–ईश्वर थोकर
१. त्यसपछि बूढोसँगै हामी दुई भाइपनि हाँस्न थाल्यौँ
केही वर्षअघि, कथाकार भानु बोखिम दाइलाई भेट्न कवि कमलराज केसी दाइ र म निस्केका थियौँ । भानु दाइले कानदेवतामा आएर भित्र पस्नु भन्नुभएको रहेछ ।
हामीलेचैँ, कामदेवता सुनेका थियौँ ।
कुपन्डोलनजिकै आइपुगेपछि कमलराज दाइले एक जना त्यहाँका स्थानीयलाई सोध्नुभयो, ‘यता कामदेवता कता पर्छ ?’
‘कामदेवता होइन क्या भाइ, कानदेवता !’ त्यो बूढो मरीमरी हाँस्यो र नेवारी लवाजमा बोल्यो, ‘कुरा बुझ न !’
त्यसपछि बूढोसँगै हामी दुई भाइपनि हाँस्न थाल्यौँ ।
२. उहाँको कविता पछि पत्रिकामा छापिएर आयो
माधव खतिवडा सर र म एउटै अफिसमा काम गथ्र्यौँ । शुरुमा मैले उहाँलाई मनोविद्को रुपमा चिनेँ । पछि कविको रुपमा चिनेँ ।
उहाँसित मैले एउटा पत्रिकाको लागि कविता मागेँ । उहाँले तुरुन्तै दिनुभयो ।
उहाँको कविता पछि पत्रिकामा छापिएर आयो ।
‘अक्कल सर ! पत्रिकामा त आधा कवितामात्रै प्रकाशित भएर आएको रहेछ ।’ पत्रिका पाउनसाथ उहाँले भन्नुभयो, ‘अर्को आधा कविता खै त ?’
यति भनेर उहाँ हाँस्नुभयो । मपनि हाँसेँ ।
गल्ती मेरै थियो ।
मेरै नाम ।
३. साथीहरुले धेरै कर गरेपछि भाग लिएँ
कविता प्रतियोगिता मेरो रुचिको विषय थिएन । साथीहरुले धेरै कर गरेपछि भाग लिएँ । प्रतियोगिता तामाङ स्रष्टा समाज, काठमाडौँले आयोजना गरेको थियो ।
प्रतियोगिता सकिसकेपछि तीनजना निर्णायकमध्ये एक भाषाविद् अमृत योञ्जन–तामाङ सुटुक्क मछेऊ आइपुग्नुभयो र मज्जाले भन्नुभयो, ‘ईश्वरजी ! तपाईँको कविता कत्ति छोटा, सुन्नै नपाई सकियो ।’
मैले पनि ठट्टा गरेँ, ‘अनि तपाईँहरु निर्णायकचैँ के कामको लागि बस्नुभएको त !’
००
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















