना विरुद्ध लड्नका लागि विभिन्न व्यक्तिहरुले आर्थिक र स्वास्थ्य सामग्री सहयोग गरेको वडा अध्यक्ष घिसिङले जानकारी दिए । उनका अनुसार सहयोग गर्नेहरुमा लोङसल गाउँ निवासी चमार सिं तामाङबाट १० हजार, दावाङज्यु तामाङ (मिलन) बाट २४ हजार र अशोक लामाबाट १० हजार गरि ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
भोर्ज्याङटार निवासी वरिष्ठ अधिवक्ता रमेशकुमार मैनालीबाट २०५० पिस मास्क, ग्लोभ सानो एक बक्स, फेस कभर ८० थान र सेनिटाइजर १० प्राप्त भएको घिसिङले जानकारी दिए ।

भ्रममा नपर्न वडा अध्यक्षको अनुरोध
वडा अध्यक्ष घिसिङ सामाजिक सञ्जालमा आफ्नो विरुद्ध भ्रम फैलाउने हिसाबले आएको अभिव्यक्तिबाट कुनै पनि भ्रममा नपर्न वडाबासीलाई अनुरोध गरेका छन् ।
तामाङ चिकित्सक समाजले गाउँपालिकामा कुनै पनि प्रकारको समन्वय नगरीकन यस वडामा कोरोना परिक्षण गर्न लाग्दा समन्वय नगरी कुनै गतिविधि नगर्न गाउँपालिकाले गरेको अनुरोधलाई फरक ढंगले प्रचार गरेको घिसिङले बताए । आफूहरु तामाङ चिकिस्तक समाजले गर्न लागेको सहयोग प्रति सम्मान र खुशी भाव पैदा बताउँदै उनले यो संवेदनशील अवस्थामा स्थानीय सरकारको मातहत र स्थानीय सरकारसँग जिम्मेवारीपूर्ण ढंगले समन्वयमा अभाव भएको प्रष्ट पारे ।

‘उहाँहरुको उद्देश्य पवित्र छ । हामी खुशी नै छौं । तर जनताको स्वास्थ्य प्रति जिम्मेवार ढंगले सरकार अघि बढ्नै पर्छ । स्थानीय सरकारले पूरै जनशक्ति कोरोना विरुद्ध लगाएको छ । यो वेला उहाँहरुले सरकारलाई सहयोग गर्ने हो नि ।’ उनले भने, ‘समन्वय पुगेन । गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत आउनुपथ्र्यो । यो कुरा उहाँहरु जस्तो मान्छेहरुले झन बढी बुझ्नुपर्ने हो । किन बुझ्नु भएन अचम्म छ ।’
तामाङ चिकित्सकहरुलाई गाउँमा आउन आफू र स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले रोकेको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलाउनु कारोना विरुद्धको लडाईंलाई कम्जोर बनाउन खोज्नेहरुको हर्कत भएको उनले आरोप लगाए । ‘तामाङ चिकित्सकहरुलाई गाउँमा आउन रोकेको भन्ने भ्रम फैलाउन केही जिम्मेवार मान्छेहरु नै हात धोएर लागेको देखें । दुःख लागेको छ ।’ घिसिङले भने, ‘औषधी र अरु स्वास्थ्य सामग्री वितरणको कुरा सामान्य होला, तर कोरानो परिक्षण नै गर्ने भनेपछि गाउँपालिका मार्फत आउनुपर्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । परिक्षणबाट पोजिटीभ भएका विरामीहरुको विवरण राख्ने, विरामीको रेखदेख र व्यवस्थापन कसले गर्ने त ? स्वास्थ्य शाखामा रेकर्ड भएन भने गाउँपालिकाले विरामी चिन्दैन । त्यसैले यो सबै कोरोना विरुद्धको लडाईलाई कमजोर पार्न रचेको षड्यन्त्र हो । कोही पनि भ्रममा नपर्न म अनुरोध गर्दछु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















