काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको केही आइसोलेसनमा विरामीको चाप बढ्न थालेको छ । पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेसँगै नमोबुद्ध नगरपालिका वडा नं. ४ मा स्थापना गरिएको आइसोलेसन सेन्टरमा चाप बढेको हो ।

पछिल्लो एक सातामा आइसोलेसन केन्द्रमा कोभिड–१९ को लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको जनाएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित आइसोलेसन केन्द्रमा हाल १४ जना कोभिड–१९ का बिरामी रहेको केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिइन् । १४ जनामध्ये नमोबुद्ध नगरपालिकाका १० जना र रोशी गाउँपालिकाका ४ जना रहेका छन् । केन्द्रमा रहेकामध्ये ५ जनालाई अक्सिजन सपोर्टमा राखिएको छ भने अन्यमा ज्वरोसहितको लक्षण देखिएको छ ।

नमोबुद्ध नगरपालिकामा आइतबारसम्मको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ७६ रहेको छ । उक्त आइसोलेसन केन्द्रमा हालसम्म १ सय ४१ जना कोभिड १९ का बिरामी भर्ना भइसकेका छन् । आजै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आइसोलेसन केन्द्रको अनुगमन गर्दै आइसोलेसनमा भर्ना भएका बिरामीहरुको स्वास्थ्य अवस्था, केन्द्रको व्यवस्थापन लगायतका विषयमा जानकारी लिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।