काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित धुसेनी शिवालय प्राथमिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि उक्त रकम विनियोजन गरिएको हो ।

प्लान्ट निर्माणका लागि गाउँपालिकाले मात्र नसक्ने भएकोले प्लान्ट निर्माणका लागि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँवासीमा सहयोगको अपिल समेत गरेका छन् ।

गाउँवासीलाई सम्बोधन गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना उपचारको लागि प्राण वायु (अक्सिजन) अति नै आवश्यक रहने र महामारीको सङ्क्रमण तीव्र रूपले फैलँदा अक्सिजन प्राप्त गर्न असाध्यै कठिन भएको हाम्रो आफ्नै प्रत्यक्ष अनुभवले हामीले सञ्चालन गरेको अस्पतालको लागि अक्सिजन प्लान्ट नै राख्नु पर्ने अनिवार्य आवश्यकता ठहर गरेको हुँदा गाउँपालिकाले रु १०,००,०००। (अक्षेरुपी दश लाख मात्र) खातामा विनियोजन गरी जनस्तरबाट समेत सहयोग लिने र अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय समेत गरिसकेकोले देश विदेश र गाउँमै समेत रहेर विभिन्न पेसा व्यवसाय गरिरहनु हुने सहयोगी मनका दाजुभाइ, दिदीबहिनीहरू, शिक्षक, कर्मचारी, बुद्धिजीवी, निर्माण व्यवसायी, व्यापारी, उद्योगी लगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरू सबैबाट आ–आफ्नो क्षमता र हैसियत अनुसारको जे जति सकेको सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

यस अघि गाउँपालिकाका देश विदेशमा रहेका गाउँवासीसँग जुम मिटिङ गरी प्लान्ट स्थापना गर्न गाउँपालिका अध्यक्ष गौतमलाई सुझाव दिनुको साथै सक्दो सहयोग गर्ने बचन दिएका थिए ।

यस्तो छ गाउँपालिका अध्यक्ष गौतमले गाउँवासीको नाममा जारी विज्ञप्ति

चौंरीदेउराली गाउँपालिकावासी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
यति वेला सिङ्गो मानव जातिमाथि प्राणघातक कोभिड–१९ कोरोना महामारी संक्रमणले भीषण आक्रमण गरिरहेको छ । विश्व मानव जाति यो महामारीसँग निर्णायक लडाई लडी रहेको वर्तमान परिस्थितिमा हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यसबाट भागेर भाग्न पनि नसकिने र लुकेर पनि लुक्न नसकिने हुँदा सावधानी पूर्वक यसैसँग सङ्घर्ष गरी विजय हासिल गर्नुको विकल्प हामीसँग रहेन । यो निर्णायक सङ्घर्षमा जीत हासिल गर्नका लागि हामी सबैको एकताबद्ध साथ र सहयोग विना सम्भव छैन ।

अहिलेसम्म हामीले सकेसम्म हामीसँग भएका स्रोत र साधनको भ्याएसम्म अधिकतम प्रयोग र परिचालन गरी कोरोना रोकथाम नियन्त्रण र उपचार गरिरहेका छौँ र गरी रहने छौँ । हामीलाई देश विदेशबाट समेत दयालु मनकारी दाताहरूबाट आवश्यक स्वास्थ्य सामाग्रीहरू प्राप्त भइरहेका छन् र अझै प्राप्त हुने छन् भन्ने अपेक्षा पनि गरिरहेका छौँ ।

कोरोना उपचारको लागि प्राण वायु (अक्सिजन) अति नै आवश्यक रहने र महामारीको सङ्क्रमण तीव्र रूपले फैलँदा अक्सिजन प्राप्त गर्न असाध्यै कठिन भएको हाम्रो आफ्नै प्रत्यक्ष अनुभवले हामीले सञ्चालन गरेको अस्पतालको लागि अक्सिजन प्लान्ट नै राख्नु पर्ने अनिवार्य आवश्यकता ठहर गरेको हुँदा गाउँपालिकाले रु १०,००,०००। (अक्षेरुपी दश लाख मात्र) खातामा विनियोजन गरी जनस्तरबाट समेत सहयोग लिने र अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय समेत गरिसकेकोले देश विदेश र गाउँमै समेत रहेर विभिन्न पेसा व्यवसाय गरिरहनु हुने सहयोगी मनका दाजुभाइ, दिदीबहिनीहरू, शिक्षक, कर्मचारी, बुद्धिजीवी, निर्माण व्यवसायी, व्यापारी, उद्योगी लगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरू सबैबाट आ–आफ्नो क्षमता र हैसियत अनुसारको जे जति सकेको सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

तपाई हाम्रो सहयोगले हामी यो महामारीबाट तपाई हामी र हाम्रा दाजुभाइ तथा दिदीबहिनी, आमाबुबा, छोराछोरीको जीवन रक्षा गर्न सक्नेछौँ । इतिहासले तपाई हाम्रो मूल्याङ्कन गर्नेछ । गाउँपालिकाले निम्नअनुसारको सम्मान गर्नेछ । यसका लागि गाउँपालिकाको एनसीसी बैङ्कमा रहेको ग.५.१ स्थानीय तह विविध कोषको खाता नं. १४४०००००२६३०१ मा सहयोग रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।

सहयोग दाताहरूका लागी
१. रु. ५,०००। देखि २०,०००। सम्म सहयोग गर्ने दाताको नाम फ्ल्याक्स बोर्डमा प्रिन्ट गरी अस्पतालको भित्तामा राखिने छ ।

२. रु. २०,०००। देखि ५०,००० । सम्म सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखि अस्पतालको मूल गेटरप्लान्टको भवनको उपयुक्त भित्तामा राखिनेछ र प्रमाणपत्र प्रदान गरिनेछ ।

३. रु. ५०,०००। देखि १ लाखसम्म सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखि प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिनेछ ।

४. रु. १ लाख देखि ५ लाख माथि सहयोग प्रदान गर्ने दातालाई प्रमाणपत्र, शिलालेख, दोसल्ला र मायाको चिनोसहित सम्मान गरिनेछ ।

५. रु. ५ लाखदेखि माथि सहयोग प्रदान गर्नुहुनेलाई प्रमाणपत्र, शिलालेख, दोसल्ला र मायाको चिनो सहित इएम् कक्ष वा मेडिकल वार्डको मुख्य कक्ष वा प्रशासनिक कक्ष मध्ये मुख्य ठाउँमा फोटो राखी सम्मान गरिनेछ ।

  • यस अस्पतालमा उपचाररत रहँदा सहयोगी दाताहरुलाई अक्सिजन निःशुल्क उपलब्ध गराइने छ ।

  • रकम प्राप्त भएको जानकारी पाउन साथ गाउँपालिका वेभ साइड र फेसबुक पेजमा अपडेट गरी जानकारी दिइनेछ ।

दिननाथ गौतम
अध्यक्ष, चौंरीदेउराली गाउँपालिका

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।