काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा यतिखेर ‘गुण्डराज’ चलेको छ । दोलालघाटदेखि गाउँपालिका कार्यालयसम्म डर र त्रासको बीचमा सर्वसाधारण यात्रा गर्न बाध्य छन् ।

दोलाघाट कटेपछि खानतलासी, सोधखोज शुरु हुन्छ । ‘घर कहाँ हो ?’, ‘किन आएको ?’, ‘कहाँ जाने’, ‘झोलामा के छ ?’, ‘फर्म लिन आएको हो ?’ जस्ता प्रश्नहरुको उत्तर दिन बाध्य छन् यात्रुहरु । यस्तो व्यबहार गर्ने मानिसहरु प्रहरी भने होइनन् । उनीहरु केही व्यबसायीहरुले परिचालन गरेको मानिसहरु (गुण्डा) हुन् ।

गाउँपालिका नजिकको सानो बजार उनीहरुकै कब्जामा छ । सुनसान छ बजार, उनीहरुकै राज छ । केही १।२ वटा पसल उनीहरुको लागि खुलेको छ ।

भुम्लु गाउँपालिकाले नदीजन्य पदार्थको विक्रिका लागि गरेको टेन्डर आव्हानसँगै यी गतिविधि भएका हो । १० वटा ठेक्का १४ वटा प्याकेजमा उक्त टेन्डर आव्हान भएको थियो । देशैभरि इभिड प्रणालीबाट टेन्डर आव्हान भएपनि भुम्लुमा भने फर्म किन्न कार्यालयमै भौतिक उपस्थित हुनुपर्ने प्रणालीलाई नै अप्नाएको छ । टेन्डर हातपार्न केही व्यवसायीहरुले पुरानै शैलीमा युवाहरु (गुण्डा ?) परिचालन गरेर त्रास फैलाएको प्रष्ट देखिन्छ ।

कार्यालयमा गएर कसैले टेन्डरको फर्म लिएपनि बाहिर आउँदा उनीहरुले खोसेर च्यात्ने गरेको गुनासो पहिलैदेखि आइरहेको थियो ।

केहीदिन अघि रोशी गाउँपालिका वडा नं. २ निवासी पटुवाल निर्माण सेवाका प्रोपाइटर कुमार घिसिङ टेन्डर फर्म लिन गाउँपालिका पुगेका थिए । फर्मलिएर बाहिर निस्कने वित्तिकै उनको फर्म खोसे ।

‘हामीलाई नसोधी फर्म किन लिएको ? फर्म फिर्ता गर भनेर डरत्रास देखाएपछि मैले फिर्ता गरें ।’ घिसिङले भने, ‘प्रतिस्पर्धामा काम गरेर खान्छु भन्न पनि नपाउने कस्तो अवस्था आयो ।’ पछि घिसिङले गाउँपालिका कार्यालयका कुनै कर्मचारीको माध्यमबाट फर्म प्राप्त गरेको स्रोतले बताएको ।

यसैबीच दोलाघाटका राजकुमार लामाले लिएको फर्म भने उनीहरुले च्यातेर आगो सल्काएको खुलासा भएको छ । त्यसो त यस्तो समस्या स्थानीय एक व्यबसायीले पनि बोकेका छन् । ‘हामीलाई ठुलै डनका मान्छे हौं थाहा छैन ? हामीलाई इन्साल्ट गर्ने ?’ फर्म लिन जाने क्रममा उनीहरुको कुरा उदृत गर्दै उनले भने, ‘प्रहरीले उल्टै हामी माथि दुर्व्यबहार गर्‍यो । मसँगै जाने भाइहरुलाई एक किलोमिटर तलै बस्न निर्देशन दियो ।’

यस्तो गतिविधि थाहा पाएपछि तेमाल अनलाइनका प्रधान सम्पादक डिलबहादुर थोकर (ग्याम्जो) पनि समाचार संकलनको लागि त्यहाँ पुगेका थिए । उनलाई पनि त्यस्तै व्यबहार गरेपछि ‘गुण्डराज’को कुरा बाहिर ल्याउन बाध्य भएको छ । बाइकको चावी खोसेर अभद्र व्यबहार गरेपनि पत्रकार हो भन्ने थाहा पाएपछि चावी फिर्ता गरेका थिए ।

सेवा लिन गाउँपालिका कार्यालय पुगेका स्थानीयहरु समेत भयभित हुन बाध्य छन् । ‘हामी कार्यालयमा सेवा लिन आउँदा अनावश्यक खानतलास, सोधखोज गर्छन् ।’ एक सेवाग्रहीले भने, ‘त्रासकाबीचबाट हिंड्नुपर्ने कस्तो जमाना हो यो । उनीहरुलाई प्रश्न ग¥यो कि उल्टै थर्काउँछन् ।’

गाउँपालिका अध्यक्ष गुमनध्वज कुवँरलाई पनि त्यहाँ भएको ‘गुण्डागिरी’ कोबारेमा जानकारी नभएको होइन । जानकारी हुँदा हुँदै पनि बाध्यता भएर बसेको देखिन्छ । उनी पनि त्रासकै बीचमा बसेको भान हन्थ्यो । आफ्नो चाबी खोसेपछि प्रधान सम्पादक ग्याम्जो अध्यक्ष कुवँरको कार्यकक्षमा पुगेका थिए । तर उनी निरिह देखिन्थे । ‘जसले चाबी लगेको हो, त्यसैलाई मागेर जानुहोस् तपाईं, म प्रहरीलाई भन्छु ।’ ग्याम्जोसँग कुवँरले भनेका थिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी भुपेन्द्रबहादुर क्षेत्रीले यो घट्नाकोबारेमा आफूले बुझ्ने बताए । गुण्डागर्दी अन्त्य गर्नै आएको बताउँदै एसपी खत्री आफूले अनुसन्धान गर्ने कार्वाही अघि बढाउने बताए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सो स्थलमा थप सुरक्षावल परिचालन गर्न निर्देशन दिएको बताएका छन् । ‘थप सुरक्षावल जाँदै छ । मैले निर्देशन दिइसकेको छु ।’ पोखरेलले भने, ‘त्यस्तो हो भने व्यवास्थापन गर्नु भनेको छु मैले ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।