संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले एमाले कार्यकर्ताहरुसँग राजनीतिक प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका छन् । खानीखोला गाउँपालिकाबाट शहरी क्षेत्रमा विभिन्न पेशा ब्यबसायमा आवद्ध नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरुको भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता लालध्वजले उक्त निर्देशन दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता लालध्वजले काभ्रेमा एमालेले आफ्नो पार्टीको विरुद्ध जनतामा भ्रम फैलाइरहेको बताउँदै एमाले कार्यकर्ताहरुलाई ‘छाउरा र स्याल’ को संज्ञा दिए । ‘काभ्रेमा एमालेका केही कार्यकर्ता र नेताहरुले जनतामा भ्रम फैलाउने तरिकाले माओवादी केन्द्रकोबारेमा बोलेको सुनें । एमालेका छाउरा र स्यालहरुको औंला ठट्याएर राजनीतिक प्रतिरोध गर्नु होला ।’ उनले भने, ‘राजनीतिक प्रतिरोधले भएन भने तालिम लिइरहनु पर्दैन हामीलाई । यो कुराको हेक्का होस् ।’

राप्रपालाई साथमा लिएर चुनाव जित्ने केपी ओली अहिले बालकोटमा थन्केको बताउँदै धेरै फुर्ति नगर्न केपी ओलीलाई चेतावनी समेत दिए । ‘आफ्नो निर्वाचन क्षेत्रमा केपी ओली जित्ने अबस्था थिएन । राप्रपाका साथ नलिएको भए हार्ने केपी ओलीले धेरै फुर्ति नगर्दा हुन्छ ।’ लालध्वजले भने, ‘उसकै अहंकार र तानाशाही प्रबृत्तिले उनी बालकोटमा थान्केको छ ।’

एक अर्को प्रसंगमा नेता लालध्वजले एमालेका केपी ओली गुट बत्ती बालेर खोज्नुपर्ने अबस्थामा पु¥याउने चेतावनी दिँदै माओवादी पार्टी अग्रगामी विचार बोकेको पार्टी भएकोले अबको परिवर्तनको नेतृत्व माओवादीले गर्ने समेत दावी गरे ।

एमाले र माओवादीले जितेको स्थानीय तहको तुलना गर्दै नेता लालध्वजले सुशासन कहाँ छ हेर्न चुनौती दिए । ‘एमालेले जनतालाई गुमराहमा राखेको छ । एमालेले जितेको स्थानीय तह र माओवादीले जितेको स्थानीय तहलाई हेर्नुहोला ।’ उनले भने, ‘यहीँबाट थाहा हुन्छ कि सुशासन कहाँ छ ? विकास निर्माण कहाँ भएको छ ?’

उनले खानीखोला र महाभारतमा जति बिकास भएको छ त्यो सबै माओवादीको पहलमा भएको दावी समेत गरे ।

एमाले नेता गोकुल बाँस्कोटा प्रति व्यंग्य गर्दै उनले आफूहरुले हिसाब गर्ने हो भने ७० करोड थाहा नभएको र ८३ करोड पनि थाहा नभएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।