• मोहन गोले तामाङ

प्राणीको दुनियाँमा मानिस सर्वश्रेष्ठ प्राणी हुन पुगेको ज्ञानले गर्दा हो । त्यसैले मानिस जन्मेदेखि नमरुन्जेलसम्म ज्ञानकै खोजी गर्दछ । ज्ञानको खोजी नगरी कोही पनि मानिस एकछिन बस्न सक्दैन । मेरो घरमा पढ्न, लेख्न नजान्ने ७३ वर्ष उमेरको बृद्धा आमा हुनुहुन्छ । उहाँले पनि ज्ञानकै खोजी गरिरहनु भएको म बुझ्दछु । उहाँले बृद्धावस्थामा पनि ज्ञानकै खोजी गरेर बाँकी जीवनलाई सहज बनाउँदै अघि बढ्नु भएको छ । किनकि आमाले छोराछोरीसँग कुरा गर्न सधैँ पोल्टामा पिटपिटे मोबाइल बोक्नुहुन्छ । मैले त्यहाँ हामी छोराछोरी जत्तिको नम्बर सेभ गरिदिएको छु । मोबाइलमा ६ नंं. थिच्यो भने एमबाट माइला छोरा मोहन गोलेलाई फोन जान्छ । ७ नं. मा थिच्यो भने एसबाट साइली छोरीकोमा फोन जान्छ । ६ नं. मै फटाफट दुईपटक थिच्यो भने एनबाट अर्को बहिनीकोमा फोन जान्छ भन्ने ज्ञान प्राप्त गर्नुभएको छ । यसरी म घेदुङको काम गर्न काठमाडौं आउँदा पनि आमाले फोन गरिराख्नु हुन्छ । यतिसम्म कि माइला छोरालाई फोन जाने अक्षर कस्तो छ भनेर सोध्यो भने आमाले धुलो माटोमा हातको औलाले एम आकार लेखेर पनि देखाउन सक्नुहुन्छ । मोबाइलको भाषा कल गर्नु, डिलेट गर्नु र मेसेज गरिदिनु जस्ता अंग्रेजी शब्द बोल्नुहुन्छ । यो जीवनको उत्तरार्धमा पनि मानिसले केही न केही ज्ञान सिकिरहेको हुन्छ भन्ने ज्वलन्त उदाहरण हो यो ।

त्यसैले मेरो आमाको सिकाइबाट के पत्ता लाग्यो भने, संसारमा ज्ञानबिनाको कुनै मानिस हुँदैन । ज्ञानबिनाको कुनै समाज हुँदैन । ज्ञानबिनाको कुनै देश पनि हुँदैन । ज्ञानको कुनै भूगोल हुँदैन । सबैको लागि आफ्नो ज्ञान महान हुन्छन् र सबैले अरुको ज्ञानलाई कमसल देखिरहेको हुन्छ । आज हामी हाम्रो तामाङ ज्ञान महान् भनिरहेका छौ । त्यो अर्को परिवेश, हावापानी र प्राकृतिक अनुकूलतामा हुर्केको समुदायको लागि महान नहुन पनि सक्छ । दैलेखको जंगलतिर बस्ने राउटेले भनिरहेका छन्– हाम्रो ज्ञान महान छ । किनकि सबै जाति, ब्यक्ति, समाजको अगुवाले आफ्नो ठाउँ र परिवेश सुहाउँदो ज्ञानको विकास गरेका हुन्छन् र त्यसबाट पछिल्ला पुस्ताहरूलाई परिचालित हुन निर्देशन गरेका हुन्छन् । जुन अर्को परिवेशमा हुर्केको समुदायको लागि ग्राह्य नहुन पनि सक्छ ।

सबै जाति, समाजहरू आफ्नो ज्ञान अनुसार परिचालित हुन स्वतन्त्र हुन्थ्यो भने शायद दुनियाँमा कुनैखालको द्वन्द्व र सामाजिक अन्तर्विरोधको समस्या आउने थिएन होला । तर एकले अर्काको ज्ञानमाथि हस्तक्षेप गर्ने, एकले अर्काको ज्ञानलाई अज्ञानता ठान्ने भएको कारण समाज आज विभक्त छ । चिनियाँ राष्ट्रपति सी चिन पिङको केही वर्षअघि कान्तिपुर पत्रिकामा एउटा लेख छापिएको थियो, जहाँ उनले भनेका थिए– संसारमा सबैखाले संस्कृति र विविधतालाई निमिट्यान्न पार्ने हो भने दुनियाँ बस्नको लागि ज्यादै निरस हुनेछ । यो निरस बनाउने काम आदिवासी ज्ञानबाट हुँदैन । किनकि यो ज्ञानको जरामा हस्तक्षेप गर्ने तत्व पाइन्न । सत्ताधारी र आगन्तुक जात समूहमा यो बढी हुने गरेको छ । किनकि उनीहरू अनेकन नयाँ उल्झनसँग जुध्दै आएको हुँदा जित्नु, हार्नुलाई नियमित प्रक्रिया जस्तै सहज ठान्छन् । यसको लागि उनीहरूले धार्मिक सत्ता र सैनिक सत्ताको नेतृत्व गरेका हुन्छन् । संसारकै सत्ताले यो दुई हतियारको बलमा आफूभन्दा भिन्न जाति, समूहको ज्ञानमिमांसालाई ध्वस्त गर्छन् ।

म के देख्छु भने, तामाङ ज्ञानमाथि अहिले दुईखालको आक्रमण छ । एउटा अलौकिकताको आक्रमण छ भने अर्कोतर्फ आधुनिकताको आक्रमण छ । अलौकिकताको नेतृत्व हिन्दू धर्मले गरेको छ भने आधुनिकताको नेतृत्व पश्चिमा औद्योगिक मुलुकले गरेको छ । लिच्छविकालदेखि सुरु भएको अलौकिक दर्शनको नेतृत्व गर्ने हिन्दू दर्शनको आक्रमण मल्लकालमा अझ व्यवस्थित भयो । तर ती कालखण्डमा आक्रमणकारी हिन्दू दर्शनको हावा चैं तामाङ राज्यहरूमा पुगिसकेको भएपनि त्यसले त्यति विघ्न असर गरिसकेको अवस्था थिएन । तर जब वि.सं. १८२५ वरपरदेखि युद्ध सरदार पृथ्वीनारायण शाहको गोर्खे आक्रमणबाट तामाङ राज्य खोसिन थाल्यो । त्यसपछि तामाङ ज्ञानको क्षयीकरण सुरु भएको हो । अहिले तामाङ जीवन दर्शन, तामाङ ज्ञान रक्षात्मक अवस्थामा रहेको छ । यो प्रहारक अवस्थामा छैन भन्नुको मतलब हाम्रो ज्ञान अरु समुदायमा त प्रसारित हुन त सम्भव छैन नै, आफैभित्र पनि त्यसका मूल्य, मान्यता हराउने, लोप हुने क्रममा रहेको म देखिन्छ । मिहीन ढंगले हेर्दा तामाङ ज्ञान जीवन मरणको सङ्घर्षमा छ ।

आदिवासी जनजातिहरूको भिन्न भिन्न ज्ञानहरूमध्ये सबैभन्दा बढी तामाङ ज्ञानमाथि नै बाघे आक्रमण किन भयो त ? यसको पनि दुईवटा कारण देख्छु । पहिलो, हिन्दू राष्ट्रको कमाण्ड गर्ने सिंहदरबार तामाङ ज्ञानको उद्भव भूमि नजिकै छ । जस्तोः गाईको मासु खाएको आरोपमा सबैभन्दा बढी नुवाकोट, काभ्रे, ललितपुर, मकवानपुर, धादिङ, सिन्धुपाल्चोकको तामाङहरू समातिन्छन् । तर पूर्वको धरान, मेरै उदयपुर जिल्लातिर धार्नीको हिसाबले मासु किन्न पाइन्छ । त्यहाँ प्रशासनले अनदेखा गर्छ तर ताम्सालिङ क्षेत्रमा तुरुन्तै समात्छ । किनकि हिन्दू कमाण्डिङ गर्ने राज्य नजिकै उसले त्यसखालको गतिविधि सहन गर्दैन । दोस्रो, आधुनिकताको नाममा सबैभन्दा पहिलोपटक भित्रिने पश्चिमा नाङ्गो ज्ञान, दर्शनको ढोका काठमाडौ सहर हो । उसले आफ्नो ज्ञानलाई पहिलो पटक त्यहीँ नजिकको भूगोलमा परीक्षण गर्दछ । यो परीक्षणको प्रयोगशाला तामाङ समाजलाई नै बनाइन्छ । कतिपटक त जिएमओ बीउ, बिजनहरू जो जेनेटिकल्ली मोडिफाई गरेर लक्ड गरिएका हुन्छन् । जो स्वास्थ्यको लागि ज्यादै हानिकारक बीउहरू हुन् । त्यो ताम्सालिङ क्षेत्रकै भूगोलमा गोप्य ढंगले परीक्षण गरिएको सूचना प्राप्त भएको थियो । यहाँहरूले त्यो सूचना पाउनु भयो कि भएन ?

यसकारण म तामाङ अभियन्ताको आँखाले के देख्छु भने, आधुनिकताको नेतृत्व गने पश्चिमा र अलौकिकताको नेतृत्व गर्ने हिन्दूवाद यी दुई शक्तिशाली आक्रमणकारी ज्ञानहरू र तामाङ ज्ञानबीच अहिले भिषण सङ्घर्ष चलिरहेको छ । यो अफगानिस्तानमा तालिवानले अमेरिकी सेनासँग लडेको लडाइँभन्दा पनि निकै कठोर छ । हाम्रो जत्ति नयाँ पुस्ताहरू आइरहेका छन्, ती पुस्ताको मनोविज्ञानलाई त अंग्रेजी मिडियम नामको शिक्षाले सहजै किनिसकेको छ भने हामी नै पनि ढलपलको स्थितिमा छौ । तामाङ गाउँमा ट्रकका ट्रक रारा चाउचाउको प्याकेट र कोकोकोलाको बोतल भित्रिएका छन् । त्यो तयारी माल हाम्रो उत्पादन प्रणालीलाई ध्वस्त पार्न पसेको हो । एकातिर बच्चाले पढ्ने पुस्तक उनकै अंग्रेजी भाषाको, अर्कोतिर आकर्षक प्याकेजिङको रेडिमेड खानेकुरा पनि उनैले ल्याइदिएपछि हिजो हाम्रो खाना बुजु र भल्डु उत्पादन गर्ने बारी बाँझो पल्टेको छ ।

गाउँका बुढाबुढी, महिला र केटाकेटीहरू आइएमईबाट महिना मरेपछि पैसा झर्ने आशामा बाँचेका छन् । आधुनिक ताम्बाहरू विहेमा बियरको बोतल र जम्बो कोकको बोतललाई पवित्र खादाले बेरेर चारदाम गर्छन् । क्रा थाबा र स्यामा÷हाङ्रे क्वान्वा प्रचलनलाई बर्ड डे र भ्यालेन्टाइन डेले ओझेलमा पारिसक्यो । मिस तामाङको नाममा पुँजीवादको व्यापार फस्टाएको छ । मेसेज गरेर आफ्नो प्रतिष्पर्धीलाई जिताउने नाममा लाखौ रकम लुटिरहेका छन् तर हामी लुटिएका मान्छेलाई लुटेको अनुभूति छैन । हेर्दाहेर्दै समाज यहाँसम्म ओर्लिसक्यो भनेपछि अब हामीसँग तामाङ ज्ञानको सिर्जना धेरै कुरा बाँकी छ जस्तो लाग्दैन ।

त्यसैले २५० वर्षभन्दा लामो समयदेखिको सङ्घर्षमा रैथानेले हार्ने र फिरन्तेले हरेक मोर्चामा जित्ने गर्दै आएको छ । एउटाले टाउकोमा हिर्काउछ, अर्कोले खुट्टाको धर्नासो छिनाउँदैछ । सत्ता र भूमि दुवै गुमाएपछि हामीसँग प्रतिरोधी हतियार पनि छैन । चौतर्फी आक्रमणको बीचमा पनि हाम्रो ताम्बा, बोन्बो र लामा गुरुले बचाएको प्राकृतिक ज्ञान, दर्शनले कसरी थेगिरहेको छ ? कसरी तामाङ ज्ञानलाई बचाएर हाम्रो पुस्तासम्म हस्तान्तरण गर्नुभयो ? आज हामीले तामाङ ज्ञान महोत्सव सञ्चालन गरिरहेका छौ ? मलाई कल्पना गर्नु निकै अप्ठ्यारो महसुस भइरहेको छ ।

त्यसैले अहिले तामाङ ज्ञानको चित्र धमिलो छ । तामाङ जीवन दर्शन कचल्टिएको छ । कुनैबेला तेमाल जात्रामा तामाङ युवायुवतीहरुले तीन दिन तीन रात काभ्रेको नमोबुद्धदेखि महाबौद्ध हुँदै सिंगुन जात्रासम्म फापरे ह्वाई गाएर बिताउनु हुन्थ्यो भन्ने विगत सुन्दा आजको तामाङ युवायुवती जिब्रो काड्छन् । यथार्थ कुरा गर्दा अचम्म मान्नुपर्ने परिस्थिति निर्माण भएको छ । यो भनेको ज्ञान सकिँदै गएको सङ्केत हो । तामाङ मर्दा बौद्ध धर्म परम्परा अनुसार घेवा पनि गर्छन्, उता हिन्दू प्रभावबाट परेला खुर्केर क्रियापुत्री पनि बस्छन् । बिहेमा घरभित्र चारजना बुढापाका बसेर चारदाम पनि गर्छन्, उता बाहिर सयौँ मानिसको अगाडि तामझामका साथ स्वयम्बर र गोडा धुने पनि गरेको देखिन्छ । आफ्नो संस्कृति लुकाउँछन्, अर्काको संस्कृति देखाउँछन् । तामाङ महिलाहरू केही वर्षदेखि तीजमा नाचेको त देखिएकै हो, अहिले छैठ पर्वमा ग्यागर महिलासँग खोलामा गएर सुतेको पनि देखिन थालेको छ । यो भनेको तामाङ ज्ञान धुमिल हुँदै तामाङ जीवन परम्परा सकिँदै गएको सङ्केत हो ।

सवाल अब यो अवस्थामा पुगेको तामाङ ज्ञानलाई कसरी बचाउने ? के पहिलेको जस्तै सग्लो आकारको तामाङ जीवन दर्शन र ज्ञानलाई पुनः उभ्याउन सकिएला ? अहिलेको प्रश्न र प्रयत्न यो हो । सत्य के बुझौ भने, तामाङ ज्ञानको स्रोत कुनै विश्व विद्यालय होइन । कुनै पुस्तकालय होइन । तामाङको दैनन्दिन जीवन अभ्यासको सिर्जना तामाङ ज्ञान हो । मेरो र तपाई प्राज्ञ व्यक्तित्वहरूबीच नमिलेको पक्ष नै यहीँ छ । एक्टिभिस्ट र एकेडेमिकबीच यहाँनेर भेट हुन सकेन । तपाई एकेडेमिक र म एक्टिभिस्टबीचको यही ग्यापले गर्दा नै अहिले तामाङ आन्दोलन रातभरि करायो, दक्षिणा हरायो जस्तो भइरहेको छ । त्यसैले मेरो आग्रह के हो भने, म जस्तो तामाङ गाउँमा बिग्रेको रेडियो जस्तो बजिहिँड्ने स्पीकर (वक्ता) लाई तपाईहरूले ज्ञानको मेमोरी भरिदिनोस् । त्यसले एउटा तागत निर्माण गर्छ र त्यहीँ तागतको बलले मात्रै अलौकिकता र आधुनिकताको आक्रमणको विरुद्ध तामाङ ज्ञानले सशक्त लडाइँ लड्नेछ ।

यसको लागि मेरो बिचारमा हामीले दुईवटा काम गर्नुपर्छ । पहिलो, सत्तामा हस्तक्षेप गर्नुप¥यो । दोस्रो, तामाङ समाजमा धेरै खेप जानु प¥यो । भारतीय भूमिमा सिर्जित हिन्दू ज्ञान दर्शन सत्ता जितेको कारण टिकेको हो । नत्र उसको हालत हाम्रोभन्दा पनि गएगुज्रेको अवस्थामा पुग्ने थियो । किनकि सत्तासँग आदेश हुन्छ, रैतीसँग याचना मात्र हुन्छ । १०० वर्ष पढ्न नदिएको, काम गर्दा तनखा नपाको र दासजस्तै बनाइएको हामी रैतीको याचनाले तामाङ ज्ञान, दर्शनको रक्षा सम्भव छैन । रैतीको व्याख्याले तामाङ ज्ञानको निरन्तरता लामो समय हुन्छ भन्ने कुरामा म विश्वास गर्दिन । माओले भनेका थिए, व्याख्या गर्नु ठूलो कुरा होइन, बदल्नु ठूलो कुरा हो ।

तामाङ समाजका प्रवुद्ध व्यक्तित्वहरूलाई मेरो अनुरोध के हो भने– अब हाम्रो बज्यैले यसो गर्नुहुन्थ्यो, बाजेले उसो गर्नुहुन्थ्यो भनेर व्याख्या गरेर बस्ने होइन कि बदल्ने युग आयो । समय त्यसखालको आयो । कथाले त्यो माग्यो । त्यसैले एक्टिभिस्ट र एकेडेमिकलाई जोडौ । हाम्रो ज्ञानको भण्डारको अथाह स्रोतकेन्द्र रहेको तामाङ गाउँमा जाऔं । एउटा शक्ति निर्माण गरेर हिन्दू अलौकिक सत्तामाथि मौलिक हस्तक्षेप गरौ । यसले मात्रै तामाङ ज्ञानको रक्षा हुन सक्दछ । केही दिनअघि भाषाविद् अमृत योन्जनले फेसबुकमा स्टाटस लेख्नुभएको थियो– यो जाति नौलो चिन्तन र चेततिर कतै देखिएको छैन । नौलो मान्यता र दूर भविष्यप्रति जागरुक भएको देखिदैन । ऊ जहिल्यै र जहाँपनि स्थापित मूल्य र मान्यतामै जकडिने गरेको छ । चाहे धर्म होस् या पार्टी जडौरी चिन्तनले घर गरेको छ । समस्या यहीँ नै हो । योन्जनले भने जस्तै यथास्थितिको जडौरी चिन्तनबाट मुक्त नभएसम्म तामाङ ज्ञानको निरन्तरता सम्भव छैन । थुजेछे, फ्याफुल्ला ।।

(लेखक मोहन गोले तामाङ नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष हुनुहुन्छ ।)

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।