काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा रहेको अस्पतालको डाक्टर माथि नेपाली काँग्रेसका कार्यकर्ताद्वारा अभद्र व्यवहार गरेका छन् । धुसेनी शिवालय प्राथमिक अस्पतालका डाक्टर सञ्जय त्रिपाठी माथि चौंरीदेउराली गाउँपालिका वडा नं. ४, धुसेनी पुच्छरटोलका विक्रम गौतमका छोरा आफूलाई काँग्रेसको सक्रिय कार्यकर्ता बताउने विजय गौतमले अभद्र व्यवहार गरेका हुन् ।
गौतमले कोभिड–१९ का विरुद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी माथि यसरी अभद्र व्यवहार गर्दै राजीनामा दिन धम्क्याएपछि डा. त्रिपाठीले राजीनामा समेत दिएका छन् । राजीनामा दिन धम्की दिंदै गौतमले अस्पतालमा ढुंगामुडा गर्ने, अस्पताल नै भत्काईदिने, आगो लगाईदिने र डाक्टरको ज्यान लिने धम्की दिएका थिए ।
नाताले गौतमकी काकी पर्ने एकजना महिला विरामी भई सो अस्पतालमा आएको र डाक्टरले परिक्षण पछि लेखेको औषधिले उनकी काकी निको नभएको भन्दै धम्की दिएको एक स्वास्थ्यकर्मीले बताए । सो अस्पतालमा निको नभएपछि गौतमकी काकीलाई काठमाडौंको एक अस्पतालमा लगेको थियो । गाउँकै अस्पतालमा विशेक पार्ने औषधि नदिएको भन्दै गौतमले तथानाम गाली गर्दै ज्यान लिने धम्कि दिएको बताइएको छ ।
काठमाडैंका सुविधा सम्पन्न अस्पताल छोडेर गाउँमै आएर यो संकटको बेला आफूहरु ज्यानको पर्वाह नगरी कोभिड रोगको उच्च जोखिममा काम गरिरहेको बेला यसरी असुरक्षित हुने गरी धम्की आएपछि काम गर्ने वातावरण समेत नभएको एक स्वास्थ्यकर्मीको दुखेसो छ । ‘यस्तो महामारीको बेला हामी अग्रपंक्तिमा बसेर विरामीको उपचार गरिरहेका छौं । हाम्रो परिवारको चिन्ता भन्दा अस्पतालमा आउने विरामीको उपचार गर्नु पहिलो दायित्व सोचेर डिउटी गरिरहेका छौं ।’ उनले भने, ‘यसरी अस्पतालमा आएर धम्की दिएपछि हामीले असुरक्षित महासुस गरेका छौं । यस्तालाई कानूनी कार्वाही गर्नुपर्छ ।’
डा. त्रिपाठीले राजीनामा दिएपछि अस्पतालका अन्य स्वास्थ्यकर्मीहरु समेत राजीनामा दिन तयारीमा रहेको बुझिएको छ । ‘दिनरात नभनी हामी विरामीको सेवा गरिरहेका छौं । यसरी हामी नै असुरक्षित हुने अवस्था आएपछि राजीनामा दिनुको विकल्प रहेन ।’ एक स्वास्थ्यकर्मीले भने, ‘अब सम्बन्धित निकायको ध्यानाकर्षण होस् आवश्यक कार्वाही गरी सुरक्षाको प्रत्याभूति भएन भने हामी सबैको राजीनामा चाँडै आउँछ ।’
यस अघि पनि नेपाली काँग्रेसको नेतृत्व गर्दै काँग्रेसका पराजीत गाउँपालिकाका अध्यक्ष पदको उम्मेदवार विक्रम गौतमको नेतृत्वमा अस्पताललाई स्वास्थ्य सामग्री दिन जाँदा कमल तामाङ लगायतको काँग्रेसको अराजक कार्यकर्ताहरुद्वारा डाक्टर र स्वास्थ्यकर्मीहरुलाई हप्काउने, धम्क्याउने, मार्छौं, कुट्छौं भनि झडप गर्ने कोशिस गरेका थिए ।
यता यसरी धम्की सहन नसकेपछि राजीनामा दिएको डा. त्रिपाठीको राजीनामा गाउँपालिकाले स्वीकृत नगरेको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए ।
स्वास्थ्यकर्मी र डाक्टर माथि हातपात गरेपछि विरामीहरुको उपचारमा बाधा पुगेको छ ।
यसैबीच डा. त्रिपाठीले लेखेको औषधि खरिद गर्ने स्थानीय मेडिकलवालालाई समेत उनले धम्की दिएका छन् । ‘त्यो डाक्टरले लेखेको गलत औषधि किन दिएको’ भन्दै मार्ने, कुट्ने र मेडिकल समेत लगाईदिने धम्की दिएपछि आफ्नो मेडिकल नै बन्द गरी औषधि समेत लिएर अन्तै गएका छन् ।
अस्पतालको नजिकै अहिले औषधि पसल छैनन् । अहिले डाक्टरले लेखेको औषधि लिन ४ किलोमिटर टाढा रहेको कात्तिके देउरालीमा पुग्नुपर्छ र त्यहाँ पनि नभए बनेपा धुलिखेल पुग्नु पर्ने बाध्यता सिर्जना भएको छ ।
‘यो त अति नै भयो’ भन्दै औषधि किन्न आउनेहरुले गुनासो गर्न थालेका छन् ।
दुर्गममा डाक्टरको अभावमा उपचार नपाएर विरामीको ज्यान समेत गइरहेको बेला यसरी स्वास्थ्यकर्मी माथिको अभद्र व्यवहारले स्वास्थ्य क्षेत्रमा झन जटिलता थपिएको छ ।
कोभिड–१९सँग सिंगो गाउँपालिका लडिरहेको बेला स्वास्थ्यकर्मी माथि यसरी अभद्र व्यवहार हुनु राम्रो नभएको स्थानीयले बताएका छन् । गाउँबासीको उपचारमा खटेका स्वास्थ्यकर्मी माथि नै दुरव्यवहार गरी राजनीनामा दिन बाध्य बनाएपछि स्थानीय चिन्तित भएका छन् ।
नेपाल सरकारले हालै अध्यादेश मार्फत ल्याएको विधेयक अनुसार स्वास्थ्यकर्मी माथि अभद्र व्यबहार गर्नेलाई कार्वाही हुने प्राब्धन राखेको छ । अब स्वास्थ्यकर्मीलाई यसरी अभद्र व्यवहार गर्नेहरुलाई स्थानीय सरकार तथा सम्बन्धित निकायले के कस्तो कार्वाही गर्ने हुन हेर्न बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















