म समाचार संकलनको क्रममा आज भुम्लु गाउँपालिकाको कार्यालयमा पुगेको थिएँ । भुम्लु गाउँपालिकाले नदीजन्य पदार्थको विक्रिका लागि गरेको बोलपत्र आव्हान र अरु केही विषयमा समाचार संकलनको लागि गाउँपालिका कार्यालय पुगेको थिएँ ।

बोलपत्रको विषयमा सामाजिक सञ्जालमा ‘गुण्डा’ परिचालन गरेर जोकोहीलाई फर्म लिन नदिएको चर्चा चलिरहेको थियो । साथमा स्थानीयले पनि यो विषयमा सत्य के हो बाहिर ल्याउनुप¥यो भनेर फोन मार्फत अनुरोध गरेका थिए ।

यो ‘टेन्डर’ कस्को हातमा पार्ने भन्ने योजनामा प्रहरी प्रशासन, गाउँपालिकाका जिम्मेवार पदाधिकारीहरु, प्रदेश सांसद र संघीय सांसदको समेत संलग्न रहेको स्रोतले जानकारी दिइ नै रहेको थियो ।

त्यति मात्र होइन, दोलालघाटदेखि गाउँपालिका कार्यालयसम्म ‘भाडाका गुण्डा’ परिचालन गरेको र नौलो, अपरिचित मान्छे देख्नेवित्तिकै सोधपुछदेखि खानतलास गर्ने, किन यस्तो गरेको भन्ने प्रश्न गरेमा थर्काउने कार्य गर्दै आएको जनगुनासो पनि आइनै रहेको थियो । स्रोतका अनुसार दोलालघाटदेखि गाउँपालिका कार्यालयसम्म करिब ६ सय ‘गुण्डा’ परिचालन गरेको अनुमान छ ।

म दोधारमा थिएँ कि साथी लिएर जाउँ कि एक्लै ? यसो मनमा सोचें ‘अँ म एक्लै जान्छु ।’ धुलिखेलबाट म भुम्लु गाउँपालिका हानिएँ । बाटोमा केही स्थानहरुमा युवाहरु भेटें । उनीहरुले मलाई ध्यानपूर्वक हेरिरहेका थिए । फोन डायल गरेर कुरा गरेको जस्तो पनि देखिरहेको थिएँ । तर मसँग केही बोलेनन् ।

गाउँपालिका नजिक पुग्दा गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठलाई गाडीमा आउँदै गर्नुभएको भेटें । रोकेर कुरा पनि गरें । ‘फर्म लिन आउनुभएको हो भाई ?’ उहाँले मलाई सोध्नुभयो । ‘अँ त्यस्तै भन्नुप¥यो दिदी’ भने । उहाँ वडा नं. १ मा किसानलाई बाख्रा वितरण गर्न हिंड्नु भएको रहेछ । मलाई पहिला नै जानकारी थियो कि उहाँ त्यता जाँदै हुनुहुन्थ्यो । उहाँले सँगै जाम भन्नुभयो, मैले भनें, ‘बाख्रा वितरण गरेको फोटो र केही विवरण पठाउनुहोस् दिदी आज नभ्याउने भयो ।’ यति भनेर हामी छुटियौं ।

गाउँपालिका मूनि रहेको बजारमा बाइक पार्किङ गरें । म सचेत थिएँ कि कोही कसैले केही भन्ला कि भन्ने कुरामा । म रोड क्रस गरेर गाउँपालिका कार्यालयतिर जाँदै गर्दा एकजना मानिसले ‘ब्रदर’ भनेर बलाए । मैले बेवास्त गरें । फेरि अर्कोले ‘ओ ब्रदर’ भनेर बोलाएर तर मैले नसुने झैं गरें ।

म गाउँपालिका कार्यालयमा पुगेर अध्यक्ष गुमानध्वज कुवँरसँग भेटघाट गरें । समाचार र अन्य कुराकोबारेमा छलफल गरें । करिब २ घण्टा म कार्यालयमै बसें । त्यहीँ भित्र पनि एकजना युवाले मलाई सोध्दै थियो, ‘तपाईं फर्म लिन आउनुभएको हो ?’ मैले उत्तर दिएँ, ‘त्यस्तै त्यस्तै हो ।’

त्यसपछि म रोडमा झरें । बाइक स्टार्ट गरेर ठ्याक्कै चोकमा पुगें । ५ देखि १० मिनेटको दूरीमा अगाडि एकजना असाइ र एकजना जवान प्रहरी थिए भने पछाडि एकजना लौरो बोकेर उभिएर बसेका जवान या हवल्दार थिए ।

‘रोक, फर्म लिन आएको हो ?’ एक्कासी मलाई रोकेर भने । मैले ‘हो’ भन्ने वित्तिकै ‘हामीलाई नसोधी किन फर्म लिएको ?’ भन्ने प्रश्न तेस्र्याए । मैले सोधें, ‘हामीले चाहिं लिन नपाउने ? यो फर्म त जस्ले पनि लिन पाउने होइन र ?’ म फर्म लिने अभिप्रायले भने त्यहाँ पुगेको थिएन । गाउँपालिका कार्यालयमा पुगेर मैले फर्मकोबारेमा कुनै कुरा नै गरेको थिएन । मलाई त्यो ‘गुण्डाराज’को बारेमा जान्ने उद्देश्यले मात्र ‘हो म फर्म लिन आएको’ भनेको थिएँ ।

‘हामीलाई नसोधी लिन पाउँदैन ठूलो कुरा नगर । यहाँ जे पनि हुन सक्छ ।’ भनेर मलाई अबशब्द र अभद्र व्यवहार गर्न थाले । बाइकको चाबी खोसेर लगे । ‘अघि बोलाउँदा नसुनेको जस्तो गरि गको होइन ? पख अब थाहा पाउँछस् ।’ भनेर रोड छेउकै घर पछाडि आउ भनेर उनीहरु गए । शुरुमा २।३ जना ‘गुण्डा’ शैलीका युवाहरु मात्र थिए पछि त ४०।५० जना जम्मा भए ।

मैले बाइक पार्कीङ गरें । उनीहरुले भनेको कुरा मैले मानिन । अनि म गाउँपालिका कार्यालयमा फेरि गएँ । अध्यक्षको कार्यकक्षबाहिर पुगेर ‘मेरो त चावी खोस्यो’ भनें । अध्यक्षको सचिवालयको एक कर्मचारीले सोधे, ‘कस्ले, किन खोस्यो ?’ मैले भनें, ‘फर्मको कुरा गर्दै थियो, मैले नि हल्ला के रहेछ त भनेर बुझ्नको लागि फर्म लिन आएको भनें । त्यसपछि ममाथि दुव्र्यबहार भयो ।’

‘कस्तो मान्छेहरु रहेछ, मान्छे चिन्नु छैन । म फोन गरेर चाबी यहीँ ल्याउन लाउँछु ।’ ती कर्मचारीले भन्दै थिए । अनि म अध्यक्षको कार्यकक्षमा प्रवेश गरें र जानकारी दिएँ । वडा नं. ७ र वडा नं. १० का वडा अध्यक्षहरुसँग अध्यक्ष छलफलमा रहेछ । तर उहाँलाई पूर्वजानकारी भए झैं गर्दै घट्नालाई गम्भिर ढंगले लिनु भएन् । ‘मेरो चावी के गर्ने होला अध्यक्ष ज्यू ?’ मैले प्रश्न गरें । ‘जसले लगेको हो उसैलाई मागेर लानुहोस् । म प्रहरीलाई भन्छु ।’ उहाँको सामान्य जवाफ थियो ।

करिब १० मिनेट पछि चावी लिएर एकजना मानिस अध्यक्षकै कार्यकक्षमा आइपुगे र त्यहाँ रहेको एकजना कर्मचारीलाई दिएर उनी हिंडे ।

‘गुण्डा’ जत्थाले बल्ला मलाई पत्रकार भनेर चिनेछ । तर पनि मैले असुरक्षित महासुस गरें । ‘मेरो सुरक्षा हुन्छ त ?’ मैले ती कर्मचारीलाई सोधें । ‘तपाईं चिन्ता नलिनुहोस् न, केही हुँदैन जानुहोस्’ ती कर्मचारीको जवाफ थियो । म हिंडें ।

अघि म माथि दुव्यबहार हुँदा मुकदर्शक बनेका एक प्रहरी सहायक निनिक्षक (असाई) र प्रहरी जवान त्यहीं थिए । मैले राम्रोसँग नियालेको जस्तो गरें । प्रहरी जवानले असाइको अनुहारमा पलकपुलुक गर्दै थिए ।

म हुईंकिएँ । म फर्किदै गर्दा म माथि दुव्र्यबहार गर्ने बेला त्यहीं भएको दुई जना मेरो पछाडि पछाडि बाइकमा आउँदै गरेको देखें । मैले अलिकति असुरक्षित महासुस गरें । अनि निक्कै तल आएपछि पत्रकार रोजन तामाङलाई फोन गरें । फोनमा कुरा बुझ्न सकेन । त्यसपछि पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्री तिमल्सिना र सचिव कपिल कोइरालालाई फोन गरें । दुवैजनाको फोन उठेन । त्यसपछि मैले जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीलाई फोन गरें र सबै बताएँ । उहाँले सिधै जिल्ला प्रहरी कार्यालयमा बोलाउनुभयो ।

प्रहरी प्रति ‘भरोसा’मा संकट

मुख्य कुरा मानिसको हिंडडुलको स्वतन्त्रता, व्यवसाय गर्ने स्वतन्त्रता, बोल्ने स्वतन्त्रता आदि संविधान र कानूनले दिएको अधिकार हो । भुम्लु गाउँपालिकामा जाँदा दोलाघाटदेखि गाउँपालिका कार्यालयसम्म जाँदा यो महासुस भएन । डर र त्रासको बीचमा हिंड्नुपर्ने, न कसैले ‘रोक’ भन्ला कि ? पछाडिबाट कसैले केही प्रहार गर्छ कि ? भन्ने डरले हिंड्नुपर्ने बाध्यता अहिले छ । मैले महासुस गरेको कुरा हो यो ।

जिल्ला प्रहरी कार्यालय आएर एसपी भुपेन्द्रबहादुर खत्रीसँग सबै कुरा राखें । शुरुमै उहाँको जवाफ थियो, ‘मेरो प्रहरी र तपाईंले भनेको कुरा त कुनै पनि मिलेन नि ?’ मैले सोधें, ‘के कुरा मिलेन सर ?’

मैले सबै घट्नाक्रम सुनाएँ । तर मैले बनावटी कुरा गरेको भन्ने खालको आसयले उहाँले कुरा गर्नुभयो । म रिपोर्टीङ गर्न गएको थिएँ । कुनै टेन्डर हाल्न गएको त थिएन । मेरो कुनै स्वार्थ थिएन कि मैले बनावटी कुरा गर्न । शान्ति सुरक्षा, अमानचयन, भयरहित वातावरण होस् । यसको पहलकदमी नेपाल प्रहरीले मात्र लिन सक्छ भन्ने मेरो भरोसा सधैं रहन्छ । तर जव एस्पी खत्रीले घट्नास्थलमा भएको ‘प्याकुरेल’ थरका असाईलाई ‘लाउड’ गरेर फोनमा कुरा गर्नुभयो त्यसपछि प्रहरीसँग ‘भरोसा’मा संकट आयो । ‘सर, यहाँ त्यस्तो केही देखिदैन, राम्रो छ, केही भएकै छैन ।’

फोनमा एसपी खत्रीसँग असाई बोल्दै हुनुहुन्थ्यो । अझ अघि बढेर भन्दै हुनुहुन्थ्यो, ‘मैले अझ केही समस्या छ सर ? समस्या भए भन्नुहोस् भनें, उहाँले केही छैन ठिकै छ भन्नुभयो । हिंड्नुभयो ।’

जवकि प्रहरीसँग मेरो कुनै कुराकानी नै भएको छैन । न मैले त्यहाँ भएको प्रहरीसँग सहयोग मागेको छु, न कुनै कुरा बोलेको छु । नाटकीय ढंगले एसपी खत्रीलाई रिपोर्टीङ गर्दै हुनुहुन्थ्यो । ‘मेरो आधिकारीक व्यक्तिलाई विस्वास गरौं कि तपाईंलाई ?’ एस्पीले मलाई सोध्नुभयो ।

‘जनतालाई शान्ति सुरक्षा, विना रोकटोक हिंडडुलसँग मेरो सरोकार हो । तपाईंले जे बुझ्नु भएपनि हुन्छ ।’ भनेर म निस्कें ।

यतिखेर भुम्लु गाउँपालिकामा ‘गुण्डाराज’ गन्ध व्हास्सै छ । सेवाग्रहीहरु गाउँपालिका पुग्ने वित्तिकै विना प्रस्न हात उठाएर ‘हजुर म फर्म लिन आएको होइन’ भन्न बाध्य छन् । नौलो मान्छेहरु त्यो बाटो हिंड्दा तनावग्रस्त बनेर हिंड्न बाध्य छन् । स्वतन्त्रपूर्वक हिंडीरहेका मानिसलाई ‘रोक, कहाँ जान लागेको, किन आएको ? के छ झोलामा ?’ भनेर सोध्छन् ।

यस्तो समस्याको समाधान स्थानीय सरकारले कहिल्यै सोचेको छ ? प्रदेश वा संघीय सरकारले सोचेको छ ? किन सोच्ने ? ती रोक्ने, छेक्ने, हकार्ने मान्छेहरु तिनैका मान्छेहरु हुन् । सबैले यस्तो महाससु गर्छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।