काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको नवौं गाउँसभा पुनः स्थगित गरिएको छ । असार १० गते शुभारम्भ गरेको भनिएको गाउँसभा सो दिनमा कोरम नपुगेको भनेर स्थगित गरि आज (आइतबार)को लागि तोकिएको थियो ।

बहुमत कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुलाई पेलेरै अगाडी बढ्ने रणनीति बनाएका गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले दोस्रो पटक पनि कोरम नपुगेको भन्दै गाउँसभा स्थगित गरेको छ । गाउँसभाबाटैै लोकतान्त्रिक विधिबाट अध्यक्ष तामाङको ‘तानाशाही’ प्रबृत्तिको सामना गर्ने योजनाका साथ बहुमत कार्यपालिका सदस्यहरु र गाउँसभा सदस्यहरु सभा हल तर्फ जाँदै थिए । तर हल तर्फ आउँदै गरेको संकेत पाउनसाथ कार्यक्रम शुरु भएको १५ मिनेट हुनै लाग्दा गाउँसभा स्थगित भएको घोषणा गरी अध्यक्ष तामाङले तत्काल कार्यक्रमबाट बाहिरिएका थिए ।

हतार–हतार गाउँसभा स्थगित गरेर बाहिरीएका तामाङलाई हेरेर उनको विपक्षमा रहेको सदस्यहरु एकछिन त ट्वाल्लै परे । ‘अब के गर्ने त’ भनि छलफल गर्न लागेको कुरा अध्यक्ष तामाङले सुईको पाउन साथ गाउँपालिका नै छोडेर हिंडेका थिए । त्यति मात्र होइन, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुंकेलसमेत काठमाडौं तर्फ लागेका थिए ।

बहुमतको निवेदन दर्ता नै भएन

यसैबीच कोरम नपुगेको भन्दै गाउँसभा नै स्थगित गरी पेल्ने दाउमा रहेको गाउँपालिका अध्यक्ष तामाङलाई सम्बोधन गरी बहुमत सदस्यहरुले दिएको निवेदन कर्मचारीले दर्ता गर्नै मानेनन् । दर्ता गर्नै नमानेपछि अध्यक्ष तामाङलाई फोन गरी दर्ता गर्न अनुरोध गर्दा ‘दर्ता गर्नु पर्दैन म आफै भोली वडा अध्यक्षज्यूलाई छलफल गर्न बोलाउँछु’ भन्ने जवाफ दिएका थिए ।

२७ जनाले दिए यस्तो चेतावनी

नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित २७ जना जनप्रतिनिधिहरुले गाउँपालिका अध्यक्ष तामाङलाई प्रजातान्त्रिक विधि मार्फत नीति तथा कार्यक्रम र बजेटको बारेमा घनिभूत छलफल गर्नको लागि पहल गर्न अनुरोध गरेका छन् । आफूहरुको अनुरोधलाई बेवास्त गरे त्यसबाट उत्पन्न हुने सम्पूर्ण कार्यको जिम्मेवारी स्वयम गाउँपालिका हुने चेतावनी समेत उनीहरुले दिएका छन् । उनीहरुले सहमतिको लागि कार्यपालिकाको बैठक तुरुन्त बोलाउन समेत अध्यक्ष तामाङलाई अनुरोध गरेका छन् ।

‘विगत निर्वाचनबाट निर्वाचित हामी सदस्यहरुको छलफल, सहकार्य र सहमतिको आधारमा तेमाल गाउँको विकास र समृद्धिको दिसामा अगाडी बढेको सबैलाई जानकारी नै छ । तर विगतमा गरिएको सहमति र सहकार्यको महत्वपूर्ण अभ्यास विपरित बहुमत सदस्यहरुको सल्लाह र सुझावलाई समेत बेवास्त गरेको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उप–दफा १ बमोजिम अगाडि आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराउनुपर्ने प्रावधान विपरित कार्यपालिकाबाट स्वीकृत नगराई नवौं गाउँसभामा मिति २०७८÷०३÷१० मा सोझै पेश गरेको र अध्यक्षको एकलौटी र मनोमानी ढंगले विगतका गाउँसभामा गरिएको प्रजातान्त्रिक अभ्यासहरुलाई समेत बेवास्त गर्दै नवौं गाउँसभामा प्रस्तुन गर्ने दुरासयपूर्ण कदमको कारणले हामी तपशिलमा उल्लेखित बहुमत सदस्यहरुले असहमति जनाई उपस्थित नभएको जानकारी गराउँदछौं ।’ अध्यक्षलाई सम्बोधन गर्दै २७ जना गाउँसभा सदस्यहरुले दिएको निवेदनमा भनिएको छ, ‘साथै मिति २०७८÷०३÷१३ गतेको लागि तोकिएको गाउँसभामा हामी सम्पूर्ण सदस्यहरु उपस्थित सभाहलमा प्रवेश गर्ने क्रममा गाउँसभा स्थगित गरेको घोषणा गर्दै प्रत्येक सदस्यहरुलाई मिति २०७८÷०३÷१५ गतेको गाउँसभा पुनः चिठीमा उपस्थितको जानकारी गराएको हुनाले सभामा उपस्थित हुन नपाएको र मिति २०७८÷०३÷१५ गतेको गाउँसभा अगाबै सहमति र सहकार्यका लागि गाउँ कार्यपालिका बैठक बोलाउन र प्रजातान्त्रिक विधि, मार्फत नीति तथा कार्यक्रम लगायत महत्वपूर्ण विषयहरुमा घनिभूत छलफलका लागि अनुरोध गर्दै विकास समृद्धि नेपाल निर्माण पूनः सहकार्य गर्दै अघि बढ्न अनुरोध गर्दछौं । साथै तेमालको विकास र समृद्धिका लागि पहल नगरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण कार्यको जिम्मेवारी स्वयम गाउँपालिका हुने व्यहोरा अनुरोध गर्दछौं ।’

अल्पमतमा रहेको अध्यक्ष तामाङले किन पेल्दै छ ?

कार्यपालिकामा समेत कुनै छलफल नै नगरी सिधै नीति तथा कार्यक्रम पास गरी आफू खुशी बजेट विनियोजन गरी चुनावी अभियान शुरु गर्न लागेको अध्यक्ष तामाङले बहुमत सदस्यहरुलाई पेलेरै लाग्ने रणनीति बनाएको छ । तेमाल गाउँपालिकाको विकास र समृद्धिको कुरा भन्दा पनि आफ्नै पार्टीका केही नेताहरुको उक्साहटमा यसरी अलोकतान्त्रिक तरिकाले उनी लागेका छन् ।
कार्यकालको अन्तिम आर्थिक वर्षको बजेटलाई कार्यकर्ता मुखी बनाउन खोज्नु दुखत भएको वडा अध्यक्षहरुले बताउँदै अध्यक्षले सबै विधि र प्रक्रिया मिचेको बताएका छन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ लाई बेवास्त गर्दै अध्यक्ष तामाङ तानाशाही ढंगले अघि बढेको उनीहरुको आरोप छ ।

अखिर के छ त धारा ७१ मा ?

७१. बजेट पेश र पारित गर्ने:
(१) उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार दश गतेभित्र सभामा पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको वार्षिक राजश्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको अन्तिम सम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आर्विक वर्षको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण खुलाउनु पर्नेछ ।
(३) सभाले उपदफा (१) बमोजिम पेश भएको बजेटमाथि कार्यतालिका बनाई पन्ध्र दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नु पर्नेछ ।

(९) उपदफा (३) बमोजिम छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम सुझाब सहित प्राप्त भएको बजेट उपर कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नु पर्ने नदेखिएमा कारण सहित सभामा पाँच दिनभित्र पुनः पेश गर्नु पर्नेछ ।

(६) सभाले उपदफा (१) वा (५) बमोजिम पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नु पर्नेछ ।

(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो निर्वाचनबाट गठन भएको गाउँपालिका तथा नगरपालिकाका पदाधिकारीले पद बहाली गरेको दुई महिनाभित्र बजेट पेश गर्न र पारित गर्न बाधा परेको मानिने छैन ।

(८) पूरक अनुमान तथा बजेट सम्बन्धी अन्य व्यवस्था स्थानीय कानून बमोजिम हुनेछ ।

गाउँपालिका अध्यक्ष तामाङलाई सम्बोधन गरेर लेखिएको पत्रमा के छ ?

श्री अध्यक्ष ज्यू
तेमाल गाउँपालिका
पोखरी नागारयणस्थान–५, काभ्रे ।

विषयः सहमतिको लागि बैठक बोलाउने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा विगत निर्वाचनबाट निर्वाचित हामी सदस्यहरुको छलफल, सहकार्य र सहमतिको आधारमा तेमाल गाउँको विकास र समृद्धिको दिसामा अगाडी बढेको सबैलाई जानकारी नै छ । तर विगतमा गरिएको सहमति र सहकार्यको महत्वपूर्ण अभ्यास विपरित बहुमत सदस्यहरुको सल्लाह र सुझावलाई समेत बेवास्त गरेको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उप–दफा १ बमोजिम अगाडि आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराउनुपर्ने प्रावधान विपरित कार्यपालिकाबाट स्वीकृत नगराई नवौं गाउँसभामा मिति २०७८/०३/१० मा सोझै पेश गरेको र अध्यक्षको एकलौटी र मनोमानी ढंगले विगतका गाउँसभामा गरिएको प्रजातान्त्रिक अभ्यासहरुलाई समेत बेवास्त गर्दै नवौं गाउँसभामा प्रस्तुन गर्ने दुरासयपूर्ण कदमको कारणले हामी तपशिलमा उल्लेखित बहुमत सदस्यहरुले असहमति जनाई उपस्थित नभएको जानकारी गराउँदछौं । साथै मिति २०७८/०३/१३ गतेको लागि तोकिएको गाउँसभामा हामी सम्पूर्ण सदस्यहरु उपस्थित सभाहलमा प्रवेश गर्ने क्रममा गाउँसभा स्थगित गरेको घोषणा गर्दै प्रत्येक सदस्यहरुलाई मिति २०७८/०३/१५ गतेको गाउँसभा पुनः चिठीमा उपस्थितको जानकारी गराएको हुनाले सभामा उपस्थित हुन नपाएको र मिति २०७८/०३/१५ गतेको गाउँसभा अगाबै सहमति र सहकार्यका लागि गाउँ कार्यपालिका बैठक बोलाउन र प्रजातान्त्रिक विधि, मार्फत नीति तथा कार्यक्रम लगायत महत्वपूर्ण विषयहरुमा घनिभूत छलफलका लागि अनुरोध गर्दै विकास समृद्धि नेपाल निर्माण पूनः सहकार्य गर्दै अघि बढ्न अनुरोध गर्दछौं । साथै तेमालको विकास र समृद्धिका लागि पहल नगरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण कार्यको जिम्मेवारी स्वयम गाउँपालिका हुने व्यहोरा अनुरोध गर्दछौं ।

तपशिलमा उल्लेखित सदस्यहरुः
१. लक्ष्मीबहादुर घिसिङ वडा अध्यक्ष वडा नं. ८
२. मानबहादुर श्रेष्ठ वडा अध्यक्ष वडा नं. १
३. तिमाल सिं तामाङ वडा अध्यक्ष वडा नं. २
४. चन्द्रबहादुर लामा वडा अध्यक्ष वडा नं. ९
५. सरस्वती मैनाली गाउँ कार्यपालिका सदस्य
६. पार्वती श्रेष्ठ गाउँ कार्यपालिका सदस्य
७. पासुङ लामा गाउँ कार्यपालिका सदस्य
८. नानुमाया तामाङ गाउँ कार्यपालिका सदस्य
९. तुलाबहादुर रिजाल गाउँ कार्यपालिका सदस्य
१०. भोजबहादुर सुनार गाउँ कार्यपालिका सदस्य
११. धनबहादुर रानामगर वडा सदस्य वडा नं. १
१२. मानध्वज तामाङ वडा सदस्य वडा नं. १
१३ कमला विक वडा सदस्य वडा नं. १
१४. प्रताव सिं तामाङ वडा सदस्य वडा नं. २
१५. डिल्लीमान तामाङ वडा सदस्य वडा नं. २
१६. विना परियार वडा सदस्य वडा नं. २
१७. कान्छा लामा वडा सदस्य वडा नं. ९
१८. टेकबहादुर थोकर वडा सदस्य वडा नं. ९
१९. रस्मिता भण्डारी वडा सदस्य वडा नं. ९
२०. सुन्तली विक वडा सदस्य वडा नं. ९
२१. अजय कुमार तामाङ वडा सदस्य वडा नं. ८
२२. देवकी मैनाली वडा सदस्य वडा नं. ८
२३. ललिता विक वडा सदस्य वडा नं. ८
२४. जनक रायमाझी वडा सदस्य वडा नं. ८
२५. चन्द्रध्वज तामाङ वडा सदस्य वडा नं. ३
२६. ङेमा लामा वडा सदस्य वडा नं. ४
२७. दिपा घतानी वडा सदस्य वडा नं. ४

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।