हेलम्बुमा रिपोर्टिङका लागि मेलम्ची पुगेका जन्मभूमि पोष्टका सन्चालक तथा पत्रकार प्रीतम गोले तामाङ माथि मेलम्चीमा आक्रमण गरेको छ । पत्रकार तामाङ माथि सोमबार मेलम्चीका केही अराजक व्यक्तिहरुबाट एक्कासि आक्रमण गरि क्यामेरामा समेत क्षति पुर्याएको छ ।
आक्रमणबाट उनको देब्रे खुट्टामा चोट पुगेको छ भनें क्यामेराको लेन्स क्षति भएको छ र ब्याट्री लगायत अन्य सामाग्री हराएको जनाएको छ ।
पहलमा हेलम्बु बाढि पीडितका लागि आवश्यक राहत लिएर गइरहेको बेला मेलम्ची बजार नपुग्दै बाटो अवरुद्ध भएको देखेपछि गाडीबाट निस्की के भएको होला भनेर भिड तर्फ जाने क्रममा सो भिडबाट एक युवक अराजक शैलीमा क्यामेरा खोसेर भुइँमा पछार्दै अन्यलाई पनि आक्रमण गराउन उत्तेजित पारेका थिए । करिब ५० जनाको जत्थाले आफुमाथि आक्रमण गरेपछि ड्युटीमा खटिएका प्रहरीले जोगाउँदै क्षति भएको क्यामेरा फिर्ता गराएको थियो ।
तामाङ प्रेस युनियन सिन्धुपाल्चोकका जिल्ला सदस्य समेत रहेको पत्रकार तामाङ माथि भएको आक्रमणको प्रेस यूनियन, सिन्धुपाल्चोकले विरोध गरेको छ । यूनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी माथि कडा कार्वाहीको समेत माग गरेको छ ।
वक्तव्यको पूर्णपाठ यस्तो छः
प्रेस विज्ञप्तिको पुर्ण पाठ ;
बाढीपहिरोका कारण अहिले सिन्धुपाल्चोकको तातोपानीदेखि हेलम्बुका बासिन्दा आक्रान्त छन् । विशेषगरी मेलम्चीदेखि हेलम्बुसम्म करिव १८ किमि क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिले हामी सवै चिन्तित छौं । यो प्राकृतिक विपत्तिले निम्त्याएको संकटले हामी ज्यादै अप्ठेरोमा छौं । संकट मत्थर नहु“दै सोमबार मेलम्चीका युवक धर्मराज दुलालको करेन्ट लागेर निधन भएको घटनाले अर्को पीडा थपिएको छ ।
प्राकृतिक विपत्ति र कतिपय दुर्घटना हाम्रो बहस बाहिरका विषय हुन् । यस्ता घटनाबाट उत्पन्न बिपत्तिको सामना गर्न सामूहिक हातोमालोको खा“चो हुन्छ । त्यसका लागि राज्यका निकायहरु, जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, सञ्चारमाध्यम, सामाजिक अगुवालगायतका समाजका सवै वर्गले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नु अपरिहार्य छ । संकटका बेला सञ्चारमाध्यमको सक्रियता, प्रभावकारिता र सूचनाको सही सम्प्रेषणले पीडितको बास्तविक अवस्थालाई उजागर गर्दछ । यस्तो अवस्थामा कानुन र आचारसंहिताले बन्देज गरेको बाहेक सञ्चारकर्मीलाई स्वतन्त्रपूर्वक काम गर्ने बातावरण तयार गर्नु सचेत नागरिकको कर्तव्य हो ।
हाम्रा सहमती, असहमती र पीडालाई राज्यसमक्ष पुर्याउने सशक्त माध्यम सञ्चारकर्मी नै हुन् । अहिले बाढीपहिरो क्षेत्रमा मुलुकभरका सञ्चारकर्मीको आँखा परेकाले नै राज्यका सवै निकायलाई पनि एक प्रकारको दबाब परेको छ । अहिले सञ्चारकर्मीहरु धरै प्रकारका समस्या भोग्दै बाढीपहिरो क्षेत्रमा खटिरहेका छन् । यसै सिलसिलामा जन्मभुमि पोष्टका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियन सिन्धुपाल्चोकका जिल्ला समिति सदस्य प्रितम गोलेमाथि सोमबार मेलम्चीमा दुर्व्यवहार भएको घटनाले हामीलाई गम्भिर बनाएको छ । गोलेले आफूलाई कुटपिट गरेको र क्यामेरा तोडफोड गरेको बताएका छन् । यस्ता घटनाले सञ्चारकर्मी हतोत्साही हुने मात्र होइन सही सूचना प्रबाहमा समेत अबरोध सिर्जना गर्दछ ।
सार्वजनिक स्थलमा भएका घटनाको सूचना संकलन गर्न पाउनु सञ्चारकर्मीलाई संविधानले दिएको अधिकार हो । कुन घटना समाचार हो, कुन होइन सञ्चारकर्मी आफैंले बुझ्ने विषय हो । तर सार्वजानिक स्थलमा भएका गतिविधिलाई लुकाउन खोज्दा तत्कालका लागि ठिक लागेपनि यो प्रवृत्तिको रुपमा विकास हुने खतरा रहन्छ । हो, पक्रकारले समाजको संवेदनशिलता र व्यत्तिगत पीडालाई सोही अनुसार बुझ्नुपर्छ । तर सूचना संकलन मै बन्देज लगाउने र हातपात गर्ने संस्कृतिको विकास गर्न खोज्नुलाई उचित भन्न सकिँदैन । तसर्थ गोलेमाथि भएको कुटपिट र सञ्चार साधनको तोडफोडको घटना छानबिनको माग गर्दछौं । बाढीपहिरोग्रस्त क्षेत्रको सूचना संकलन गर्न रातदिन खटिरहेका कुनै पनि सञ्चारकर्मीमाथि यस प्रकारको व्यवहार हुनु सञ्चारजगत असुरक्षित हुनु हो ।
डर, त्रास र सेल्फ–सेन्सरसीपको मनस्थितिमा सञ्चारकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् । तसर्थ गोलेमाथिको घटनाको वास्तविकता सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न र सञ्चारसाधन तोडफोडको क्षतिपूर्ति दिलाउन प्रेस युनियन स्थानीय प्रशासन सँग जोडदार माग गर्दछ । साथै यस्ता घटना दोहोरिन नदिने परिस्थिति बनाई बाढीग्रस्त क्षेत्रमा खटिएका सञ्चारकर्मीको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिन्छ ।
दुर्गा आचार्य
अध्यक्ष
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















