काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको नवौं गाउँसभा आज राती ८:३० बजे सम्पन्न भएको घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष सलामसिं तामाङले राती ८:३० बजे आफू पक्षिय १२ जना सदस्यहरुको सहभागीतामा गाउँसभा सम्पन्न भएको घोषणा गरेका हुन् ।
गाउँसभा घोषणा भएको तस्बीरमा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, ७ नं. वडा अध्यक्ष ज्ञानबहादुर तामाङ, ६ नं. वडा अध्यक्ष विकुलाल तामाङ, ३ नं. वडा अध्यक्ष बिष्णुबहादुर तामाङ र ७ जना वडा सदस्यहरुको मात्र सहभागी देखिन्छ । पहिलो र दोस्रो पटक कोरम नपुगेको भन्दै तेस्रो पटक आव्हान गरेको गाउँसभामा बहुमत सदस्यहरुले सभा हलमा प्रवेश गर्न नदिएपछि बहुमत पक्षिय टोली सभास्थलबाट हिंडेको मौका छोपेर राती ८:३० बजे सम्पन्न भएको घोषणा गरेका थिए ।

गाउँपालिका अध्यक्ष तामाङले कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेट स्वीकृत नगरीकन सिधै गाउँसभामा प्रस्तुत गर्न खोजेको भन्दै बहुमत सदस्यहरुले विरोध गर्दै असार १० गते तोकिएको गाउँसभा बहिस्कार गरेका थिए । बहुमत सदस्यहरुले बहिष्कार गरेपछि कोरम नपुगेको भन्दै असार १३ गतेको लागि गाउँसभा तोकिएको थियो । उक्त दिन बहुमत पक्षिय सदस्यहरु गाउँसभामा सहभागी हुन सभाहलको गेटमै पुगेको बेला फेरी कोरम नपुगेको भन्दै सूचना जारी गरेर अध्यक्ष तामाङ समूह सभाहलबाट बाहिरिएका थिए ।

१५ गते (आज) लाई तोकिएको गाउँसभामा बहुमत सदस्यहरुले विधि र प्रक्रिया मिचेर गाउँसभा गर्न पाउँदैन भन्दै सभा हलमा छिर्न नदिएपछि सहमतिको लागि भन्दै गाउँपालिका कार्यालयको प्रांगनमा खुल्ला रुपमा कार्यपालिकाको बैठक बसेका थिए । बेलुका ६ः३० बजेसम्म बसेको कार्यपालिकाको बैठकबाट निचोट ननिस्केपछि बैठक स्थलबाट सबै बाहिरीएका थिए ।

बेलुका ७ः३० बजेसम्म गाउँपालिका केन्द्रमा रहेका बहुमत सदस्यहरु फर्केपछि अध्यक्ष तामाङ पक्षका १२ जन सदस्यहरुले व्यानरको अगाडि बसेर तस्वीर खिच्दै गाउँसभा सम्पन्न भएको घोषणा गरेका थिए ।
राती ८ बजे किन गरे सम्पन्नको घोषणा ?
वागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधिको आधारमा गाउँसभा सम्पन्न गरेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले तर्क गरेका छन् । सो कार्यविधि अनुसार पहिलो र दोस्रो पटकसम्म गाउँसभाको कोरम नपुगेमा तेस्रो पटकमा सदस्य संख्याको एक चौथाईले पनि गाउँसभा गर्न सक्ने प्रावधन रहेको छ । तर स्थानीय सरकार सञ्चालन ऐन २०७४ र राष्ट्रिय योजना आयोगले जारी गरेको योजना तर्जुमा दिग्दर्शनले निर्दिष्ट गरेको कुराहरुको पालना नै नगरी बलमिच्चाई ढंगले गाउँसभा सम्पन्न गरेको प्रष्ट देखिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन–०७४ र राष्ट्रिय योजना आयोगले जारी गरेको योजना तर्जुमा दिग्दर्शनको मर्म अनुसार गाउँसभाको आयोजना नगरेकोले सोही अनुसार गर्न गाउँसभाका बहुमत सदस्यहरुले माग गर्दै आएका थिए ।
विषयगत समितिहरुको बैठक नबसेको, नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाको बैठकमा पेश भइ स्वीकृत गर्नुपर्ने नीतिगत कुरालाई अध्यक्ष तामाङले बेवास्त गर्दै सिधै गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्न लागे पछि बहुमत सदस्यहरु अध्यक्ष तामाङको निरंकुश शैलीको विरुद्ध लागेको बताएका छन् । ‘गाउँसभाको विरुद्ध हामी लागेका होइनौं, ऐन कानूनले गरेको व्यवस्थालाई पालना गर्नुपर्ने हाम्रो माग थियो ।’ एक वडा अध्यक्षले भने, ‘न त विषयगत समितिको बैठक बसियो, नत बजेट तर्जुमा समितिको बैठक बसियो, नत कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेट नै पेश भयो, सिधैं गाउँसभामा लाने योजना अध्यक्षज्यूको रहेछ । यस्तो अलोकतान्त्रिक र निरंकुशताको विरुद्धमा हामी लागेका हौं ।’

सभाहलको गेटमा कार्यपालिकाको निर्णय मागेपछि
नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकले स्वीकृत गरी गाउँसभामा पेश हुनुपर्नेमा किन जवर्जस्ती गरेको भनी सभाहलमा छिर्न लागेको अध्यक्ष तामाङलाई बहुमत सदस्यहरुले प्रश्न गरेका थिए । अध्यक्ष तामाङले कार्यपालिकाले निर्णय गरिसकेको जवाफ दिएपछि बहुमत सदस्यहरुले ‘कुन कार्यपालिकाको बैठकको निर्णय गरेको हो तुरुन्त उपलब्ध गराउन’ अनुरोध गरेका थिए ।
तर गाउँपालिका अध्यक्ष तामाङले ‘निर्णय छ, छ’ मात्र भनेर टरेका थिए ।
नाटकीय ढंगले हलबाट व्यानर निकाले पछि
यसैबीच सभाहलबाट गोप्य ढंगले गाउँसभाको व्यानर निकालेर अन्यत्रै लान गाउँपालिका उपाध्यक्ष दुुर्गामाया तामाङले एक महिला कर्मचारीलाई आदेश दिएका थिए । आदेश पालना गर्ने क्रममा महिला कर्मचारीले ब्यानर झ्यालबाट बाहिर फ्याँकेपछि बहुमत पक्षका सदस्यहले कब्जामा लिएका थिए ।
गाउँपालिका अध्यक्ष तामाङ र वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले नाटक रचेका थिए । बहुमत पक्षका सदस्यहरुले व्यानर हातमा लिएपछि वडा अध्यक्ष तामाङ र गाउँपालिका अध्यक्ष तामाङले ‘त्यो ब्यानर किन निकालेर ल्याएको ?’ भनी उल्टै हप्काएका थिए । उक्त व्यानर २ नं. वडा अध्यक्ष तिमालसिं तामाङको हातमा थियो ।
भनाभन भएपछि ७ नं. वडा अध्यक्ष तामाङले आफूले नै व्यानर निकालेको हो भन्दै गाउँपालिका कार्यलयको गेट तर्फ हिंडेका थिए ।

कार्यपालिका बैठकको नाटक
कार्यपालिकाको बैठक बसी विधि र प्रक्रियामा जाने माग राखेका बहमुत सदस्यहरुको माग सम्बोधन गरेको नाटक गाउँपालिका अध्यक्ष तामाङले गरेका थिए । खुल्ला चौरमा गाउँकार्यपालिका बैठक हुनै नसक्ने र उक्त बसाईलाई बैठक मान्न नसकिने प्रतिक्रिया दिएपछि बैठककै रुपमा लिन अध्यक्ष तामाङले अनुरोध गरेका थिए ।
खुल्ला रुपमा छलफल भएको उक्त बैठकमा कार्यपालिकाको बैठममा नीति तथा कार्यक्रम र बजेट पेश गर्न बहमुत पक्षका कार्यपालिका सदस्यहरुले अनुरोध गरेका थिए । त्यसपछि अध्यक्ष पक्षका ७ जना कार्यपालिकाका सदस्यहले बनाएको बजेटको सिलिङ देखाएका थिए । त्यसपछि बहमुत पक्षले उक्त सिलीङलाई अस्वीकार गरेपनि त्यसैलाई आधार बनाएर छलफलमा बसेका थिए ।

४ करोड ८ लाखमा सहमति अड्केको थियो
४ करोड ८ लाख रुपैयाँ बजेट गाउँपालिका स्तरीय योजनाको लागि राखिएको सिलिङमा देखेपछि बहुमत कार्यपालिका सदस्यहरुले विरोध गरेका थिए । ‘कहाँ–कहाँ, के केमा खर्च गर्नेगरी यो बजेट राखेको हो, प्रष्ट हुनुपर्छ’ भनी कार्यपालिका सदस्यहरुले माग गरेपछि अध्यक्ष तामाङले आफू खुशी विनियोजन गर्ने जवाफ दिएका थिए ।
त्यसपछि ‘प्रष्ट नभई यस्तो बजेट १ रुपैयाँ पनि राख्न नहुने’ तर्क बहुमत पक्षले पेश गरेपछि १ करोडसम्म छोड्न सकिने जवाव उनले दिएपनि सहमति जुट्न नसकेपछि सबै उठेर हिंडेका थिए ।
गाउँपालिकाको नयाँ भवनमा रातभर ४ करोड ८ लाख विनियोजन
आफूले खर्च गर्न मिल्ने गरी राखिएको ४ करोड ८ लाख रुपैयाँ बजेट र अन्य बजेट गाउँपालिका अध्यक्षले गाउँपालिकाको नयाँ भवनमा हिजो रातभर बसेर तयार गरेको खुलासा भएको छ । करिब ७८ वटा बनाएको योजनामा ५० हजार रुपैयाँसम्मको बजेट व्यवस्था गरेको एक कर्मचारीले बताए ।
गाउँपालिका स्तरीय योजना ५० हजारसम्मको भएको थाहा पाएपछि वडा अध्यक्षहरु आक्रोश भएको थियो । ‘गाउँपालिका स्तरीय योजना त रणनीतिक महत्वका योजनाहरु होलान भनेको त, हामीले तयारी अवस्थामा राखिएको योजना तर्जुमामा समेटेको योजनाहरु नै रहेछ । उहाँहरुले हामीलाई नदेखाए पनि कुनै न कुनै माध्यमबाट यो बाहिर आएको छ ।’ एक वडा अध्यक्षले भने, ‘गाउँपालिका स्तरीय योजनाको लागि बजेट त ५० लाख भन्दा माथि पो हुनुपर्छ त । ५० हजार रुपैयाँ बजेट व्यवस्था गरेर गाउँपालिकाकै खिल्ली उडाउने काम भएको छ ।’
एक कर्मचारीका अनुसार अध्यक्ष र उपाध्यक्ष आफै नयाँ भवनमा बसेर उक्त योजना अनुसारको बजेट व्यवस्था गरेका थिए । वडा स्तरीय योजना संकलन तथा तर्जुमा गर्ने जिम्मा वडा समितिमा रहेको र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले यसरी योजना संकलन र तर्जुमा गर्नु विधि विपरीत रहेको वडा अध्यक्षहरुले बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















