काभ्रे जिल्लाको विकट क्षेत्रको रुपमा रहेको बेथानचोक गाउँपालिका वडा नम्बर–१ च्याम्राङ्बेशीमा निर्माण भएको स्वास्थ्य चौकी र वर्थिङ सेन्टर उदेघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र उपाध्यक्ष सरिता लामिछानेले संयुक्त रुपमा एक कार्यक्रमकाबीच सोमबार उद्घाटन गरेका हुन् ।

स्वास्थ चौकी भवन बेथानचोक गाउँपालिका, जिल्ला समन्वय समिति, काभ्रे र उज्यालो नेपाल संस्थाको संयुक्त लगानीमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष तिमल्सिनाले सहयोगी संस्थालाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष तिमल्सिनाले गाउँपालिकाको मात्र नभएर जिल्लाकै विकट गाउँमा निर्माण भएको स्वास्थ चौकी भवनले जनतालाई उपचारको लागि सहज हुने विस्वास व्यक्त गरे । जनताको स्वास्थ्य प्रति गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्दै तिमल्सिनाले सेवा प्रवाहमा कुनै समस्या आउन नहुने बताए । त्यसैगरी गाउँपालिकाले बर्थिङ भवनका लागि अत्यावश्यक सोलार बत्ति छिट्टै व्यवस्थापन गर्ने उनले बताए ।

त्यसैगरी कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर १ का अध्यक्ष सोमनाथ घिमिरे, वडा नम्बर ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठ, वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष राम प्रसाद अधिकारी, उज्यालो नेपाल संस्थाका अध्यक्ष, अनहर्ट वल्डवाइडका काभ्रे प्रमुख, गाउँपालिका कार्यपालिकाका सदस्यहरु लगायत गाउँपालिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला