काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा निर्माण गर्न लागेको अक्सिजन प्लान्टको लागि सहयोग जुट्ने क्रम जारी छ । यसैबीच शुक्रबार प्लान्ट निर्माणको लागि चौंरीदेउराली-६ बोक्से निवासी युवा व्यवसायी रविन्द्र चौलागाईंले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
गाउँपालिकाद्वारा सञ्चालित धुसेनी शिवालय प्राथमिक अस्पतालमा निर्माण गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले यस अघि सहयोगको लागि गाउँबासीमा अपिल गरेका थिए । सोही अनुरुप हालसम्मकै सबैभन्दा बढी रकम चौंलागाईंले सहयोग गरेका हुन् ।
उक्त रकम बराबरको चेक विघटित प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ बमध्वजको उपस्थितिमा गाउँपालिका अध्यक्ष गौतमलाई व्यवसायी चौंलागाईंले हस्तान्तरण गरेका थिए ।
गाउँपालिकाको यो योजनामा सहयोग गरेकोमा चौंलागाईं प्रति आभार व्यक्त गर्दै गाउँपालिका अध्यक्ष गौतमले धन्यवाद समेत दिएका थिए ।
यस अघि प्लान्ट निर्माणका लागि कैलालीका गणेश तिमल्सिनाबाट ५ सय रुपैयाँ, चौंरीदेउराली-५, तुसारेका सुदीप गौतमबाट ५ हजार १ सय ११ रुपैयाँ, वडा नं. ५, रैकरका भिमसेन चौंलागाईंबाट ५ हजार, वडा नं. ५, विरुवाका बिनय बुढाथोकीबाट ५१ हनार ९ सय ९९ रुपैयाँ, वडा नं. ४, धुसेनीका अमृत गौतमबाट ५ हजार ५ सय ५५ रुपैयाँ, वडा नं. ४, धुसेनीका नारायण गौतमबाट रु. ५ हजार ६ सय ४०, वडा नं. ४ धुसेनीका बेदबहादुर गौतम सन्तोषबाट रु. ५ हजार ५ सय ५५, वडा नं. ५ का आरएच गौतमबाट २० हजार ९ सय ४४ सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिए ।
उनका अनुसार हालसम्मा गाउँबासीबाट ६ लाख ३ सय ४ रुपैयाँ रकम सहयोग भएको छ । सहयोग रकम उठ्ने क्रम जारी रहेको उनले बताए ।
यस अघि प्लान्ट निर्माणका लागि गाउँपालिकाले १० लाख रकम विनियोजन गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















