सत्ताको उन्मतले कतिसम्मको निकृष्ट कार्य गर्दोरहेछ भन्ने कुरा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समिति सदस्य हिरा वाइबाले पुष्टि गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि वाइबाले यौन दुव्र्यवहार गरेको कुरा बाहिरिएपछि यो कुराको पुष्टि भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको विश्वाससिलो पात्रको रुपमा रहेको एमालेका स्थानीय कार्यकर्ता वाइबालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले चिकित्सक माथि यौन दुव्र्यबहार र गालीगलौज गरेको आरोपमा पक्राउ गरेको छ ।
१६ साउनका दिन प्रतिष्ठानले आयोजना गरेको वनभोज कार्यक्रममा अत्यधिक मदिरा सेवन गरी आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै ती महिला चिकित्सकले प्रहरीमा रिपोर्ट गरेकी थिइन् । भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले वनभोज कार्यक्रम राखेको थियो ।
उजुरी दिएको करिब ६ दिनपछि अस्पताल सञ्चालक समिति सदस्य वाइवा शुक्रबार पक्राउ परेका हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वाइवा पक्राउ परेको जानकारी दिए । उनले वाइवामाथि अनुसन्धान हुने र दोषी देखिए कारवाही हुने बताए ।
पीडित चिकित्सकहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर,जिल्ला प्रहरी कार्यालय र प्रतिष्ठान उपकुलपतिको कार्यालयमा पनि उजुरी दिएका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले वाइवालाई केही महिनाअघि मात्रै अस्पताल सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















