पोखरा। गण्डकी प्रदेशमा नयाँ सरकारका लागि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी पेश गरेका छन्। बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले दाबी पेश गरेका हुन्।

हस्ताक्षरपछि सामूहिक फोटो खिच्दै गण्डकी प्रदेशका बहुमत सांसदहरु ।

नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन्। पोखरेललाई नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकसहित ३१ सांसदको समर्थन छ। स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेपछि पोखरेलको पक्षमा बहुमत जुटेको हो।

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव गरेका थिए। विश्वासको मत लिन असफल भएसँगै उनी स्वतः पदमुक्त भएका थिए। शुक्रबार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २९ जेठ दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाका सदस्यहरूलाई आह्वान गरेकी हुन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।