सुदिन लामा
काभ्रे जिल्लाको खानीखोला वडा नं. ७, मिल्चेमा १० बेडको आइसोलेसन कक्ष सञ्चालन गरेको छ । कोभिड–१९ संक्रमण तीब्र गतिमा बढिरहेको बेला यसको रोकथाम, नियन्त्रण र उपचारको लागि वडाको पहलमा आइसोलेसन कक्ष निर्माण गरि सञ्चालनमा ल्याएको हो ।

आइसोलेसन कक्षको शनिवार वडा अध्यक्ष क्षेत्रमान घ्याबाले उद्घाटन गरेका थिए । विकटताको कारण वर्षातमा सडक अवरुद्ध भई गाउँपालिकाको केन्द्रमा रहेको आइसोलेसन केन्द्रसम्म कोभिडका विरामीलाई पुर्‍याउन नसकिने अवस्था रहेकोले आइसोलेसन कक्ष स्थापना गरिएको वडा अध्यक्ष घ्याबाले बताए । सुविधा सम्पन्न अस्पतालमा पनि विरामीलाई पुर्‍याउन विकटताका कारण समस्या रहेकोले वडा भित्रका वडावासीहरु कोभिड संक्रमित भएर अक्सिजनको अभाव भएर आफ्नो अमूल्य जिवन गुमाउनु नपरोस भन्ने उद्देश्य पनि आईसोलेसन कक्षको स्थापना गर्नु परेको उनले बताए ।

साथै उक्त कक्ष निर्माणका लागि सहयोग गर्ने विभिन्न संघ संस्थ, चन्द दाताहरुलाई विपतको बेलामा सहयोग गर्नेहरुलाई उनले धन्यवाद समेत दिए ।

यसैबीच नेकपा एमालेका टंक बड्ड मोक्तान, पूर्व गाविस अध्यक्ष दलशुर मोक्तान, पुर्व गाविस उपाध्यक्ष लाल बहादुर थिङ, समाज सेवी ओम बहादुर घ्याबा र अर्को समाजसेवी दिल बहादुर वाईबा, अम्बिका रिजाल लगायतले वडामै आइसोलेसन सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै वडा अध्यक्षलाई धन्यवाद दिए ।

त्यसैगरी मिल्चे स्वास्थ्य चौकी प्रमुख चन्द्र नारायण चौधरीले विरामीको सेवामा कुनै पनि किसिमको कमिकमजोरी हुन नदिने प्रतिबद्धता जाहेर गरे ।

आइसोलेसन निर्माणका लागि कस–कसले गरे सहयोग ?

सो वडामा आइसोलेसन कक्ष निर्माणका लागि विभिन्न संघसंस्था र व्यक्तिले स्वास्थ्य सामग्री र नगद सहयोग गरेका थिए । यसबीच विघटीत प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङ बमध्वजले ३ वटा भरिएको अक्सिजन सिलिन्डर, नाङसाल एसोसिएशनले १० वटा बेड, ५ वटा अक्सिजन ग्याँस, एभरेष्ट कम्पनीबाट १०वटा अक्सिजन ब्याग, २ वटा ठुलो र ३ वटा सानो अक्सिजन ग्यास, अक्सिमिटर २ थान र २००वटा मास्क, नेपाली कांग्रेसका युवा नेता गणेश लामाले नगद १५ हजार रुपैयाँ र २ थान अक्सिजन ग्यास, नेपाली कांग्रेस युवा नेता तिर्थ पसखलाले १० केजीको अक्सिजन ग्याँस, साविक मिल्चे गाविसका पुर्व उपाध्यक्ष लाल बहादुर थिङले १० हजार रुपैयाँ, निर्माण व्यवसायी हरि गौतमले खाद्यान्न, ज्वाला देवी प्राविका प्रअ लोक बहादुर स्याङतानले ५ हजार रुपैयाँ सहयोग गरेको थियो ।

जटिल विरामी बाहेक अन्य प्रकारको संक्रमितको उपचार गाउँमै हुनेभएपछि स्थानीय खुशी भएका छन् ।

Comments

comments