काभ्रे जिल्लाको तेमाल गाउँपालिकाकाको गाउँसभा विधिबत रुपमा सम्पन्न भएको छ । बहुमत सदस्यहरु र अध्यक्ष सलामसिं तामाङको अल्पमत सदस्यहरुबीच सहमति भएपछि गाउँसभा विहिबार सम्पन्न भएको घोषणा गरेको हो ।

प्रदेशको गाउँसभा सञ्चालन सम्बन्धी कार्यविधिको हवाला दिंदै अध्यक्ष तामाङ समूहले बहुमत सदस्यहरुलाई बेवास्त गर्दै गत असार १५ गते राती ८ः३० बजे १२ जना सदस्यहरु जम्मा गरेर गाउँसभा सम्पन्न भएको घोषणा गरेका थिए ।

गत असार १५ गते १२ जम्मा जम्मा गरी गाउँसभा सम्पन्न भएको घोषणा गर्दा खिचिएको सामूहिक तस्बीर ।

बहुमत सदस्यहरुलाई बाहिर राखेर अलोकतान्त्रिक कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र र एमालेबाट निर्वाचित २७ जना सदस्यहरुले अदालतमा रिट निवेदन समेत दायर गरेका थिए । स्थानीय सरकार संचालन ऐन अनुसार चल्नु पर्ने र गाउँसभा सञ्चालन कार्यविधिमा जान स्थानीय सरकार सञ्चालन ऐनलाई टेक्नुपर्ने भन्दै बहुमत सदस्यहरुले रिट दायर गरेका थिए ।

गाउँपालिका अध्यक्ष तामाङलाई ‘पेलेर अघि बढ्न’ नेपाली काँग्रेसका केही नेता र कानूनी सल्लाहकारले सुझाव दिएपछि स्थानीय सरकार सञ्चालन ऐन भन्दा पनि प्रदेशले जारी गरेको गाउँसभा सञ्चालन कार्यविधिलाई मात्र केन्द्रमा राखेर अघि बढेका थिए । शुरुमा काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु एक भएर बहुमतको सामना गरेको देखिएता पनि पछिल्लो समय आफ्नै पार्टीबाट निर्वाचित भएका वडा अध्यक्षहरुको समेत साथ नपाएपछि अध्यक्ष तामाङ झन् कमजोर भएका थिए ।

एकातिर कानूनी झन्झट त थियो नै त्यस माथि आफ्नैले पनि राम्रो सहयोग नगरेकोले झन् समस्यामा फसेको बताइएको छ । त्यसपछि उनले सहमतिको लागि बाटो खोजेका थिए ।

यसरी जुट्यो सहमति

बहुमत सदस्यलाई बाहिर राखेर अगाडि बढ्नु कानूनी हिसावले पनि जटिलता र लोकतान्त्रिक अभ्यासका हिसाबले पनि ठीक नभएको देखेपछि अध्यक्ष तामाङले काँग्रेस जिल्ला सचिव दिनेश लामाको सहयोगमा सम्वाद अघि बढाइका थिए । सोही अनुसार वार्ता गर्नका लागि अध्यक्ष लामाले बहुमत पक्षसँग अनुरोध गरेका थिए । त्यसपछि माओवादी केन्द्रबाट सार्कीमान तामाङ, लालध्वज तामाङ (समिर), कल्पना लामा, एमालेको तर्फबाट जेनिश लामा इन्द्रमान लामा र काँग्रेसको तर्फबाट जिल्ला सचिव दिनेश लामा सम्मिलित बैठक बसेका थिए ।

त्यसैगरी बैठकमा अध्यक्ष सलामसिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, वडा अध्यक्षहरु विकुलाल तामाङ, ज्ञानबहादुर तामाङ, मानबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर तामाङको समेत सहभागीता थिए ।

दिनभरिको छलफलपछि सहमति भएको थियो । बैठकमा कार्यपालिकाको बैठक बसेर नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने र गाउँसभामा पेश गर्ने सहमति भएको थियो । सोही अनुसार विहिबार विहान गाउँकार्यपालिकाको बैठक बसेर दिउँसो १ बजे गाउँसभा गरेको थियो ।

तेमालको विकासको लागि सहमति र सहकार्यको विकल्प नरहेको पुष्टि भएको ९ नं. वडाका वडा अध्यक्ष चन्द्रबहादुर लामाले बताए । ‘मुख्यतः हामीले विधि र प्रक्रियाको कुरा गरेका थियौं । बजेटको बारेमा कार्यपालिकामा छलफल होस र स्वीकृत होस भन्ने हाम्रो चाहना थियो । यो व्यक्तिगत चाहना भन्दा पनि कानून र विधि प्रक्रियाको कुरा थियो ।’ लामाले भने, ‘सहमति भयो, राम्रो पक्ष यहीं हो, आगामी दिनहरुमा पनि हामी सहमति र सहकार्यमै अगाडि बढ्ने छौं । यो घट्नाले सायद सबैलाई यो पाठ सिकाएको छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।