नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मंगलबार छलफल गरेको नेपाल पक्षले बुधबारका लागि आफू पक्षको स्थायी कमिटी बैठक बोलाएको हो।

बैठक बुधबार बिहान ११ बजे बस्ने जनाइएकाे छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबैको सहभागिता हुने बताइएको छ। बैठकले सरकारमा सहभागिता तथा पार्टीमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निर्णय गर्ने बुझिएको छ।

यस्तै मंगलबारको भेलामा नेपाल पक्षका सांसदहरूले नेता नेपाललाई कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्ने सुझाएको बुझिएको छ। केही नेताले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले देउवाले सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरिरहेका छन्।

प्रधानमन्त्री देउवाले सरकार विस्तार नगर्नुको कारण नेता नेपालको निर्णयको प्रतीक्षा रहेको बताइएको छ। देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाएको छ। सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।