भकुण्डेबेशी । विपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुण्डे बजारमा नगर प्रमुख टिपी शर्माद्वारा सडकको दायाँवायाँ वृक्षारोपण गरेका छन् । वातावरणमैत्री नमोबुद्ध नगर बनाउने अभियान अन्तर्गत डिभिजन वन कार्यालय काभ्रेसँगको सहकार्यमा नगर प्रमुख शर्माले आज बजार क्षेत्रमा सडकको दायावायाँ अशोकाका बिरुवा रोपेका हुन् ।
कार्यक्रममा नगर शर्माले आफूहरु निर्वाचित भएदेखि नै वातावरणमैत्री नगरपालिका बनाउने प्रतिवद्धता अनुसार काम गरिरहेको र त्यसैको निरन्तरता स्वरुप सडकको दुबैतर्फ वृक्षारोपण थालिएका बताए । उनले वातावरणमैत्री नमोबुद्ध बनाउने अभियानमा साथ दिएकोमा डिभिजन वन कार्यालय काभ्रेलाई धन्यवाद समेत दिए । नगरपालिकाले सबै वडामा एक वडा एक चौतारो तथा एक वडा एक पोखरी निर्माणको कार्यलाई अभियानकै रुपमा सञ्चालन गरेको उनले बताए । उनले वन कार्यालयको सहयोगमा रोपिएका बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिने पनि बताएका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, डिभिजन वन कार्यालय काभ्रेका डिभिजनल वन अधिकृत देवीचन्द्र पोखरेल, नेपाली कांग्रेसका नमोबुद्ध नगर सभापति कुन्साङ लामा लगायतले वृक्षारोपण गरेका थिए । कार्यक्रममा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत पोखरलेलले वन तथा वातावरण मन्त्रालयले देशव्यापीरुपमै जंगलमा वृक्षारोपणका साथै अहिले नगरक्षेत्र, ऐलानी तथा पर्ति जग्गामा अभियानकै रुपमा वृक्षारोपण गर्ने तथा उद्यान बनाउने कार्यलाई अघि बढाएको बताए ।
शहरी क्षेत्रमा वृक्षारोपण गर्दा नगरको सौन्दर्यतामा वृद्धि हुनुका साथै फोहोरमैलाको नियनत्रणमा समेत टेवा पुग्ने उनले बताए । यस्तै डिभिजन वन कार्यालय काभ्रेका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले वन कार्यालय र नगरपालिकाको सहकार्यमा रोपिएका बिरुवाको सरक्षणको दायित्व नगरपालिका तथा नगरबासीको भएको बताए ।
नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार डिभिजन वन कार्यालयको १२ लाख रुपैयाँ आर्थिक सहयोगमा रोपिएका बिरुवा जोगाउने ‘ट्रि गार्ड’सहित २ सय ५० वटा अशोकाका बिरुपमा रोपिनेछ । यसले वातावरणमैत्री नमोबुद्धको अभियान सफल बनाउन मद्दत पुग्ने काफ्लेले जानकारी दिए । डिभिजन वन कार्यालय काभ्रेकै सहयोगमा नमोबुद्ध नगरपालिका २ मा पारिजात पार्क तथा नमोबुद्ध नगरपालिका ८ मा वातावरणमैत्री चिल्ड्रेन पार्क निर्माण भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















