एमाले कार्यकर्ता तथा काभ्रेका ‘गुण्डा नाइके’ भनेर चर्चा पाएका सत्यमान लामालाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । युवा संघको केन्द्रिय सदस्य समेत रहेको लामा बैंकिङ कसुर मुद्दामा प्रहरीको फरार सूचीमा थिए ।
एमालेको नेतृत्वमा सरकार भएकोले उनलाई पूर्व मन्त्री गोकुल बाँस्कोटाले संरक्षण दिँदै आएको थिए । पूर्व मन्त्री बाँस्कोटको संरक्षण पाएपछि सामाजिक सञ्जालमा समेत सरकार, बाँस्कोटा र ओलीको बचाउमा लेख्दै आएका थिए ।
तेमाल गाउँपालिका वडा नं. ६ पर्सेल घर भएका लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले आज रोशी गाउँपालिका स्थित कटुञ्जेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।
कार्यालयका अनुसार लामाले धेरै व्यक्तिलाई रकम नभएको चेक दिई ठगी गर्दै आएका थिए । २०७७ साल माघ २० गते लामाले रामकुमार थापा क्षेत्रीको नाममा काटेको ७० लाखको चेक बाउन्स भएको थियो भने सुरज सापकोटाको नाममा काटेको २२ लाखको चेक पनि बाउन्स भएको थियोे । चेक बाउन्स भएपछि सापकोटाले महानगरीय प्रहरी बृत्त कमलपोखरी र क्षेत्रीले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामाविरुद्ध चेक बाउन्सको उजुरी दिएका थिए ।
उच्च अदालत पाटनले लामाविरुद्ध पक्राउपूर्जी जारी गरेपछि लामा फरार भएको प्रहरीले जनाएको छ । बैंकिङ कसुर मुद्दाका फरार लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले खोजी गर्दै आएको थियो ।
खोजी गर्ने क्रममा लामालाई प्रहरीले आज दिउँसो २ बजे काभ्रेको रोशी गाउँपालिका कटुन्जेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खतिवडाले बताए । उनका अनुसार लामालाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाई उनीविरुरुद्ध काठमाडौं प्रहरीले मुद्दा चलाउने बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















