काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । शुक्रबार प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
निर्देशनमा विद्यालय सञ्चालन कहिलेदेखि गर्ने हो प्रष्ट भने पारिएको छैन । कोभिड–१९ (कोरोना भाइरस) का कारण लामो समय देखि अबरुद्ध भएको बिद्यालयको पठन–पाठन सम्बन्धमा आगामी दिनमा क्रमशः कसरी सहजीकरण गर्दै अघि बढ्ने सन्दर्भमा गाउँपालिकाको मिति २०७८।०४।०८ को निर्णयानुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सूचनामा जनाएको छ । गाउँपालिकाले विद्यालय सञ्चालन सम्बन्धमा ४ बुँदे निर्देशन जारी गरिएको छ ।
यस्तो छ निर्देशनः
मितिः २०७८।०४।०८
श्री तेमाल गाउँपालिका अन्तर्गत सबै विद्यालयहरु
विषयः विद्यालय सन्चालन सम्बन्धमा
प्रस्तुत विषयमा कोभिड–१९ (कोरोना भाइरस) का कारण लामो समय देखि अबरुद्द भएको बिद्यालयको पठन–पाठन सम्बन्धमा आगामी दिनमा क्रमशः कसरी सहजीकरण गर्दै अघि बढ्ने सन्दर्भमा यस गाउँपालिका को मिति २०७८।०४।०८ को निर्णयानुसार तपशिल बमोजिम गर्ने गराउने निर्णय भएको हुँदा सो बमोजिम गर्नु गराउनु हुन अनुरोध छ ।
तपशिल
१. लामो समय देखि अबरुद्द भएको विद्यालयको पठनपाठनलाई आगामी दिनमा सुचारु गर्नका लागि सबै विद्यालयका प्र.अ. तथा शिक्षकहरु विद्यालयमा उपस्थित भइ वि. व्य. स. तथा अभिभावकहरुसँग समन्वय गरी कोभिड–१९ को संक्रमणको स्थितिको अबलोकन गरी स्वास्थ्य सम्बन्धि मापदण्ड तथा भौतिक तथा सामाजिक दुरी कायम गरी विद्यालय सुचारु गर्न निर्देशन दिने निर्णय भएकोले सो बमोजिम गर्नु गराउनु हुन अनुरोध छ ।
२. माथि १ नं. अनुसार विद्यालय सन्चालन गर्न कठिनाइ भएमा यस गाउँपालिकावाट गत वर्ष वितरण भएका बैकल्पिक शैक्षिक सामाग्री तथा नेपाल सरकारवाट सन्चालन भएका अनलाइन तथा अफलाइन बैकल्पिक शिक्षण सिकाईका विधिहरुको विद्यार्थीहरुमा भरपुर उपयोग गरी सिकाइ सहजीकरण गर्न प्र. अ. तथा शिक्षकहरुलाई निर्देशन दिने निर्णय भएकोले सो बमोजिम गर्नु गराउनु हुन अनुरोध छ ।
३. टाढा टाढा बाट विद्यालयमा आउन बाँकी रहेका शिक्षक हरुलाई कोभिड भ्याक्सिन तथा स्वास्थ्य परिक्षण लगायतका बिधि पुरा गराई त्यस्ता शिक्षक लाइ तत्काल विद्यालयमा उपस्थित गराउन प्र. अ. लाई निर्देशन दिने भन्ने निर्णय भएकोले सो बमोजिम गर्नु गराउनु हुन अनुरोध छ ।
४. यस गाउँपालिकावाट शिक्षक तथा विद्यार्थीलाई यूएसजी सेवा (कोभिड–१९ वैकल्पिक पठनपाठन) मा आबद्ध गर्न तथा विद्यालय स्वास्थ्य सुरक्षा सामाग्रीका लागि प्रत्येक विद्यालयको खातामा निकासा भएको रकमको भरपुर उपयोग गरी पठनपाठन सन्चालन गर्न प्र. अ. लाइै निर्देशन दिने भन्ने निर्णय भएकोले सो बमोजिम गर्नु गराउनु हुन अनुरोध छ ।
लक्ष्मण कुइकेल
प्रमुख प्रशासकीय अधिकृत

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















