नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्। आइतबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसमक्ष राजीनामाको वक्तव्य पढ्दै उनले उच्च नेतृत्वको स्वेच्छचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताए।

गाडीबाट झरेर विज्ञप्तिसहित पत्रकार भएको ठाउँमा पुगेका रावललाई एमाले नेता सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए। तर, रावलले ‘प्लिज पत्रकारहरूसँग बोल्द दिनुस्’ भन्दै अघि बढे।

‘भित्र जाउँ कमरेड’ भन्दै पाण्डेले रावललाई तान्न खोजे। तर, रावल जंगिए। त्यसपछि पाण्डे संसद् भवनभित्र छिरे भने रावल राजीनामाको व्यहोरा पढेर पत्रकारहरूलाई थप प्रतिक्रिया नदिइ बाहिरिए।

यस्तो छ राजीनामा पत्र

मिति २०७४।४।३

सम्माननीय सभामुखज्यू प्रतिनिधि सभा सिंहदरबार, काठमाण्डौ।

विषयः राजीनामा ।

महोदय,
झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह–अवरोह तथा घात–प्रतिघात व्यहोरेको छ र तिनको सामना गरेको छ । यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिको लागि गरेको थिए । राजनीति र त्यसका सबै संयन्त्रहरु राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुख–समृद्धिमा समर्पित हुने विश्वास गरेको थिए । तर राजनीतिक नेतृत्वबाट त्यस विपरीतका काम हुँदै देश र जनतालाई अनेकौ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए । फलस्वरुप आज नेपाल र नेपालीहरुको शीर निहुरिदै गएको छ ।

अझ केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि–पद्धतिलाई आफ्नो कत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी–निरकश किसिमले काम गर्ने अनैतिक चरित्रको घणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताको हित विपरीतका क्रियाकलापका विरुद्ध जुझ्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम् राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरें ।

तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा नीजि स्वार्थ, अहं, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एवम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुन श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफुलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छ।
धन्यवाद ।

भीमबहादुर रावल
सदस्य, प्रतिनिधि सभा अछाम, निर्वाचन क्षेत्र नम्बर १

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।