काभ्रे जिल्लाकाे दुर्गम क्षेत्र खानीखोला गाउँपालिका–७, बोरानबेसी, काभ्रे निवासी जय बहादुर थिङ र रानीमाया थिङका ३२ वर्षीय छोरा रुपेश थिङ हाल अज्ञात रोगबाट अस्पतालको शैय्यामा छट्पटाइरहेका छन् । वर्षौदेखि अज्ञात रोगले सताएर उपचारको क्रममा घरजग्गा समेत २०७६ सालमा थितोमा राख्न बाध्य भए रुपेश थिङ ।
धितो जग्गा फिर्ता गर्नु त टाढैको कुरा भयो, झन अरु थप उपचार गर्नु पर्नाले रुपेश आर्थिक समस्या र रोगले अस्पतालको शैय्यामा छट्पटाईरहेका छन् । १४ वर्ष अगाडि भरतपुर अस्पतालमा उपचार गर्दा २ लाख ५० हजार रुपैयाँ सकाए पनि रोगको निदान भने भएन उनकाे । त्यही अज्ञात रोगको कारण हालसम्म पीडित छन् रुपेश थिङ । त्यही रोग पुनः बल्झेपछि १ वर्ष अगाडि ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदाकाे खर्चको बोझको पार लगाउन नपाउँदै पुन: बिरामी परे रुपेश ।
गणेशमान सिंह हस्पिटलले उपचार सम्भव नभए पश्चात जावलाखेल स्थित अल्का अस्पताल हुँदै हाल उनी वीर अस्पतालमा उपचाररत छन् । वीर अस्पतालमा १८ दिन बिताईसकेका रुपेशको फोक्सोमा असर देखिएको अस्पताल स्रोतले बताएका छन् भने अहिले रुपेश थिङको रगत परीक्षणको लागि बाहिरी देश पठाएको तर त्यसको रिपोर्ट आउन एक महिना लाग्ने डाक्टरले बताएको बिरामीको आफन्तले हामीलाई जानकारी दिए । रोग यही हो भनी पत्ता लागिसकेको अवस्था छैन ।
१४ वर्ष अघि २ लाख ५० हजार भरतपुर अस्पतालमा सकाएका रुपेशको रोगले उपचारकै क्रममा गणेशमान सिंह हस्पिटलमा २०७६ सालमा ३ लाख, २०७७ सालमा पुनः १६ दिन अस्पताल बस्दा २ लाख ७० हजार खर्च भइसकेको र हाल पछिल्लो पटक भने रुपेशलाई रोगले मात्रै होइन आर्थिक अभावले पनि धेरै थलाएको छ । रोगको एकिन नभएकोले खर्च यति नै लाग्छ भन्ने अन्दाज पनि नभएकोले हालको समस्या र अभाव टार्नकै लागि पनि सहयोगी मनहरु प्रति ठूलो आशातित छन् रुपेश र रुपेशका घरपरिवार ।
लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा रोगसँग लड्न विवश रुपेश थिङलाई देश विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुबाट सहयोग आउन थालेको त छ तर विगतको खर्च र अब हुने खर्चबाट रुपेशलाई रोगको पीडा त छनै तर आर्थिक पीडा नहोस् भन्ने आशाका साथ हामी पनि सम्पूर्णलाई सक्दो सहयोगको लागि अनुरोध र अपेक्षा गर्दछौं । लाउलाउँ र खाउँखाउँको उमेरमा अस्पतालको शैय्यामा छटपटाइरहेका रुपेशलाई सहयोग गर्न चाहनु हुने सम्पूर्णमा सिधै रुपेश थिङको सम्पर्क नम्बर ९८६१७१८४१६ वा यस समय दृष्टि साप्ताहिकमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हाम्रो हातेमालो र सहयोगले रुपेश थिङको अमूल्य जीवन बचाउन सफल हुनेमा ढुक्क हुँदै दाजुभाइ दिदी बहिनी सबैमा सहयोगको अपेक्षा गरिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















