नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य सांसद गङ्गाबहादुर तामाङ बमध्वजले रोशी अस्थायी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । सांसद बमध्वजको पहलमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त उक्त सामग्री रोशी गाउँपालिकाद्वारा सञ्चालित उक्त अस्पतालका अध्यक्ष गणेश लामालाई आज हस्तान्तरण गरेका हुन् ।

यस अघि चौंरीदेउराली गाउँपालिकाद्वारा सञ्चालित धुसेनी शिवालय प्राथमिक अस्पताललाई पनि बमध्वजले स्वास्थ्य मन्त्रालयबाट विभिन्न स्वास्थ्य सामग्री लिएर पुगेका थिए ।
आफ्नो निर्वाचन क्षेत्रभरिका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने योजनाका साथ लागेका उनले रोशी गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू लगेका हुन् ।

उक्त अस्पतालमा अक्सिजन सहितको ३ वटा सिलिन्डर, एन ९५ मास्क २०० थान, पिपिई ११० थान, सर्जिकल मास्क २००० थान, गम बुट १० जोर, फेस सिल्ड १००, पन्जा १५० जोर, अक्सिमिटर, एन्टीजेन किट, अक्सिजन कन्सेन्ट्रेटर १ थान, थर्मल गन लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

यसैबिच नेकपा माओवादी केन्द्रले पनि विभिन्न स्वास्थ्य सामग्रीहरू अस्पताललाई हस्तान्तरण गरिएको छ । आज हस्तान्तरण गरिएको सामग्रीहरूमा एन्टीजेन किट ५० थान, ग्लोभ्स २ सय थान, थर्मल गन २ थान, अक्सिमिटर ८ थान, पिपिई ८ थान, सेनिटाइजर १ लिटर रहेको छ ।
सामग्री हस्तान्तरण गर्दै सांसद बमध्वजले कोरोना विरुद्धको अभियानमा रोशीका जनतासँग आफू पनि रहेको बताउन स्वास्थ्य सामग्री लिएर आएको बताए ।
त्यसै गरी यस्तो महामारीमा रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री लिएर आएकोमा अस्पतालका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता समेत रहेका गणेश लामाले धन्यवाद दिएका थिए ।

हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य मिमबहादुर वाइबा ज्वाला, जिल्ला सचिवालय सदस्य दैवलाल घिसिङ, जिल्ला सदस्य मानवीर वाइबा, माओवादी केन्द्रका रोशी गाउँकमिटि कोषाध्यक्ष फुर्साङ मोक्तान, नेपाली काँग्रेसका जिल्ला सदस्य शंकरदास लामा राजु, अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य पदमबहादुर लामा, वडा अध्यक्ष श्रीदास लामा लगायतका सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















