जिल्ला प्रहरी कार्यालय, काभ्रेले आज (मंगलबार)बाट ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन गरेको छ । जिल्लामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सचेतना जगाउने उद्देश्यले प्रहरी कार्यालयले यस्तो अभियान सञ्चालन गरेको हो ।

कोभिड–१९ विरुद्धका लड्न अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न यो अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ । अभियानमा ‘तपाईको मास्क खोइ ?’ लेखेको ब्यानर, प्लेकार्ड बोकेर ¥यालीको समेत आयोजना गरेको थियो ।
सो अवसरमा सम्पुर्ण सडक प्रयोगकर्ता तथा आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिंदै सडकमा मास्क नलगाइ हिंड्ने यात्रुहरुलाई प्रहरीले मास्क समेत वितरण गरेका थिए ।
अभियानमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडा, स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा लगायतका सहभागी थिए ।
जिल्ला ट्राफिक कार्यालय, काभ्रेले यस अघि पनि अनिवार्य मास्कको प्रयोग गर्न गराउन प्ले कार्ड प्रदर्शन, सार्बजनिक स्थानमा मास्क बितरण, सार्बजनिक यातायातमा अनिबार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन सचेत गर्ने लगायतका कार्यक्रम गर्दै आएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















