नवनियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुल प्रसाद केसी काभ्रेली जनतामाझ समेत लोकप्रिय नेता हुन् । जनयुद्धको क्रममा विशेष केन्द्रिय कमाण्ड अन्तर्गत रिङ व्यूरो (उपत्यका वरिपरि अर्थात ताम्सालीङ)को इन्चार्जको जिम्मेवारी लिएर आएका केसी काभ्रेको विभिन्न भूगोलसँग परिचित नेता हुन् । काभ्रेली जनताले केसीलाई ‘सोनाम’ नामले चिन्दछन् ।

विशेष केन्द्रिय कमाण्ड अन्तर्गत सैन्य विभाग प्रमुख समेत रहेका सोनाम भूमिगत कालमा काभ्रेको विकट क्षेत्र महाभारत गाउँपालिका र खानी खोला गाउँपालिकाका विभिन्न गाउँमा बसेका थिए ।
जनता र कार्यकर्ता माझमा निक्कै नै लोकप्रिय नेता सोनामलाई अझै पनि काभ्रेली जनताले विर्सेका छैनन् ।

काभ्रेली जनता माझ समेत लोकप्रिय नेता सोनाम को हुन् ?

नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता केसी पार्टीभित्र ‘सोनाम’ उपनामले चिनिन्छन् । रोल्पा जिल्लास्थित रोल्पा नगरपालिका–६ जिवाङ निवासी उनी २०२७ साल माघ १० जन्मिएका हुन् । जनयुद्धकै समयदेखि उनी माओवादीमा रहेर राजनीतिक रुपमा क्रियाशील रहँदै आएका छन् ।

केसीले २०४३ सालमा कक्षा ७ मा पढ्दादेखि नै मसालको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएका थिए । उनी २०४६ सालमा अखिलको जिल्ला सचिव बने ।

२०४८ सालमा प्राथमिक तहको शिक्षक पेसामा आवद्धता जनाएका उनी २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमण हुँदा कालो झण्डा प्रदर्शन गरेबापत शिक्षक पेसाबाट बर्खास्त भएका थिए ।

माओवादी जनयुद्ध सुरु भएसँगै उनी भूमिगत राजनीतिक जीवनमा प्रवेश गरे । भूमिगत हुनुअघि पार्टीको रोल्पा जिल्ला कमिटीका सदस्य रहेका उनी भूमिगत राजनीतिक जीवनका क्रममा भने चाँडै उचाइमा पुगे ।

२०५५ सालमा केसीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दाङ, प्युठान र सल्यान जिल्ला सेक्रेटरीका रुपमा जिम्मेवारी पाए । २०५७ सालमा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य भएका उनले पार्र्टी संगठन निर्माण तथा विस्तारका साथै जनसेनाको प्लाटुन कमिसारको समेत जिम्मेवारी बहन गरे ।

२०५७ सालमा उनी पार्टीको पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य भए । केही समय भारतमा जेल जीवन बिताएका उनी २०६३ साउन २५ गते भारतीय जेलबाट रिहा भए ।
केसीले २०६३ मा योङ कम्युनिष्ट लिगको केन्द्रीय इन्चार्ज तथा सेना समायोजन समितिको सदस्यका रुपमा पनि काम गरे ।

माओवादी विभाजन भएपछि केही समय उनी मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीमा आवद्ध रहे । उनी दोस्रो संविधानसभा बहिष्कार अभियानमा वैद्यसँगै लागे । तर, रामबहादुर थापा ‘बादल’सँगै उनी पुनः माओवादी केन्द्रमै फर्किए । बादल अहिले एमालेमा लागेका छन् । तर, कुलप्रसादले भने बादलको साथ छाडेर प्रचण्डको मूलधार नै रोजे ।

२०७२ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सदस्य भएका केसी २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।