काभ्रे जिल्लामा कोभिड–१९ संक्रमणदरमा पछिल्लो पटक निक्कै घटेको छ । मृत्युदर त शुन्यमै झरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेमा जिल्लामा करिब आठ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने १ सय २० सङ्क्रमितको मृत्यु भएको छ ।

चार दिनदेखि जिल्लामा कोरोना संक्रमणबाट मृत्युको घटना भएको छैन । असार महिना लागेपछि नगन्य मात्रामा कोरोना संक्रमणबाट मृत्युको घटना भएका छन् । पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण घट्दै जानु र संक्रतलाई स्वास्थ्य संस्थाबाट पर्याप्त स्वास्थ्योपचार पाउनुले मृत्युको संख्या शून्यतामा झरेको बताइन्छ । दैनिक संक्रमणको संख्या पनि ४० को हाराहारीमा छ भने संक्रमणमुक्त हुनेको संख्या करिब १०० हुने गरेको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को दैनिक तथ्यांकमा उल्लेख छ ।

गत वर्ष भने कोरोना संक्रमणबाट जिल्लाका ४५ को मृत्यु भएको थियो । कोरोना संक्रमणबाट हालसम्म काभ्रेमा १६५ को मृत्यु भएको छ । केन्द्रका अनुसार जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ६५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लाका ११ हजार ६४ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये तीन हजार गत वर्षका सङ्क्रमित हुन् भने करिब आठ हजार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताका हुन् ।

गत वर्षभन्दा बितेका तीन महिनामा अढाई सय बढी संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत संक्रमित वृद्धि भएका हुन् । तथ्यांकनुसार हालसम्मका कुल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात १० हजार ५०६ संक्रमणमुक्त भइसकेका छन् ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै संख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले जनाएको छ ।

‘संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो ।’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट ट्रसिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र शिलसमेत गर्नु परेको थियो । पछिल्ला केही दिनदेखि संक्रमणदर घट्दै गएपछि जिल्लाभर हाल काभ्रे प्रशासनको जोरबिजोर यातायात सञ्चालनसँगै ‘खुकुलो निषेधाज्ञा’ मात्रै लागू भएको छ।

कुन पालिकामा कति सक्रिय संक्रमित ?

यसैबीच काभे्रपलाञ्चोकमा हाल ३९३ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा १०७, धुलिखेलमा ५६, पनौतीमा ५१, पाँचखालमा ४९, नमोबुद्धमा १७, मण्डनदेउपुरमा ११ तथा रोशी गाउँपालिकामा ७, चौँरीदेउरालीमा ११, तेमालमा ६, भुम्लु २०, खानीखोलामा २०, बेथानचोकमा २४ र महाभारत गाउँपालिकामा १४ रहेका केन्द्रले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।