काठमाडौं । नेकपा माओवादी केन्द्र अवैधानिक रहेको दाबीसहित पेस भएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल) सहितका नेताहरुको सक्रियतामा दर्ता भएको निवेदन खारेज गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
‘निवेदनको सन्दर्भमा केही निर्णय गरिरहनु परेन। निवेदकको दाबी पुग्दैन। दलको दर्ता खारेज हुँदैन। निवेदन खारेज भयो’ प्रवक्ता श्रेष्ठले भने।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेका नेताहरु बादल, टोपबहादुर रायमाझी, प्रभु साह लगायतको पहलमा अधिवक्ता सरोज बुढाथोकीले गत असार २३ गते माओवादी केन्द्र अवैधानिक रुपमा चलिरहेको भन्दै दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
दल दर्ता खारेजीको मागसहित निवेदन परेपछि आयोगले इजलास गठन गरेर यसबारे सुनुवाइ गर्ने निर्णय गरेको थियो।
आइतबार बसेको आयोगको इजलासले अर्का निवेदक भविसोर पराजुलीको निवेदन पनि खारेज गरिदिएको छ।
पराजुलीले माओवादी केन्द्रकै लेटरप्याड प्रयोग गरी माओवादी केन्द्र आफ्नो भएको दाबी गर्दै असार २५ गते आयोगमा निवेदन दिएका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















