जिल्ला प्रशासन कार्यालय, काभ्रेले १० दिनकाे लागि निषेधाज्ञाको समयावधि थप गरेपनि सबै सवारी साधन भने चल्न दिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आजपुनः निषेधाज्ञा थप गरिएको एक आदेश जारी गर्दै जिल्ला भर भाेलिदेखि विहान ६ बजेदेखि साँझ ७ बजेसम्म सबै सवारी साधन सञ्चालन गर्ने जनाएको छ ।

‘सार्वजनिक सवारी साधनका हकमा जिल्लाभित्र सञ्चालन हुने सवारी साधनहरु बनेपा केन्द्रविन्दु भई कुल सीट क्षमता भन्दा बढी संख्या यात्रुहरु नराख्ने गरी बिहान ६ बजेबाट साँझ ७ बजेसम्म सञ्चालन गर्ने । जिल्लाभित्र सञ्चालन हुने सबै सवारी साधनहरुमा चालक, सहचालक तथा यात्रुहरुले निर्धारित जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने ।’ आदेशमा उल्लेख छ ।

यसैबीच विभिन्न पसलहरुलाई समेत खुल्ने समयको निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा जारी आदेशमा भनिभएको छ, ‘खाद्यान्न, दुध डेरी, मासु, तरकारी, फलफुल पसल, किराना पसल, खानेपानी, ग्याँस पसलहरु, पुजा सामग्री पसल, स्टेशनरी।पुस्तक पसलहरु, प्रिन्टिङ प्रेसहरु, डिपार्टमेन्टल स्टोर, हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी, सिमेन्ट, छड, टायल, मार्बल, कार्पेट पसल, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग लगायतका पसल सटरहरु बिहान ६ देखि बेलुका ७ बजेसम्म निर्धारित स्वास्थ्य सरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।’

जिल्लाभरि मिति २०७८।०३।२१ गते राती १२ बजेबाट मिति २०७८।०३।३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यस्तो छ आदेशः

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा जारी गरिएको आदेश

विश्वव्यापी रुपमा फैलिइरहेको नोबेल कोरोना भाइरस संक्रमणको अवस्था यस जिल्लामा पनि क्रमिक रुपमा घटिरहेको अवस्थालाई मध्यनजर गरी यस जिल्लाको सम्भावित संक्रमण नियन्त्रण र रोकथाम गर्न कोभिड-१५ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी काभ्रेपलाञ्चोक जिल्लाभरि मिति २०७८।०३।२१ गते राती १२:०० बजेबाट मिति २०७८।०३।३१ गते राती १२:०० बजेसम्म देहायअनुसार जारी गरिएको छ । यस आदेशको अवहेलना तथा बर्खिलाप हुने गरी कहीं कसैबाट कार्य भएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

देहाय

१ सर्वसाधारणले पालना गर्नुपर्नेः

१.१ अत्यावश्यक काम परी हिंडडुल तथा आवतजावत गर्दा जनस्वास्थ्यका मापदण्ड र सामाजिक दुरी पूर्ण रुपमा पालना गर्ने ।

१.२ सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, शैलुन, ब्युटि पार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, संग्रहालय आदि सञ्चालन नगर्ने ।

१.३ हाट, मेला, जात्रा, महोत्सव, पार्टि, भोज जस्ता भिडभाड हुने कार्यहरु नगर्ने ।

१.४ विबाह, ब्रतबन्ध तथा सामुहिक रुपमा गरिने साँस्कृतिक कार्यहरु होटल तथा पार्टि प्यालेसमा नगर्ने ।

१.५ तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफुल विक्री वितरण नगर्ने ।

१.६ कोभिड-१५ सँग मिल्दोजुल्दो कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा
स्थानीय तहमा सम्पर्क गर्ने ।

२. सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन सम्बन्धमाः

२.१. सार्वजनिक सवारी साधनका हकमा जिल्लाभित्र सञ्चालन हुने सवारी साधनहरु बनेपा केन्द्रविन्दु भई कुल सीट क्षमता भन्दा बढी संख्या यात्रुहरु नराख्ने गरी बिहान ६:०० बजेबाट साँझ ७:०० बजेसम्म सञ्चालन गर्ने । जिल्लाभित्र सञ्चालन हुने सबै सवारी साधनहरुमा चालक, सहचालक तथा यात्रुहरुले निर्धारित जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने ।

२.२ विकास निर्माणका सामग्री ढुवानी गर्ने सवारी साधनहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी जिल्लाभित्र खपत हुने सामग्रीको हकमा सॉझ ५:०० बजेपछि बिहान ८:०० बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राती ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न सक्ने ।

३. पसल तथा सटरहरु सञ्चालन सम्बन्धमाः
३.१ खाद्यान्न, दुध डेरी, मासु, तरकारी, फलफुल पसल, किराना पसल, खानेपानी, ग्याँस पसलहरु, पुजा सामग्री पसल, स्टेशनरी/पुस्तक पसलहरु, प्रिन्टिङ प्रेसहरु, डिपार्टमेन्टल स्टोर, हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी, सिमेन्ट, छड, टायल, मार्बल, कार्पेट पसल, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग लगायतका पसल सटरहरु बिहान ६:०० देखि बेलुका ७:०० बजेसम्म निर्धारित स्वास्थ्य सरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।

४. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था, विमा कम्पनी, विद्युत, संचार, खानेपानी,
फोहोरमैला व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी
साधनका हकमा कार्यालयले जारी गरेको परिचय-पत्रका आधारमा आवतजावत गर्ने ।

५. सञ्चार कर्मी एवम् पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय-पत्रको आधारमा आवतजावत गर्ने । ६. निषेध अवधिभर होटल तथा रेष्टुरेन्टहरुले Takeaway र Home Delivery सेवा दिन सक्ने ।

७. बिवाह, ब्रतबन्ध जस्ता साँस्कृतिक संस्कारजन्य कार्यक्रमहरुको आयोजनाका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नेगरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । बिवाहको हकमा (दुलाहा, दुलही समेत) १५ जना भन्दा बढी नहुने गरी २ वटा सवारी साधन मात्र प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने ।

माथि उल्लेखित आदेशहरु पालना नगर्ने वा यो काम गर्न बाधा पुयाउने जो कोहीलाई कोभिड-१५ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८, संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने व्यहोरा सबैमा जानकारी गराईन्छ ।

मितिः २०७८।०३।२१

शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।