के तपाईंले कर तिर्नुभएको छैन ? छैन भने तपाईंको घरमा पञ्चबाजा घन्काउने छ । यसको शुरुवात गरेको छ काठमाडौं महानगरपालिकाले ।
जति ताकेता गर्दा पनि कर नतिरेपछि दबाब दिन महानगरले यो अभियान थालेको जनाएको छ । महानगरपालिकाको राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार पहिलो चरणमा ह्वाइट स्कुल, कान्तिपुर होटललगायत आठ ठूला करदाताको घरदैलोमा पुगेर बाजा बजाइएको छ ।
‘छिटो कर तिरून् भनी मनोरञ्जनात्मक रुपले करदाताको घरमा गएर बाजागाजा बजाएर दबाब दिएका हौँ ।’ उनले भने, ‘यो बाजाले कर तिर्न महानगरले निमन्त्रण गरेको हो भन्ने लागोस् भनेर यो अभियान चलाएका हौँ ।’
उनका अनुसार करिब पाँच वर्षदेखिको घरजग्गा लगायतको करिब ७० करोड बढी राजश्व उठाउनुपर्नेमा हालसम्म दुई करोड ४९ लाख मात्र राजश्व संकलन भएको छ ।
‘हामीले भदौ २४ गते सम्ममा बाँकी रहेका करदाताले कर बुझाउनु भनी ताकेता गरेका छौँ,यो समयमा नबुझाए कानुनी रुपमा अघि बढ्छौँ,’उनले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















