काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागि घरघरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । आजदेखि सुरु भएको कोभिड १९ (कोरोना) विरुद्धको कोभिशिल्डको दोस्रो मात्रा खोप लगाउने अभियानको क्रममा खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागि स्वास्थ्यकर्मीको टोली घरघरमै पुगेर खोप लगाइएको हो ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिना स्वास्थ्यकर्मी लिएर आफैं जेष्ठ नागरिकको घरघरमा पुगेका छन् । खोप केन्द्रसम्म पुग्न नसक्ने ८५ बर्षदेखि १०२ बर्षसम्मका जेष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको नगर प्रमुख तिमल्सिनाले बताए । नमोबुद्ध ८ का १ सय २ बर्षका अमन्तीनाथ हुमागाईंले पनि कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्यकर्मीले खोप लगाइदिएपछि हुमागाईंसहितका जेष्ठ नागरिकहरुलाई नगर प्रमुख तिमल्सिनाले खोप कार्ड हस्तान्तरण गरेका थिए ।
नमोबुद्ध नगरपालिकामा गत फागुन २३ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको खोप अभियानको क्रममा पहिलो मात्रा कोभिशिल्डको खोप लगाउने ६५ बर्षमाथिका व्यक्तिाके संख्या १ हजार ७ सय ७ रहेको छ ।
भोलीसम्म सञ्चालन हुने खोप अभियानको क्रममा नगरका ११ वटै वडामा केन्द्र तोकिएको छ । ‘खोप केन्द्रसम्म जान नसक्नेहरुका लागि स्वास्थ्यकर्मी नै घरघरमा पुगेर खोप लगाउने व्यवस्था गरिएको छ’ नगर प्रमुख तिमल्सिनाले भने, ‘कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित काम गरिरहेका छौं ।’ खोप अभियान लिएर नगरबासीको घरघरमा पुगेका नगर प्रमुख तिमल्सिनाले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुलाई मास्क, सेनिटाइजर, च्यावनप्रास लगायतका सामग्रीसमेत वितरण गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















